रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने आज जेल चलान हुँदै

पाँजलो न्युज
२४ चैत २०८१ ३:२२
रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने आज जेल चलान हुँदै

शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा लगेपछि उनलाई  जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।  रुपन्देहीका एसपी रंजितसिंह राठौरले आज जिल्ला अदालतमा पेश गरेपछि कारागार पठाइने जानकारी दिए। शनिबार र आइतबार बिदा परेकाले उनलाई आज अदालतमा पेश गर्न लागिएको हो।

सरकारले पछिल्लो समयमा सहकारीको रकम अपचलनको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने र कारबाहीको प्रक्रियालाई तीब्ररुपमा अगाडि बढाएको छ।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरण सभापति लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । सहकारीको रकम अपचलन गरेको कसुरमा कुल ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।  ती ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार १ सय ३५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

त्यसपछि माघ १३ गते जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सकिएपछि गोर्खा मिडियाका तत्कालीन पूर्वप्रबन्ध निर्देशक रहेका लामिछानेलाई न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभएर थुनामा राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय फागुन २२ गते उच्च अदालतमा पुगेको थियो । फागुन २६ गते लामिछाने पनि जिल्ला अदालतको एक करोड धरौटीको आदेशको खारेजीको माग गर्दै उच्चमा निवेदन दिएका थिए ।

‘तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्नेमा जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि जिल्लाको आदेश बदर गरी प्रतिवादीलाई थुनामा राख्न मागका साथ हामीले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थियौं’, जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तत्काल प्राप्त प्रमाणको आधारमा मुद्दाका प्रतिवादी (रवि लामिछाने) कसुरदार रहेको देखिने आदेशमा उल्लेख छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *