आदर्शमा खानेपानीको बजेट परेपछि स्थानीयमा खुसीयाली

मोहन शाही
२६ फागुन २०८० ४:४६
आदर्शमा खानेपानीको बजेट परेपछि स्थानीयमा खुसीयाली

(डोटी)– बर्षौदेखि खानेपानीको अभाव झेलिरहेका आदर्श गाउँपालिकाबासी अब भने शुुद्व पिउने पानी पाउने खबर पाएपछि खुसी भएका छन् । पानी अभावले घण्टौं हिँडेर खानेपानी ओसार्नुपर्ने बाध्यता र तिब्र बसाइसराइको चपेटामा फस्दै गएका आदर्श गाउँपालिकाबासी संघिय सरकारबाट बृहत खानेपानी आयोजना कार्यान्वयन हुने खबर सुनेपछि खुसी बनेका हुन् ।

गाउँपालिकाको तथ्यांकअनुसार ५ हजार २३८ घरधुरीमध्ये ४ हजार २९४ घरधुरीमा मात्र खानेपानीका धारा छन् । तर, त्यसमध्ये ५० प्रतिशत खानेपानीका धारामा पानी आउन छाडिसकेको छ । पानीको स्रोतहरु धमाधम सुकेर पालिकाको ७ वटै वडामा खानेपानीको हाहाकार छ । बस्तीनजिक रहेका पानीका स्रोतहरु सुक्दै जान थालेपछि तीव्र बसाइँसराइँ तथा खाद्यान्न संकट बढ्दै गएको आदर्श गाउँपालिकामा ६१ करोडको लगानीमा खानेपानी बन्ने भएपछि स्थानीय आशाबादी बनेका छन् ।

आदर्श गाउँपालिकाको वडा नं. २ मा खानेपानी अभावका कारण धारामा पानी भर्न आएकी महिला । गाउभरीका लागि एउटै धारा रहेको छ । आदर्श गाउँपालिकामा यस्ता समस्या भएका बस्ती दर्जनौ छन् । तस्बिर– मोहन शाही

अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई फागुन २० गते मन्त्रीस्तरीय निर्णय गरेर साईलीगाड बृहत् खानेपानी आयोजनाका लागि बजेटको सुनिश्चितता गरेको छ । चालु आर्थिक बर्षको चैत मसान्तभित्र ठेक्का खरिद प्रकृया पूरा गर्न अर्थ मन्त्रालयले परिपत्र समेत गरिसकेको छ । ६१ करोड बजेटको सो आयोजनाका लागि अर्थ मन्त्रालयले चालु आर्थिक बर्षका लागि भने ३० करोड रुपैयाँ निकासा गरेको आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्काले जानकारी दिए ।

पालिकाभरीलाइ खानेपानी आपुर्ती गर्न मुहान नहुँदा सायली गाडको पानी लिफ्टिंग गरेर बृहत खानेपानी आयोजना मार्फत पानी वितरण गरिनेछ । सो आयोजनाको कार्यान्वयन भने संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीले कार्यान्वयन गर्ने भएको छ । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीका प्रमुख प्रकाश रावलले मन्त्रालयबाट बजेट सुनिश्चित भइसकेकाले केहीदिनभित्रै टेण्डरका लागि सूचना प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले ३ बर्षभित्रै आदर्श गाउँपालिकाका सबै घरधुरीमा पानी पु¥याउने योजना कार्यान्वयन गरिने बताए ।

आदर्श गाउँपालिकाको वडा नं. २ मा खानेपानी अभावका कारण धारामा पानी भर्न राखिएका भाडाहरु । गाउभरीका लागि एउटै धारा रहेको छ । आदर्श गाउँपालिकामा यस्ता समस्या भएका बस्ती दर्जनौ छन् । तस्बिर–मोहन शाही

आदर्श गाउँपालिकाभित्रका बस्तीहरु खानेपानीको अभावमा बर्षेनी तिब्र बसाइसराइले तित्तो हुँदै आएका थिय । बृहत खानेपानीका  बजेट परेपछि भने स्थानीय खुसी भएका छन् ।

लामो सयदेखिको माग र संघर्षपछि आदर्श गाँउपालिकामा बृहत् खानेपानी आयोजनाका लागि बजेट सुनिश्चित भएको भन्दै गाउँपालिका अध्यक्ष खड्काले खुसी व्यक्त गरे । ‘जनप्रतिनिधी भएर आएको डे वान देखि नै खानेपानी आयोजनाका लागि पालिकाले संघर्ष थालेको थियो’, अध्यक्ष खड्काले भने,‘गत बर्ष वडा नं. ६ का लागि संघिय सरकारकै विशेष अनुदानबाट खानेपानी योजना ल्याउन सफल भएका थियौं, यस बर्ष बाँकी ६ वडाका लागि बृहत खानेपानी पु¥याउने बहृत योजना पाउँदा सिंगो पालिका औधी खुसी छ ।’

गाउँपालिकाले चालु आर्थिक बर्षमा नै बृहत खानेपानी योजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेर संघिय सरकारसंग खानेपानी योजनाको माग गरेको थियो । खानेपानीको मुहान नहुँदासुख्खा डाँडामा अवस्थित आदर्श गाउँपालिकाभित्रका बस्तीहरु खानेपानीको अभावमा बर्षेनी तिब्र बसाइसराइले तित्तो हुँदै आएका थिय । ‘गाउँहरु नै बर्षेनी उजाड र खाली हुँदै गएका थिए’, उपाध्यक्ष लक्ष्मी धामी रोकायाले भनिन्,‘सबैभन्दा बढी कार्यबोझ महिलामा बढेको थियो, बृहत खानेपानीले केही राहत हुने विश्वास छ ।’

संघिय सरकारको विशेष अनुदानबाट गत वर्ष आदर्श गाउँपालिकाले वडा नं. ६ मा खानेपानी योजना निर्माण गरिरहेको छ । एउटै योजनालाई ३ टुक्रा बनाएर पालिकाले गतबर्ष ७० लाख बराबर लगानी गरे काँडी गाउँका घरधुरीहरुमा खानेपानी खसाली सकिएको इञ्जनियर धन बहादुर थापाले बताए । ‘गतबर्ष ७० लाख लगानी गरेर वडा नं. ६ को काँडीमा खानेपानी पु¥याइयो, चालु आर्थिक बर्षमा ६० लाखबराबरको ठेक्का निकालेर खतेडा र ढाँटबाडा गाउँमा पानी वितरण गर्छाै,’ इञ्जनियर थापाले भने, ‘अर्कोबर्ष सिल्ल साउँकोलामा वितरण गर्ने योजना छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *