नेपाली भनेर बेचिँदैछ विषाक्त भारतीय माछा

पाँजलो न्युज
२ असोज २०७९ ३:०२
नेपाली भनेर बेचिँदैछ विषाक्त भारतीय माछा

असोज २ काठमाण्डौं । भारतबाट भन्सार छल्दै भित्र्याइएका माछाले बजार कब्जा गरेपछि नेपालमा उत्पादन भएका माछा बिक्री हुन छाडेका छन्।

नेपाल मत्स्य व्यवसायी संघले विभिन्न नाका हुँदै दैनिक ५० टन माछा भारतबाट भित्रिएको दाबी गरेको छ। संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले देशका विभिन्न नाकाहरूमा पुगेर अनुगमन गर्दा दैनिक ५० टन माछा भन्सार छलेर नेपाल भित्रिएको पाइएको बताए।

‘भन्सारसँग भारतबाट नेपाल भित्रिएको माछाको तथ्यांक असाध्यै न्यून छ। तर हाम्रो बजारमा भारतीय माछा छ्याप्छ्याप्ती छन्। यस विषयमा बुझ्न हामी आफैं विभिन्न नाकाहरुमा पुगेका थियौं,’ अधिकारीले भने, ‘मुख्य नाकाहरूबाटै भन्सार छलेर धमाधम नेपाल भित्र्याइरहेको पाइयो।’

भारतबाट भन्सार छलेर ल्याइएको सस्तो दरको माछा पाएपछि व्यापारीहरूले नेपालमा उत्पादित माछा किन्न छाडेको उनले बताए। आयात गर्दा प्रतिकिलो माछाको ५६ रूपैयाँ भन्सार शुल्क बुझाउनुपर्छ।

‘केही महिनादेखि यो शुल्क नबुझाई आयात गरेर सस्तो दरमा माछा बिक्री भइरहेको छ। नेपाली किसानले दिनरात मेहनत गरेर उत्पादन गरेको माछा बिक्री हुनै छाड्यो,’ अधिकारीले भने।

अध्यक्ष अधिकारीका अनुसार नेपालमा अहिले माछाको माग दैनिक ६० देखि ७० टन छ। नेपालमा माछाको उत्पादन पनि यही हाराहारीमा छ। देश माछामा आत्मनिर्भर भइसक्दा पनि भारतीय माछाले बजार कब्जा गर्नु दुखद भएको अधिकारीले बताए।

माछा व्यवसायीसमेत रहेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले करिब १० प्रतिशत माछामात्रै भन्सारमा शुल्क बुझाएर भित्रिएको पाइएको बताए।

‘हामीलाई भारतबाट माछा आएकोमा आपत्ति होइन। औपचारिक माध्यमबाट आओस् भन्ने चाहेका हौं,’ श्रेष्ठले भने, ‘भन्सार छलेर माछा ल्याइँदा देशले दैनिक लाखौं रूपैयाँ घाटा बेहोरिरहेको छ। स्थानीय मत्स्यपालक किसानहरू माछा बिक्री नभएर हैरान भएका छन्।’

नेपाल मत्स्य व्यवसायी संघका अनुसार भारतबाट भन्सार छलेर ठूलो परिमाणमा माछा भित्रिन थालेको केही महिना भयो। करिब ६ महिना अघिसम्म भारतीय माछा नेपाली भन्दा ३० रूपैयाँ महँगो थियो।

‘त्यतिखेर भारतीय माछाहरू भन्सारमा कर तिरेर भित्रिन्थे। हामीलाई उताबाट आएको भन्दा ३० रूपैयाँ कममा बेच्दा पनि फाइदा हुन्थ्यो,’ अध्यक्ष अधिकारीले भने, ‘भन्सारमा शुल्क तिर्नै नपरेपछि उनीहरूले निकै सस्तोमा माछा बेचिरहेका छन्। हामीले धेरै घटेर दिन खोज्दा पनि बिक्री नहुने अवस्था आएको छ।’

नेपालका व्यापारीहरूले भारतीय माछालाई नेपाली भनेर बिक्री गरिरहेको उनले बताए। काठमाडौंसहित देशका प्रमुख बजारमा भारतीय माछा अत्यधिक मात्रामा बिक्री भइरहेको दाबी उनले गरे।

‘ट्रकमा भारतीय माछालाई नेपाली माछाले छोपेर नेपाली बिल देखाई विभिन्न ठाउँमा पुर्‍याउने गरिएको पनि भेटियो,’ अधिकारीले भने, ‘फर्मालिन नामको विषादी राखेर लामो समयसम्म नगन्हाउने बनाइएका माछालाई नेपाली भनेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिँदैछ।’

संघका अनुसार नेपाली माछाहरूमा विषादीको प्रयोग नगरिने भएकाले केही दिनमा गन्हाउन थाल्छ। तर भारतबाट भित्रिएका माछामा फर्मालिन राखेर लामो समयसम्म नबिग्रिने बनाइन्छ। फर्मालिनको मात्रा बढी हुँदा क्यान्सर रोगको जोखिम हुन्छ।

भारतबाट भित्रिएका मध्ये धेरै माछा काठमाडौंमा बिक्री हुने गरेको छ। नेपालमा बागमती प्रदेशमा मात्रै दैनिक ३५ टन माछा खपत हुने गरेको तथ्यांक छ। अहिले यसको ६० प्रतिशत भारतीय माछा खपत भइरहेको छ।

चितवनमा वर्षमा ६ हजार ५०० टन माछा उत्पादन हुन्छ। यसको करिब ६५ प्रतिशत जिल्लाभित्रै खपत हुन्छ। बाँकी काठमाडौं, पोखरा लगायतका बजारमा बिक्री हुने गरेको संघका जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले बताए।

‘हामीले जिल्लालाई माछामा आत्मनिर्भर घोषणा पनि गरिसकेका छौं। तर भारतीय माछाको आयात बढिरहँदा हाम्रो उत्पादनले बजार पाउन सकेको छैन। पोहोर बिक्री नै नभएपछि धेरै माछा मरेर गए। यसपालि पनि त्यस्तै अवस्था आउला जस्तो छ,’ सुवेदीले भने, ‘यही अवस्था कायम रहने हो भने त नेपालमा व्यवसायिक रूपमा माछा पाल्न छाडिदिए पनि हुने भयो।’

गत वर्ष घाटामा जाँदाजाँदै पनि यसपालि अवस्था सुध्रने आशामा लगानी थप गरेका माछा उत्पादक किसान डुब्ने अवस्थामा पुगेको उनले बताए।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले देशलाई आवश्यक पर्ने माछा, केरा, पोल्ट्री, मह देशमै उत्पादन गर्न थालेका किसानले बजार नपाउनु ठूलो समस्या रहेको बताए। देशकै उत्पादनले पुगेको अवस्थामा आयात रोकेर स्वदेशी उत्पादनका लागि बजार तयार गरिदिनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए।

‘यहीँको उत्पादनले पुग्ने अवस्थामा आयात बन्द गर्नुपर्नेमा भन्सार छलेर विषाक्त बस्तु आयात भइराख्दा पनि सरकार मौन बस्नु दुखद विषय हो,’ श्रेष्ठले भने, ‘तत्काल आयात बन्द गरेर नेपाली उत्पादनका लागि बजार तयार गरिदिनुपर्छ।’

उत्पादन बढाउन अनुदान दिने तर भारतबाट आएको माछाले बजार ओगट्दा बेवास्ता गर्नु कमजोरी भएको उनले बताए।

माछा उत्पादकले भारतीय माछाको आयात नरोकिए सीमानाकामा गएर धर्ना दिने चेतावनी पनि दिएका छन्।

‘बागमती प्रदेश सरकार हाम्रो समस्याको समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। देशका विभिन्न क्वारेन्टाइन, चेकपोष्टहरूमा संघका प्रतिनिधिसमेत रहनेगरी कडाइका साथ अनुगमन गर्ने भनेको छ,’ मत्स्य व्यवसायी लालबहादुर तामाङले भने, ‘गैरकानुनी रूपमा माछा भित्र्याउनेलाई कडा कारबाही गरेर स्वदेशी माछाको बजार बनाउन सहयोग गर्न हामीले पटकपटक आग्रह गरेका छौं।’

अवैध माछा भित्र्याउनेलाई नियन्त्रणमा लिन आफूहरू शनिबारबाटै लागिपरेको उनले बताए।

कसरी चिन्ने भारतीय माछा?

नेपाल मत्स्य व्यवसायी संघका महासचिव जोतेन्द्र महतोले व्यापारीहरूले भारतबाट ल्याइएका माछालाई नेपाली भनेर बिक्री गरिरहेको भए पनि नेपाली र भारतीय माछा पहिचान गर्न सकिने बताए।

उनका अनुसार नेपालमा प्रायः भारतको आन्ध्र प्रदेशबाट माछा आउँछ। ती माछा उस्तै आकारका देखिनेगरी ग्रेडिङ गरिएका हुन्छन्। नेपाली माछा भने ग्रेडिङ गरेर बेच्ने चलन छैन। त्यसैले नेपालका माछा एकै ठाउँमा विभिन्न आकारका हुन्छन्।

भारतबाट ल्याइएका माछा लामो समयदेखि रहेको र विषादीको प्रयोग गरिएका कारण आँखा गढेका हुन्छन्। नेपाली माछा केही समय पहिलेका मात्र हुने भएकाले आँखा चम्किला देखिन्छन्।

‘नेपाली माछा प्रायः जिउँदो नै देखाएर बिक्री गर्ने चलन छ। भारतबाट जीवित माछा ल्याएर बिक्री गर्न सम्भव छैन,’ महतो भन्छन्।

मत्स्य व्यवसायी संघ चितवनका उपाध्यक्ष लुलाराज तामाङले पसलमै सानो पोखरी बनाएर राखिएको जिउँदो माछा देखाएर उपभोक्तालाई बिक्री गर्ने चलन बढ्दै गएको बताए।

‘स्थानीय माछा उपभोक्ता आफैंले पोखरीबाट रोजेर किन्न पाउँछन्। भारतीय माछा कति समय पुरानो हो थाहै हुँदैन,’ उनले भने।

साभार सेतोपाटीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *