कोरोनाकाल :  पलियाबाट उद्दार गरि ल्याएको त्यो टोली

मोहन शाही
८ फागुन २०८० १७:३७
कोरोनाकाल :  पलियाबाट उद्दार गरि ल्याएको त्यो टोली
उद्दारका लागि सिमा नाका गौरीफण्टा पुगेको हाम्रो टोली(तत्कालिन वडाध्यक्ष हर्क बहादुर विष्ट, स्वास्थ्य शाखा प्रमुख तिल बहादुर बोहरा र म )

ल्यापका पुराना फोल्डर खोल्दै जाँदा आज एकाएक केही फोटो, म्यासेज र पत्रहरूमा आँखा ठोकिय । अनायासै फिल्मको रिल झै मानसपटलमा केही कुराहरू फनफनी घुमिरहेका छन् ।

०७६ बैशाखको मध्यतिर कोरोनाले चारैतिर सन्त्रास छायो । घरबाहिरसमेत निस्कन सक्ने अवस्था रहेन । सडकमा देख्ने वितिक्कै प्रहरीले लाइन लगाएर मास्क , सेनीटाइजर र घरबाहिर ननिस्कन उर्दी जारी गरेको घटना हिजो जस्तै लाग्छ ।

म मधुमेहको बिरामी । कोरोना संक्रमण मेरा लागि झन् खतरापूर्ण थियो । त्यहीभएर कोठाभित्र बन्धक झै थिए । अफिसले घरभित्रैबाट रिपोर्टिंग गर्न स्विकृत दिएको थियो । तर मनले मानेन । गाउँका सयौं दाजुभाइको क्रन्दनले मलाइ स्थिर हुन दिएन । अझै भनुँ भने इतिहासले मलाइ पुण्य कार्यमा खटिने अवसर दियो ।

उद्दारका लागि कोरोना पिडीतहरूले पठाएका म्यासेजहरू ।

पुरै विश्व कोरोनाको चपेटाले लपेटिएका बेला सरकार समेत सुतेकोले म मा आक्रोस चढेको थियो । मुटु फुलेको थियो । एउटा मास्क, सेनीटाइजर समेत दिन नसक्ने लाचार सरकारसंग, मानिसहरू उपचारका लागि अस्पतालमा छटपटिएका खबरले मन अतालिन्थ्यो ।

कोरोनाले लपेट्दै गएपछि फोन, म्यासेज, ह्वाट्स एप, भाइबरमा भारतका दाजुभाइ अलपत्र परिरहेका खबर आउने क्रम तिब्र भयो । सिमा भित्रैका जनताको मुख थुनिरहेको सरकार त्यो बेला सिमा बाहिरका जनताको स्वर के सुन्थे ?

उद्दारका लागि एक कोरोना पिडीतले पठाएको पत्र

तर पनि प्रदेशी दाजुभाइले पत्रकार भएकैले म प्रति केही आशा राखेका होलान्, कतै आफुहरू अलपत्र परेको समाचार मिडियामा आउँदा सरकारका कान उघ्रन्छन कि भनेर ? सबैभन्दा बढी गुनासो भारतको जोधपुरमा फसेका केआइसिंह ७ सलेनाका दाजुभाइहरू थियो। तत्कालिन वडाध्यक्ष हर्क बहादुर विष्ट पनि वडाबासी अलपत्र परेकोबारे दैनिक दबावमा थिए। त्यो दबाब वडाध्यक्षले म माथि सुम्पीय । अलपत्र परेका दाजुभाइबारे मैले पटक पटक समाचार कान्तिपुरमा प्रकाशन गरे । बहिरो र अन्धो सरकार के सुन्थ्यो, के देख्थ्यो ।

स्थानीय, संघ र प्रदेश सरकारको समेत कोरोनासंग डराएर मुटु कापेको थियो । सर्वत्र सरकारको आलोचना गरेर जनता उदास भइसकेका थिए । उता भारतमा रहेका नेपाली दाजुभाइ रोजगारी गुमाएर प्राण जोगाउन दैनिक छटपटिने क्रम बढ्यो । लुधियाना, दिल्ली, महाराष्ट्र, राजिस्थान लगायतका क्षेत्रहरूमा अलपत्र पर्नेहरूको संख्या बढ्दै गयो ।

यता नेपाल सरकारले उनीहरूलाइ सिमामै विभिन्न बहानामा रोक्न थाल्यो । भारतमै पनि आवागमन ठप्प भएकाले जीवनमरणको दोसाँधमा पुग्यो ।

केही दाजुभाइ जोखिम मोलेर पलिया सम्म पुगेर फसेका थिए । भोकभोकै , घामप्यासले थकित भएर अलपत्र थिए । कोही बाटोमै लुटिएका थिए, कतिपय कुटपीटमा घाइते थिए । दुधे बालक काखमा च्यापेका महिलाहरूमा पोषण नभएर दुधसम्म चुसाउन सकिरहेकी थिइनन् । निख्रेका दुध चुस्दै भोकले आमा र बालकको क्रन्धनले आकाश नै चम्कन्थ्यो । ती दर्दनाक पल सम्झेर अहिले पनि छाति चिरिन्छ , मुटु भड्किन्छ ।

तर पनि उनीहरूको पक्षमा न प्रदेश सरकार बोल्यो, न संघले रूची देखायो । न त प्रहरी प्रशासनको मन पग्ल्यो । पीडीतहरूको एउटै माग थियो – ‘पत्रकार ज्यू जसरी हुन्छ आफ्नो देशको माटोमा टेक्ने वाताबरण मिलाइ दिनु ।’

उनीहरूलाइ नेपाली सिमासम्म ल्याउनु निकै चुनौतीको काम थियो ।

मैले जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत सूचना अधिकारी शिवराज जोशीसंग राय माँगे । उनले तत्कालै जवाफ दिन सकेनन । गृहबाट आदेश नआइ दुवै देशका सुरक्षाअधिकारीबिच सहमती नहुँदासम्म केही गर्न नसकिने भने । पलियामा ३ दिनदेखि फसेर त्यहाँको गर्मी, मच्छरको टोकाइ र भोकप्यासले छटपटिएका दाजुभाइको यथार्थ अवस्था बुझ्न धनगढीका पत्रकार मित्र श्रवण देउबाको सहयोगमा पलियाका पत्रकार साथिहरूसंग समन्वय बढाए । ती मित्रहरूले केआइसिंहका दाजुभाइ अलपत्र रहेका विभिन्न स्थानहरूबारे जानकारी दिए । कोही गायत्रीदेवी डिग्री कलेज, कोही सन्दाम प्यालेस लगायतका ठाउँमा केआइसिंहका मात्रै २ सय १२ जना अलपत्र रहेका थिए ।

सिमानाका गौरीफण्टामा के.आइ.सिंहका कोरोनापीडीतलाइ सान्त्वना दिदै वडाध्यक्ष हर्क बहादुर विष्ट ।

तिनै मित्रहरू मार्फत भारतीय सुरक्षा अधिकारीहरूसंग सहयोग माँगे । उनीहरूले सिमानाकाबाट आफ्नो रोहबरमा सम्बन्धीत ठाँउमा लैजाने प्रतिबद्दता भएमात्र नेपाल पठाउन सकिने आश्वासन दिए । त्यसका लागि नेपाली प्रशासनले सहमती गर्नुपर्ने पुर्व सर्त थियो । नेपालका तर्फबाट जिल्ला प्रशासन, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहमत हुनुपर्ने देखियो ।

पलियामा त्यसरी संयौ मानिसहरू फसेकाले सबैको सिमानाकामा व्यवस्थापन गर्नु नेपाली प्रशासनलाइ चुनौतीपूर्ण रहेकाले सहजै मान्न सक्ने स्थिती थिएन । केआइसिंहका लाइ मात्र उद्दार गर्न सुरूमै सहमत हुने कुरा पनि भएन ।

यद्पी मैले ३ वटै पक्षसंग कुरा अघि बढाए । सो कार्यमा सूचना अधिकारी जोशीले निकै साथ दिनुभयो । उहाँप्रति कृतज्ञ छु । तर नेपाली प्रशासन र सुरक्षाकर्मीले पनि २ वटा सर्त राखे । एउटा सर्त सिमानाकाबाट आफ्नो पालिकाका सबै मानिसलाइ एकसाथ पालिकासम्म लैजाने तथा सुरक्षित क्वारेन्टाइनमा राख्ने लगायतको लिखित प्रतिवद्धता गर्नु पर्ने। अर्को पलियामा फसेका आफ्ना मानिसहरूको नामावली विवरण लिखित उपलब्ध गराउनु पर्ने ।

सिमानाका गौरीफण्टामा अलपत्र परेका कोरोनापीडीतहरू ।

यो त भयो सिमानाकाबाट अलपत्र दाजुभाइलाइ ल्याउन अनुमति पाइएको कुरा । यता त्यत्रो मानिसहरूलाइ आवतजावत , खाजाखाना र क्वारेनटाइनको व्यवस्था कस्ले गर्ने भन्ने कुरामा अर्को अन्यौल थियो । जिल्ला प्रशासन डोटीले सुरक्षा व्यवस्था बाहेकको जिम्मा लिन नसक्ने भयो । जिल्लाका अन्य पालिका बजेट व्यवस्थापनको डरले अलमलमा परेका थिए । मैले गरिरहेको पहल र समन्वय बारे केआइसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही जानकार त थिए तर बजेट व्यवस्थापनको कुरामा स्पष्ट हुन सकेनन् । पालिकाको पुरै बजेट बिनियोजीत भइसकेको थियो । विपद उद्दार कोषमा त्यती ठुलो रकम राखिएको थिएन । अध्यक्ष शाहीको चिन्ता स्वभाविक थियो । कुन प्रकृयाबाट कसरी खर्च गर्ने भनेर कमर्चारी पनि एकमत हुन सकेका थिएनन । तत्कालिन कार्यालय प्रमुख सुनिल ठकुल्लालाइ पनि यो एतिहासिक कामका लागि आँट गर्न मैले नै अपिल गरे । अध्यक्ष ज्यू सकरात्मक भए जोखिम मोल्न हाकिम ठकुल्ला पनि तयार भए । अन्यौलमा परेका अध्यक्ष शाहीलाइ त्यो बेला सम्झाएको एउटा कुरा अहिलेपनि म झलझली सम्झन्छु । ‘यस्तै कठिन परिस्थिति, संकट र पीडामा नै नेता जन्मने हो । तपाइका लागि यो भन्दा पुण्य कार्य गर्ने अवसर जीवनमा सायदै मिल्ला । त्यही भएर आँट गर्नुस र एउटा नमुना काम गरेर धर्म कमाउनुस।’ सायद यीनै शव्दले उनको मन हल्लिएको हुन पर्छ। पलभर पनि लगाएनन्, मलाइ अगाढी बढ्न संकेत दिए । सुदूरपश्चिमका कुनै पालिका प्रमुखले नआटेकाे काम अध्यक्ष शाहीले तत्कालै स्विकारेर ईतिहास काेरे ।

त्यो बेला अध्यक्ष लोकेन्द्र बहादुर शाहीलाइ निर्णायक बन्न् तत्कालिन वडा नं. ७ का वडाध्यक्ष हर्क बहादुर बिष्ट र स्वास्थ्य शाखा प्रमुख तिल बहादुर बोहराले अहम भूमीका खेले । उहाँहरू पनि ज्यानको बाजी थाप्न तयार हुनुभयो ।

सिमानाका गौरीफण्टाबाट बसमा उद्धार गरेर के.आइ.सिंह गाउँपालिकाले दिपायल राजपुरमा व्यवस्था गरेको खाजा तथा पानीको लागि लाइनमा बसेका कोरोना पीडितहरू ।

मैले पलियामा फसेका सबै दाजुभाइहरूका नामावली धनगढी पुगेर तयार पारे । पालिकाको चिठ्ठी बनाएर जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाँए । त्यही पत्र भारतको प्रशासनलाइ पनि फवार्ड गरे । दुबै देशको प्रशासन तयार भएपछि तत्कालिन वडा नं. ७ का वडाध्यक्ष हर्क बहादुर विष्ट,स्वास्थ्य शाखा प्रमुख तिल बहादुर बोहरा, गाडीधनी चक्र कार्की डोटीबाट धनगढी आए । म पहिल्यै धनगढी थिए । दुइवटा बस रिजर्व गरेर त्रिनगर भन्सारमा तयार भएर हामी ४ जना उद्दारका लागि तमतयार भयौं ।

कोरोना पिडित भारतमा अलपत्र परेको बारे कान्तिपुरमा प्रकाशित गरेको समाचार ।

पालिकाको व्यानर सहित स्टल राखेर भोकभोकै हामी स्टलमा कुरिरहेका थियौं । संयौ मानिसहरू सिमानामै थुनिएर अलपत्र थिए । अवेर बेलुकामात्रै हाम्रा मान्छे गौरीफन्टा पुगे । हामीलाइ देख्ने बितिक्कै दाजुभाइहरूका आखामा खुसीको सिमा थिएन । जन्मभूमी र देशको मायाले मन उनीहरूको चंगा भयो । सयौं अलपत्र परिरहेकाहरू बिच व्यानर सहित गाडी, खाजा, पानीका साथ स्वागतका लागि तयार रहेको टिम देखेर केआइसिंह गापा र हामीहरूको जयजयकार गरे । युद्धबाट फर्किएको सेना झै उनीहरूमा खुसीमा सिमा रहेन । अहिलेपनि त्यो दृष्य मेरो मानसपटलमा गुञ्जीरहेको छ । सुदूरपश्चिममा त्यसरी आफ्ना मानिसहरूलाइ लैजाने केआइसिंह पहिलो पालिका थियो। हाम्रो टोली सिमानामा खटिएको समाचार कैलालीका संचारमाध्यमले राम्रो कभरेज गरे । दाजुभाइ खुसी हुँदा मेरा आखाबाट आशु झरे । वडाध्यक्ष हर्क विष्टले खुसी भएर सबै दाजुभाइहरूलाइ खाजापानीको बन्दोबस्त गरे । त्यो क्षण मेरो जीवनको सुनौलो पलमध्यको एक हो ।

उता पलियामा केआइसिंहका मान्छेको नाम पार्दै बसमा राख्न थालेपछि अलपत्र अन्य पालिका तथा जिल्लाका दाजुभाइले घर फर्किन बल प्रयोग गरेछन् । केहीबेर भारतीय प्रहरीसंग झडप भएछ । अन्तिममा भारतिय सुरक्षा थाकेपछि केआइसिंहका दाजुभाइपछि अरूलाइ पनि सिमानासम्म पठाउन बाध्य भएछ । गौरीफन्टासम्म त आए त्यहाँबाट नेपाली सुरक्षाकर्मीले पालिकाको प्रतिबद्धता विना नेपाल पस्न नदिने अडान कस्यो ।

निरास भएर बसेका उनीहरूले केआइसिंहको मात्र गाडी देखेपछि आफ्नो स्थानीय सरकारसंग आक्रोस पोख्न थाले। केहीबेर मुर्दाबाद भनेर नारा लगाए । मैले डोटीका सम्बन्धीत पालिका प्रमुख ज्यूहरूलाइ उद्दारका लागि त्यस पहिले नै अनुरोध गरिसकेको थिए । नगरपालिकाहरूले तत्काल बन्दोबस्त गर्न सक्ने अवस्था थिएन । तर पनि उहाँहरूको पीडा देख्न नसकेर हाम्रो टोलीले तत्कालै अर्को बसको बन्दोबस्त गरेर दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका दाजुभाइहरूलाइ राती एक बजे पठाउन सफल भयौ। जानेबेला बसमा चढ्दै उनीहरूले पनि हामीलाइ जिन्दाबाद जिन्दाबाद भन्दै बिदाइ मागे । चढीसकेको एकजना भाइ उत्रेर म कहाँ फर्कियो । फोन नम्बर माग्यो । ४ दिनदेखि खाना खाएको रहेनछ । भएको पैसा बाटोमा लुटिएको रहेछ । खुट्टा छोएर बलिन्द्र आँशु झार्दै उसले भन्यो– ‘दाजु सायद आज पनि आउन पाउँदैन थिए भने मेरो लाश घरमा पुग्थ्यो कि पुग्थेन । थाहा भएन । हजुरले गर्दा सकुशल जाँदैछु ।’

मैले १५ सय हातमा थमाए । उ जीवन बाँचेको खुसीमा रोइरह्यो । बस गुड्न थालेपछि जान भने । तर पनि छुटिन उ चाहिरहेको थिएन । मैले हातसमात्दै उसलाइ बससम्म लगेँ । बसमा चढ्दै उसले अन्तिम वाक्य बोल्यो । दाजु घर पुग्ने बितिक्कै फोन गर्छु है …। तर उसको फोन कहिल्यै म कहाँ आएन । मैले उसको नामथर, ठेगाना सोधेन । अहिलेपनि उसको अनुहार सम्झन्छु । तर मनमा भयंकर डर पनि लाग्छ , उ सकुशल घर पुग्यो कि पुगेन होला ?

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *