धनगढीः पाँच वर्षको कार्यकाल सकिएका सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूले दसैँ खर्च बुझेका छन्। चाडपर्व खर्च अन्तर्गत सुदूरपश्चिमका सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षीय संसदीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक बराबरको दसैँ खर्च बुझेका हुन्।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार गत असोज १३ गते प्रदेश सभा सदस्यहरु तथा पदाधिकारीहरूको खातामा एक महिनाको तलव बराबरको दसैँ खर्च पठाइएको हो। सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापाले ६४ हजार, उपसभामुख निर्मला बडाल जोशी र विपक्षी दलका नेता प्रकाश शाहले ५९ हजार ५ सय, विषयगत समितिका सभापति हर्क कुँवर, नेपालु चौधरी, कुमारीनन्दा बम, कुन्ती जोशी र सत्ता पक्षीय प्रमुख सचेतक दुर्गा विकले प्रतिव्यक्ति ५७ हजार ५ सयका दरले दसैँ खर्च बुझेका हुन्।
प्रतिनिधि र प्रदेश सभा सदस्यको उम्मेदवारी मनोननयनको प्रक्रियासँगै प्रदेश सभा सदस्यहरुको पदमुक्त हुने संवैधानिक व्यवस्था छ। सोही आधारमा बन्दसूची पेस भएको असोज २ को अघिल्लो दिन १ गते रातिदेखि उनीहरू पदमुक्त भएका छन्।
प्रतिक्रिया