सुजङ्ग अस्पताल महिलाहरूको निःशुल्क उपचार गर्दै

मोहन शाही
२८ भदौ २०८० ११:०१
सुजङ्ग अस्पताल महिलाहरूको निःशुल्क उपचार गर्दै

(डोटी) –हरितालिका तिजको अवसर पारेर स्थानीय सरकारहरूले नाच,गान र दर खानपानमा सरकारी बजेट खर्च गरिरहेका यहाँको एक सामुदायिक अस्पतालले भने महिलाहरूका लागि पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा दिइरहेको छ । शिविर नै सञ्चालन गरेर दिपायल राजपुर स्थित सुजङ्ग अस्पतालले महिलाहरूलाई शारीरिक चेकजाँच, ल्याब परीक्षण देखि औषधीसमेत निःशुल्क दिइरहेको छ ।


उपचारका लागि महिलाहरूको घुइँचो अस्पतालमा बिहानैबाट लागेको छ । आदर्श, सायल, केआईसिं, शिखर, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पुर्वीचौकी गाउँपालिकाबाट उपचारका लागि महिलाहरू आएका छन् ।
बिहीबारबाट सुरु स्वास्थ्य शिविर २ दिनसम्म चल्ने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए । बलायरका अनुसार शिविरमा बिहानैबाट दुर्गम क्षेत्रका महिलाहरू उपचारका लागि अस्पताल पुगेका छन् । ‘आर्थिक अभावले समयमै उपचार नपाउँदा तथा अशिक्षाका कारण रोग लुकाएर महिलाहरू अनेकौँ शारीरिक समस्या झेल्दै आएकाले उहाँको सम्मानमा निःशुल्क शिविर सञ्चालन गरेका हौँ’, बलायरले भने, ‘स्थानीय सरकारहरूको ध्यान महिलाहरूलाई आवश्यक कुरामा खर्च गर्नुभन्दा फजुल खर्चतिर लागेको देख्दा हामीले आफूबाट सक्दो सहयोग गरेका हौँ ।’ अस्पतालले उपचारका लागि आएका सेवाग्राहीहरूलाई चिकित्सकीय परामर्श पनि दिइरहेको छ ।


निःशुल्क सेवा पाएका महिलाहरूले खुसी व्यक्त गरेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नं. ६ कि शान्ति धामीले तिजको अवसर पारेर महिलाहरूको उपचार अस्पतालले गरेको प्रति खुसी व्यक्त गर्दै अस्पताल परिवारलाई धन्यवाद व्यक्त गरिन् । आदर्श गाउँपालिका मौवाकी सरस्वती खड्का तल्लो पेट दुखेर डेढ महिनादेखिको ढाँड दुख्ने समस्या सम्बन्धी उपचार गर्न पाउँदा खुसी व्यक्त गरिन । निःशुल्क रूपमा भिडियो एक्स-रे, रगत जाँच र औषधी पाएको बताउँदै खड्काले गाड भाडाबाहेक सबै खर्च अस्पतालले व्यहोरेको बताइन । दिपायल सिलगढी नगरपालिका तिखा गाउँबाट आएकी मिना खड्काले पनि निःशुल्क उपचार पाएकोमा खुसी व्यक्त गरिन् ।


अस्पतालका डा. सुभाष थापामगरले शिविरमा पाठेघर खसेका, तल्लो पेट दुख्ने, सेतो गनाउने पानी बग्ने, पिसाब पोल्ने, ढाड दुख्ने, योनि चिलाउने, पाठेघरमा घाउ भएका समस्या भएका महिलाहरू बढी आइरहेको बताए । ‘उपचारका क्रममा महिलाहरूको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर र दुखदायी पाए’, डा. थापामगरले भने, ‘सरसफाइको अभाव र अशिक्षाले गर्दा ज्यानै जोखिममा राखेर रोग लुकाएर बस्नु भएको छ ।’  शिविरमा एमडी डा. सुभाष थापामगर, डा. राजमनि यादव लगायत स्वास्थ्यकर्मीहरूको टोली बिहानैबाट खटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *