धनगढी सभागृह प्रयोगविहीन

पाँजलो समाचार
१६ असोज २०८१ ६:०४
धनगढी सभागृह प्रयोगविहीन

धनगढी- दुई वर्षअगाडि निर्माण सम्पन्न भएको धनगढी सभागृह अझै प्रयोगमा आउन सकेको छैन । धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँमा निर्माण गरिएको आधुनिक सभागृह निर्माण कम्पनीले स्वामित्व हस्तान्तरण नगर्दा प्रयोगमा आउन नसकेको हो । सङ्घीय सरकारको ३२ करोड ६० लाख ८१ हजार रुपियाँ लगानीमा ठुला सम्मेलन, सेमिनार, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सभा हल बनाइएको हो । सभागृह प्रयोगमा नआएपछि सरकारी निकायले यस्ता कार्यक्रम मोटो रकम खर्चेर पार्टी प्यालेस र निजी होटेलमा आयोजना गर्दै आएका छन् । यसै गरी सभागृह प्रयोगविहीन हुँदा कतिपय संरचना टुटफुट भइरहेका छन् । सभा हलको सिसा फुट्न थालेको छ भने पर्खाल पनि यत्रतत्र भत्किँदै छ ।

सभागृह निर्माणको समयसीमा सकिए पनि ‘साउन्ड सिस्टम’ जडान नभएका कारण धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण हुन नसकेको वडाध्यक्ष जुगराम चौधरीले बताए । उनले साउन्ड सिस्टममै एक करोड रुपियाँ खर्च हुने जनाउँदै अझै तीनरचार करोडको काम निर्माण कम्पनीले पूरा गर्न बाँकी रहेको उल्लेख गरे ।

“एकचोटि निर्माण कम्पनीले हस्तान्तरण गर्ने भनेको थियो तर साउन्ड सिस्टम जडानको काम बाँकी रहेकाले हस्तान्तरण भएन,” वडाध्यक्ष चौधरीले भने, “अहिलेसम्म साउन्ड सिस्टम बनेको छैन । निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई सभागृह हस्तान्तरण पनि गर्न सकेको छैन ।” सभागृहमा सात सय क्षमताको मुख्य सभा हल, दुई सय क्षमताको कार्यक्रम हल र एक सय सवारीसाधन पार्किङ गर्न सकिने पार्किङ स्थल रहेको छ । बिकेओआई एमके जेभीले ठेक्का पाएर २०७५ सालबाट धनगढी सभागृह निर्माण सुरु गरेको थियो । २०७९ असारमा निर्माण पूरा भए पनि अझैसम्म हस्तान्तरण भएको छैन ।

धनगढी उपमहानगरपालिकाले दिएको करिब एक बिघा जग्गामा बनेको सो सभा हललाई धनगढी उपमहानगरपालिकाले नै सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *