नेपाल–भारतको सम्बन्ध पुरानो पुस्ता जस्तो रहेन : पूर्वराजदूत बराल

पाँजलो न्युज
२४ चैत २०८१ ११:०९
नेपाल–भारतको सम्बन्ध पुरानो पुस्ता जस्तो रहेन : पूर्वराजदूत बराल

काठमाडौँ-  भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बरालले भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरलाई पहिलोपटक न्युरोडको पत्रिका पसलमा भेटेको बताएका छन् । पत्रिका पसलमा पत्रिका पढ्दै गरेको अवस्थामा फेला परेको मान्छेसँग चिनजान भएको बताउँदै उनले चन्द्रशेखरको नाम आउने बित्तिकै सङ्घर्षशील र इमानदार नेताको रूपमा सम्झना आउने गरेको बताए ।

सोमबार गणेशमान सिंह फाउण्डेशनले आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालका धेरै नेतालाई चन्द्रशेखरले कन्भिन्स गरेको बताए ।

गणेशमान सिंहलाई लौह पुरुष भने पनि उनी निकै नरम व्यक्ति रहेको चर्चा गर्दै उनले पार्टीका नेता तथा अन्य व्यक्तिलाई पनि निकै माया गर्ने गरेको बताए । गणेशमान सिंह कुनै कुरामा निकै प्रतिबद्ध रहेको बताउँदै उनले भारत र नेपालका नेताहरूको बिचमा पहिला जुन सम्बन्ध थियो त्यो सम्बन्ध अहिले नरहेको बताए ।

भारतसँग रहेको सम्बन्धलाई नेपालले बिर्सेको बताउँदै उनले नेपाल र भारत बिचको सम्बन्ध बहुअयामिक रहेको बताए । तर नेपालले त्यसलाई एकनासले अगाडि बढाउन नसकेको उनले गुनासो गरे ।  पहिले दुवै देशका नेताहरूको बिचमा गहिरो सम्बन्ध रहेको बताउँदै उनले त्यसबेला एक अर्कालाई सहयोग गर्ने भावना रहेको समेत बताए ।

भारतीय बहुजन समाजवादी पार्टीका नेता सुधीन्द्र भदौरियाले नेपालको सगरमाथा माथि भारतले पनि गर्व गरेको बताए । नेपालको सगरमाथाले भारतलाई सुरक्षा प्रदान गर्नुको साथै अन्य कुराबाट पनि बचाउने गरेको बताउँदै नेपाल बुद्ध र पशुपतिको भूमि रहेको र यसमा भारतले पनि गर्व गर्ने गरेको बताए ।

उनले गणेशमान सिंहको घरमा आफू पनि पटक पटक आएको र त्यो घर आफ्नै घर जस्तै लागेको बताउँदै नेपालको आन्दोलनमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराईको महत्त्वपूर्ण भूमिका रहेको बताए । नेपालको लोकतान्त्रिक आन्दोलनमा  भारतीय नेता जयप्रकाश नारायण र राममनोहर लोहियाको पनि महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

चन्द्रशेखरले नेपालमा सबैभन्दा बढी आदरभाव गर्ने नेता गणेशमान सिंह रहेको कुरा आफूसँग भनेको भन्दै नेता भदौरियाले गणेशमान नेपालको महत्मा गान्धी भएको समेत बताए ।

‘नेपाल सार्वभौमसत्ता सम्पन्न देश हो, नेपालले के निर्णय गर्छ, यहाँको जनताले के निर्णय गर्छ । त्यसमा हाम्रो समर्थन रहन्छ’ उनले भने ।   उनले नेपालको लोकतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै नेपालको संविधान समावेशी रहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *