(डोटी)– दिल्पेश्वर खेल मैदान दिपायलमा सम्पन्न दोश्रो संस्करणको दिल्पेश्वर क्रिकेट लिग “डि.सि.एल. २” को उपाधी धनगढीको कोविडा इन्टरनेशनल एकेडेमीले जितेको छ ।
विहीबार सम्पन्न फाइनल खेलमा आयोजक दिल्पेश्वर स्पोर्ट्स क्लव ‘ए’ लाई ६ विकेटले हराउँदै कोविडाले ट्रफी सहित “एक लाख एक हजार एक सय एघार रुपैयाँ” हात पारेको छ । फाइनल खेलमा टस जितेर सुरुमै व्याटिङ रोजेको आयोजक दिल्पेश्वर स्पोर्टस क्लब ‘ए’ले कोविडालाइ ६ विकेट गुमाउँदै १ सय २७ रनको लक्ष्य दिएको थियो।
पहिलो इनिङ्गको खेलमा दिल्पेश्वर स्पोर्ट्स क्लव ‘ए’ का लागि अनुभवी ब्याट्सम्यान नबिन मेधासीले ४१ रन र अर्का ब्याट्सम्यान सुनिल शाहले ४० रनको महत्वपूर्ण पारी खेलका थिए। जवाफीमा कोविडा इन्टरनेशनलले ४ विकेट मात्र गुमाएर सहजै लक्ष्य पुरा गरेको थियो ।
दोस्रो स्थानमा चित्त बुझाउँदै आयोजक दिल्पेश्वरले एकाउन्न हजार एक सय एघार रुपैयाँ पाएको थियो । अविजित ६९ रनको उत्कृष्ट पारी खेल्दै फाइनल खेलमा कोविडाका टेक रावत म्यान अफ दि म्याच घोषित भएका छन् भने आदर्श गाउँपालिकाका खेलाडी सन्दिप खत्री “म्यान अफ दि सिरिज” र “वेष्ट बलर” तथा आदर्श गाउँपालिकाकै अर्का खेलाडी दिपक टमटा “वेष्ट ब्याट्सम्यान”का रुपमा पुरस्कृत भएका छन् ।
असोज १७ गतेबाट सुरु दिल्पेश्वर क्रिकेट लिग–२ मा २८ टिम सहभागि रहेका थिए । नकआउट र लिग चरणलाइ १२/१२ ओवरको खेलाइएकोमा सेमिफाइनल र फाइनल खेल भने १५/१५ ओवरको खेलाइएको थियो ।
दिल्पेश्वर स्पोर्टस क्लवका अध्यक्ष रोहित माझीले क्रिकेट खेलाडीहरूका लागि डोटी उर्वर भूमी भएपनि अवसरको अभावमा दुर्गम गाउँमा सिमित रहनु पर्ने अवस्थालाई बदल्न गतबर्षवाट प्रतियोगीता आयोजना गरिरहेको बताए ।
सो प्रतियोगीताका व्यवस्थापक मनोहर माझीले सिमित स्रोतसाधनबाट प्रतियोगीता आयोजना गर्नुपर्दा केही अप्ठ्यारा भएपनि शुभचिन्तक हरुको सहयोगबाट हौसला बढ्दै गएको बताए । उनी आगामी दिनमा प्रतियोगितालाई अझ सशक्त बनाएर लैजाने प्रतिबद्धता समेत गरे ।
समापन कार्यक्रममा सु.प. प्रदेश प्रहरी तालिम केन्द्रको छलिया नृत्य, दिपायल एकेडेमीका बिद्यार्थीको सामुहिक नृत्य संगै विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत भएका थिए। यसै बिच स्थानीय भाषा सँस्कृतिको उत्थानका लागि खेलाडी, कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि एवम् खेल अफिसियल टिम द्वारा सामुहिक देउडा नाच प्रस्तुत गरिएको थियो।
समापन कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। साथै प्रमुख अतिथि खड्काद्वारा पुरस्कार वितरण गरिएको थियो।
समारोहका प्रमुख अतिथी खड्काले दिल्पेश्वर स्पोर्ट्स क्लबले खेलकुद क्षेत्रमा पु¥याएको योगदानलाई स्मरण गर्दै नगरपालिका आवश्यक सहयोगका लागि तयार रहेको प्रतिबद्धता गरेका छन् । साथै आयोजक द्वारा गत संस्करणको “दिल्पेश्वर भलिबल लिग” सफलता पछि यो वर्षको माघ महिनामा दोस्रो संस्करणको खुल्ला भलिबल प्रतियोगिता डिभिएल २ आयोजना गर्ने घोषणा गरिएको थियो।
प्रतिक्रिया