डोटी उद्योग वाणिज्य संघको बन्द शत्र लम्बियो

पाँजलो न्युज
१५ असोज २०८० १४:४२
डोटी उद्योग वाणिज्य संघको बन्द शत्र लम्बियो

डोटी– डोटी उद्योग वाणिज्य संघको साधारण सभा लम्बिएको  छ । उद्घाटन सत्र पछि सुरु भएको बन्द सत्रमा महासचिव दीपक बहादुर खड्का र कोषाध्यक्ष दीर्घ बहादुर साउँदले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित नभएपछि सोमबार दिपायलमा आयोजित साधारण सभाको बन्द सत्र लम्बिएको हो ।

उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष मोहन बहादुर कलेल नेतृत्वको समितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा ६१ लाख ७३ हजार ४ सय ५६ रुपैयाँ उधारो तिर्नुपर्ने देखाएपछि सहभागीहरूले प्रश्न खडा गरेका थिए । ५ वर्ष कार्यकाल बिताएको सो समितिले  अघिल्लो कार्यसमितिदेखि नै तिर्नुपर्ने उधारो बक्यौता रहेको,  महोत्सव सञ्चालन र भवन निर्माणमा घाटा रहेकाले बजारमा पैसा तिर्न पर्ने देखिएको अध्यक्ष मोहन कलेलले बताएका छन् ।


तर सहभागीहरूले कुन वर्ष कति व्यवहार देखिएको हो भन्ने कुरा प्रस्ट उल्लेख गर्नुपर्ने सर्त राखेपछि कार्यसमितिले विस्तृत हिसाब किताबका लागि ३ दिनको समय माग्दै बन्दशत्र लम्बाएको हो ।  लेखापरिक्षक प्रतिवेदनमै हिसाब किताबमा प्राविधिक क्रुटी देखिएपछि कार्य समितिले यथार्थ विवरण ल्याउन ३ दिनको समय मागेको अध्यक्ष कलेलले बताएका छन् ।

‘कार्य समितिले आर्थिक अनियमितता गरेको आरोप सहभागी कसैले पनि लगाएका छैनन्’, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वीरेन्द्र शाहले भने, ‘तर हिसाब किताब स्पष्ट हुन पर्छ , त्यत्रो आकारमा संघ घाटा कसरी गयो त्यो माग गरिएको छ । समितिले यथार्थ विवरण ल्याउनेछ भन्ने आशा गरेका छौँ ।’

पूर्व उपाध्यक्ष विक्रम साउँदले समेत हिसाब किताबमा प्राविधिक क्रुटी देखिएको र स्पष्टसँग शीर्षक छुटाउन नसकेकाले छलफलको विषय हुन पुगेको बताए । उनले संघको गरिमा जोगाउन र पारदर्शी हुन पनि कार्य समितिले दुरुस्त हिसाब किताब देखाउनमा विश्वस्त रहेको बताए ।
भवन निर्माणमै उद्योग वाणिज्य संघका अध्यक्ष कलेलले व्यक्तिगत लगानी ४३ लाख ८१ हजार गरेको देखाइएको छ । यद्यपि अध्यक्ष कलेले १७ लाख ३५ हजार मात्र संघबाट  फिर्ता लिनु पर्ने हिसाब देखाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *