श्रमदान प्रभाव

केआइसिंहमा नयाँ भाडा दर लागु, असोजबाट बस सेवा

कालोपत्रे सडकमा प्रतिकिलोमिटरको रु ७ र कच्ची सडकमा रु १२.५ भाडा दर कायम

मोहन शाही
२९ भदौ २०८० ९:२८
केआइसिंहमा नयाँ भाडा दर लागु, असोजबाट बस सेवा
नयाँ भाडादरबारे केही दिन अङि वायलमा बसेको बैठक । फायल फोटो ।

(डोटी)– केआईसिंह गाउँपालिका, यातायात व्यवसायी र सरोकार पक्षबिच शुक्रवार बसेको बैठकले नयाँ भाडा दर लागु गर्ने निर्णय गरेकाे छ । गाउँपालिकाले आयोजना गरेको बैठकमा शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालीका पदाधिकारीहरूले नयाँ भाडा दर कायम गर्ने सहमति गरेका हुन् । शुक्रवार गरिएको निर्णय अनुसार कालोपत्रे सडकमा प्रतिकिलोमिटरको रु ७ र कच्ची सडकमा रु १२.५ भाडा दर कायम गरिएको अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जानकारी दिए ।

साथै असोज १ गतेदेखि दिपायलबाट दैनिक एक बस वायलका लागि छुट्ने समेत निर्णय भएको छ । दिपायल देखि वायलसम्म एक दिन शैलेश्वरी डोटी सार्वजनिक प्रालीको र अर्को दिन सुन्दर सुदूरपश्चिम सार्वजनिक यातायात प्रालीको एउटा बस अनिवार्य छुट्ने बताइएको छ । यसअघि दिपायलदेखि वायलसम्मको ३ सय भाडा लिँदै आएका व्यवसायीले नयाँ भाडा दर अनुसार एक सय ६१ रुपैयाँ मात्र लिन पाउने भएका छन् । यातायात व्यवसायीहरूले वायलसम्म कालोपत्रे भइसकेपनि कच्ची सडक भएको बेला तोकिएको दररेटमा चर्को भाडा असुल्दै आएका थिए । गाउँपालिकाले तुस्यात खोलामा श्रमदानबाट सडक मर्मत गरिसक्दा पनि भाडा नघटेको भन्दै जनदबाब बढ्दै गएको थियो ।


यो भाडा दर जिप तथा बस सवैखालका सार्वजनिक यातायातमा लागु हुने बताइएको छ । ‘कुनै पनि बहानामा निर्णयभन्दा बढी भाडा लिएमा तुरुन्तै कारबाही गर्न तयार छौँ’, शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालीका अध्यक्ष गणेश मलासीले भने, ‘नयाँभाडाले स्थानीयलाई राहत पुग्ने विश्वास लिएका छौँ ।’ केआईसिंह गाउँपालिकाका सूचना अधिकारी पुष्पराज भट्टले प्रदेश सरकारले कायम गरेको भाडा दर अनुसार नै बैठकले लागु गर्ने सहमति गरेको बताएका छन् । नयाँ भाडा दर कायम भएपछि स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *