डोटी- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा माघ १ गते देखि प्रधानमन्त्री कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू भएको छ ।
कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ क्लबले सहज जित निकालेका छन् । मंगलबार देखि धनगढीमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशविरुद्ध सात विकेटको सहज जित निकालेको हो ।
बाक्लो हुस्सुका कारण पूर्व निर्धारित समयमा टस हुन नसक्दा २० ओभर बाट ५ ओभर घटाएर खेलाइएको खेलमा गण्डकी प्रदेशले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्याे । सुदूरपश्चिमको जितमा ओपनर रेवती धामीले अविजित २१ रन बनाइन् । यस्तै, मनीषा बोहराले नौ, कविता कुँवरले आठ र कप्तान विन्दु रावलले ६ रन जोडे । सोभा रोकाया चार रनमा अविजित रहिन् ।
हिजो नै भएको दोस्रो खेलमा एपीएफले कर्णाली प्रदेशविरुद्ध १११ रनको फराकिलो जित निकालेको छ । फाप्ला क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७१ रन मात्र बनाउन सक्यो ।
कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक २१ रन बनाइन् । यस्तै, रमा बुढाथोकी र गौरी बुढाथोकीले समान १० रन थपे । यस बाहेक, कर्णालीका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । एपीएफकी करुणा भण्डारीले तीन विकेट लिइन् । रेखा रावल र बिनु बुढाले समान एक विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको एपीएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १८२ रनको योगफल खडा गरेको थियो ।
एपीएफका दुई ब्याटरले अर्धशतक बनाए । ओपनर मम्ता चौधरीले सर्वाधिक ७८ रन बनाइन् । उनले ६६ बलमा १० चौका प्रहार गरिन् । यस्तै, कप्तान ईन्दु वर्माले ३४ बलमा सात चौकासहित ५२ रन बनाइन् ।अर्की ओपनर राजमती ऐरीले २४ बलमा तीन चौकासहित २२ रन थपिन् ।
जारी प्रतियोगिताको आज दोस्रो दिन पनि दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा गण्डकी प्रदेश र एपीएफ क्लब खेलिरहेका छन् । ओभर छोट्याइएको खेलमा गण्डकीले एपीएफलाई ७१ रनको लक्ष्य दिएको छ ।
खराब मौसमका कारण ढिला गरी सुरू भएको खेल १५ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा ५ विकेट गुमाएर ७० रन बनायो ।
गण्डकीका लागि ओपनर सृजना पौडेलले सर्वाधिक २५ तथा रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन बनाइन् । एपीएफकी बिनु बुढाले २ तथा करुणा भण्डारीले १ विकेट लिए ।
पहिलो खेलमा गण्डकी सुदूरपश्चिम सँग पराजित भएको थियो भने एपीएफले कर्णाली प्रदेशलाई हराएको थियो ।
त्यसैगरी दोस्रो खेल दिउँसो १ बजे लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको बीचमा हुनेछ ।
हिजो मंगलबार देखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टिम गरी नौ टोलीको सहभागिता छ ।प्रतियोगिता माघ १२ गतेसम्म हुनेछ । प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय टोली गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस पटक त्रिभुवन आर्मीको महिला टिमले पनि खेल्दैछ ।
सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, एपीएफ र सुदूरपश्चिम प्रदेश समूह ए मा छ भने कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब समूह बी मा छन् ।
दुवै समूहको शीर्ष दुई टोली सुपर फोर राउण्डमा प्रवेश गर्नेछन् । जहाँ समूह ए को शीर्ष दुई टोलीले समूह बी का शीर्ष दुई टोलीसँग खेल्नेछन् ।
सुपर फोरमा एकै समूहको टोलीबीच भने खेल हुने छैन । सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।
प्रतिक्रिया