दिपायलमा दिउँसै २ लाख ४५ हजार गायब

पाँजलो न्युज
६ असोज २०८० ५:२१
दिपायलमा दिउँसै २ लाख ४५ हजार गायब
डोटी– दिपायलको पिपल्ला बजारबाट पार्किङ्ग गरी राखिएको मोटरसाइकलबाट दिनदहाडै २ लाख ४५ हजार रुपैयाँ गायब भएको छ । शुक्रवार बिहान सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको कार्यालय पछाडि पार्किङ्ग गरी राखिएको मोटरसाइकलबाट उक्त रकम गायब भएको हो ।  सरस्वती इलेक्ट्रोनिक्स र प्राची स्टेशनरी पिपल्लाको माथिल्लो तलामा इन्स्योरेन्स कम्पनीको कार्यालय रहेको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का हिकमत भण्डारीले झिल्लीमा बेरेर आफ्नो मोटरसाइकलको लेकगाडमा सो रकम झुण्डाएर ल्याएका थिए । उनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कम्प्युटर सहायक हुन् । बैंकमा जम्मा गर्न ल्याएको रकम मोटरसाइकलमै छोडेर उनी शुक्रवार बिहान १० बजेर ७  मिनेटमा कार्यालय गएका थिए ।
कार्यालयको व्यस्तताले मोटरसाइकलमा राखेको पैसा सँगै लग्न भूलेका भण्डारीलाई करिब डेढ घण्टापछि याद आएको थियो । ‘डेढ घण्टापछि एक्कासि पैसा मोटरसाइकलमा छुटेको याद आयो’, भण्डारीले भने, ‘पैसा लिन जाँदा गायब थियो , दुःख गरी कमाएको पैसा गायब हुँदा रुनु न हाँस्नु भएको छ ।’
उनले तत्कालै प्रहरीलाई समेत खबर गरेका थिए । प्रहरीले समेत आसपास छानबिन गर्दा रकम फेला पार्न नसकेको जनाएको छ । पार्कीङ्गका लागि जाँदा पैसा राखिएको झिल्ली उनकै मोटरमा झुन्डाइएको फुटे सिसिटिभी क्यामेरामा देखिएको भण्डारीले बताए । ‘तर जहाँनिर मोटरसाइकल पार्कीङ्ग गरेर राखेको थिए त्यहाँको क्यामरा बिग्रेको रहेछ’, भण्डारीले निराश हुँदै भने, ‘मानिसहरू धेरै बाहिर भित्र पनि गरेको देखिएन, आसपासकै मानिसबाट गायब भएको आशङ्का छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *