दिपायल सिलगढी नगरपालिकाले ‘नाइट ल्याण्डिङ हेलि लाइट’ खरिद गर्ने

पाँजलो न्युज
१६ असोज २०८१ १५:३३
दिपायल सिलगढी नगरपालिकाले ‘नाइट ल्याण्डिङ हेलि लाइट’ खरिद गर्ने

डोटी — दिपायल सिलगढी नगरपालिकाले आपतकालीन अवस्थामा रातिको समयमा हेलिकप्टर अवतरण गर्न आवश्यक पर्ने ‘नाइट ल्याण्डिङ हेलि लाइट’ खरिद गर्ने भएको छ।

दिपायल सिलगढी नगरपालिकाको विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। दैवी प्रकोप वा अन्य आपतकालीन अवस्थामा ‘नाइट ल्याण्डिङ हेलि लाइट’ नहुँदा डोटीमा हेलिकप्टर अवतरण गर्न असहज हुने भएकाले पूर्वतयारीका लागि सो खरिद गर्ने निर्णय गरिएको नगर प्रमुख बाजी सिं खड्काले जानकारी दिए।

“कतिबेला के परिस्थिति र विपद् आउँछ भन्ने थाहा हुँदैन,” नगर प्रमुख खड्काले भने, “नाइट ल्याण्डिङ हेलि लाइट भएपछि हेलिकप्टर अवतरण गर्न सहज हुनेछ, उद्धारमा सहजीकरण होस् भनेर पूर्वतयारीका लागि खरिद गरिने भएको हो।”

सो लाइट कुन स्थानमा जडान गर्न उपयुक्त हुन्छ भन्नेबारे सुरक्षा निकायको सहयोगमा अध्ययन गरिने खड्काले बताए।

नाइट ल्याण्डिङ हेलि लाइट भनेको विशेष प्रकारको उज्यालोको प्रणाली हो, जसले हेलिकप्टरहरूलाई राति अवतरण गर्दा सहयोग पुर्‍याउँछ। यसले पाइलटलाई अवतरण क्षेत्र स्पष्ट रूपमा देखाउनका साथै कुहिरो, धूलो वा अन्य अवरोधहरू भएको अवस्थामा सुरक्षित अवतरण गर्न सहयोग पुर्‍याउँछ।

नगर प्रमुख खड्काको अध्यक्षतामा बसेको बैठकले रूख काट्न प्रयोग हुने २ थान इलेक्ट्रिक चेन र पेट्रोल चेन समेत खरिद गर्ने निर्णय गरेको छ। अकस्मात सडक अवरुद्ध तथा अन्य अप्रिय घटना भएमा यथाशीघ्र रूखहरू हटाउन चेनले सहयोग पुग्ने भएकाले खरिद गर्न लागिएको समितिले जनाएको छ।

त्यसबाहेक मंगलबार बसेको बैठकले साउनदेखि असोज १५ गतेसम्म बाढी पहिरोबाट घरमा क्षति पुगेका नगरका विभिन्न वडाका ५८ परिवारलाई राहत दिने निर्णय गरेको छ। नगरपालिकाको कार्यविधि अनुसार ७ देखि बढीमा १५ हजार रुपैयाँसम्म राहत दिने व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकारले जानकारी दिए। साउनदेखि असोज १५ सम्म ५८ घरमा क्षति पुगेको प्रहरी मुचुल्कासहित आवेदनहरू नगरपालिकामा आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *