दिपायलमा स्वास्थ्य शिविर

स्वास्थ्य शिविरमा एक हजार तीन सय ५५ जनाले सेवा पाए, ३ जना रेफर

पाँजलो न्युज
१४ वैशाख २०८१ १:४४
स्वास्थ्य शिविरमा एक हजार तीन सय ५५ जनाले सेवा पाए, ३ जना रेफर
दिपायलमा संचालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा उपचार गर्दै महिला । पाँजलो अनलाइन

डोटी– दिपायलमा संचालीत निशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय ५५ ले सेवा पाएका छन् ।

दिपायल सिलगढी नगरपालिकाको आयोजना एवम् काठमाणडाैं मेडिकल कलेजको प्राविधीक सहयोगमा बिहीबारदेखि संचालीत निःशुल्क स्वास्थ्य शिविरमा सेवा पाएका हुन् ।

विभिन्न विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य परिक्षण गरिएको सो शिविरमा तीन सय ५० जना पुरुष तथा एक हजार ५ जना महिलाले सेवा पाएका थिए ।

दिपायलमा संचालीत स्वास्थ्य शिविरमा उपचारका लागि अाएका विरामीहरू । तस्वीर – पाँजलो अनलाइन ।

जसमध्य तीन जना रेफर भएका छन् । एक जना न्यूरो सम्बन्धी र दुइ जना मुटुसम्बन्धी विरामीहरुलाई थप उपचारका लागि रेफर गरिएको दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजी सिं खड्काले बताए । यति ठुलो संख्यामा नेपालकै विज्ञ चिकित्सकहरुको टोली डोटीमा उपचारका लागि ल्याउन सम्भव नहुने भएपनि काठमाण्डौं मेडिकल कलेजको सहयोगले सम्भव भएको भन्दै नगरप्रमुख खड्काले खुसी व्यक्त गरे ।

नगर प्रमुख खड्काले रेफर भएका बिरामीहरुको खाना र औषधीबाहेकको सबै उपचार काठमाण्डौं मेडिकल कलेजले बेहोर्ने जानकारी दिए । बिहीबार काठमाण्डौं मेडिकल कलेजका संचालक एवम् प्रतिनिधी सभा सदस्य डा. सुनिल शर्माले शिविरको उद्घाटन गरेका थिए । उद्घाटन गर्दै डा. शर्माले शिविरका क्रममा थप उपचारका लागि जतिसुकै महँगो उपचार पर्ने भएपनि निशुल्क गरिने प्रतिवद्धता गरेका थिए ।

दिपायलमा संचालीत स्वास्थ्य शिविरको उदघाटन शत्रमा काठमाडाैं मेडिकल कलेज संचालक एवम प्रतिनीधि सभा सदस्य डा. सुनिल शर्मा, दिपायल सिलगढी नगरपालिका प्रमुख बाजी सिंह खड्का लगायत सहभागिहरू । तस्वीर – पाँजलो अनलाइन ।

उक्त निःशुल्क स्वास्थ्य शिविरमा सहभागी सर्वसाधारण जनतालाई शिविर मै उपचार हुन सक्ने अवस्थामा त्यहीँ उपचार प्रदान गरिनेछ । शिविरमा उपचार हुन नसक्ने र सुविधासम्पन्न अस्पतालमा मात्र उपचार सम्भव हुने जस्तै मृगौला प्रत्यारोपण, मुटु, हाडजोर्नी, नशासम्बन्धी, प्रसूति तथा स्त्रीरोग जस्ता रोगका गम्भीर अवस्थाका बिरामीहरूलाई काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, सिनामंगल काठमाडौंमा सामान्य देखि जटिल प्रकारका शल्यक्रिया लगायतका उपचार सेवा निःशुल्क रुपमा उपलब्ध गरिने डा. शर्माले बताएका थिए ।

काठमाडौँ मेडिकल कलेजले सुदूरपश्चिम र कर्णाली प्रदेशका जनताको स्वास्थ्य सेवाको पहुँचलाई अझ सरलीकृत गर्ने उद्देश्यका साथ कमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्यको पहुँचबाट वञ्चित जनतालाई सेवा पुर्याउने हेतुले स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।
वैशाख १३ गते डोटी जिल्लाको दिपायलमा, वैशाख १५ गते बाजुराको पिलुचौरमा, वैशाख १७ गते हुम्लाको सर्केघाटमा, वैशाख १९ गते मुगुको गमगढीमा र वैशाख २१ गते कालिकोट र जुम्लालाई पायक पर्ने गरी कालिकोटको नाग्ममा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *