मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् ।
हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र मूल्यवान छन् भन्ने कुरा प्रमाणित गरेको छ ।
आइन्स्टाइनद्वारा हस्ताक्षरित एउटा चिठी ३९ लाख डलर अर्थात् ५२ करोड रुपैयाँमा लिलाम भएको छ ।
सो चिठी आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्रान्कलिन डी रुजबेल्टलाई लेखेका थिए । उक्त पत्रमा आइन्स्टाइनले परमाणु हतियारको सम्भावनाका विषयमा चेतावनी दिएका थिए ।
साथै उनले आफ्नो पत्रमा परमाणु हतियारको विध्वंसका सम्बन्धमा अध्ययन गर्नका लागि समेत अमेरिकी राष्ट्रपतिलाई सुझाएका थिए । सो पत्रले दोश्रो विश्वयुद्धका बेला परमाणु बम निर्माणको लागि बाटो खोलेको थियो ।
सोसल मिडियामा समेत निकै चर्चा भएको अल्बर्ट आइन्स्टानको उक्त पत्रमा उनले एउटा भविष्यवाणी गरेका थिए । उनको सो भविष्यवाणी परमाणुु हतियारका विषयमा थियो ।
परमाणु हतियार भविष्यमा विश्वका लागि निकै खतरनाक सावित हुनसक्ने आँकलन आइन्स्टाइनले उक्त पत्रमा गरेका थिए ।
इतिहास बदल्ने चेतावनी
उक्त पत्र न्युयोर्कस्थित फ्रांकलिन डी रुजवेल्ट पुस्तकालयमा रहेको संग्रहको हिस्सा हो । जसमा आइन्स्टाइनले जर्मनीद्वारा परमाणु हतियार निर्माण गर्नसक्ने सम्भावना रहेको उल्लेख गरेका थिए । उनले परमाणु विज्ञानमा तत्कालीन अवस्थामा भएको प्रगतिका विषयमा चर्चा गर्दै युरेनियमलाई नयाँ तथा महत्वपूर्ण उर्जा श्रोतमा बदल्न सकिने बताएका थिए । सोही ऊर्जालाई प्रयोग गरेर निकै शक्तिशाली बम बनाउन सकिने उनको ठहर थियो ।
उक्त पत्रले अमेरिकी सरकारलाई परमाणु विखण्डन विज्ञानमा आफ्नो अनुसन्धानलाई तीव्रता दिन सहमत बनायो, जसको परिणाम स्वरुप म्यानहटन परियोजना सुरु भयो । सोही परियोजनाबाट विश्वले पहिलो परमाणु बम प्राप्त गरेको थियो ।
बिजनेस इनसाइडरका अनुसार लिलामीमा बिक्री भएको आइन्स्टाइनको उक्त पत्र आइन्स्टाइनको एकमात्र हस्तलिखित पत्रको प्रति हो ।
माइक्रोसफ्टका सह सस्थापक पल एलनले सो पत्र संग्रह गरेका थिए । उनले सन् २००२ मा २१ लाख डलरमा उक्त पत्र खरिद गरेका थिए । त्यसअघि उक्त पत्र प्रकाशक म्याल्कम फोर्ब्ससँग थियो, जसले भौतिक वैज्ञानिक लियो स्जिलार्डको सम्पत्ति खरिद गरेका थिए ।
स्मरण रहोस् अल्बर्ट आइन्स्टाइनले अमेरिकी परमाणु कार्यक्रमलाई अघि बढाउनमा महत्पूर्ण भूमिका निर्वाह गरेका थिए । तर, कालान्तरमा भने आइन्स्टाइनले सो कदम आफ्नो सबैभन्दा ठूलो भूल भएको बताएका थिए ।
प्रतिक्रिया