डोटीका विद्यालयहरूमा राजनैतिक गतिविधि रोक्न निर्देशन

पाँजलो न्युज
१८ भदौ २०८० ५:०८
डोटीका विद्यालयहरूमा राजनैतिक गतिविधि रोक्न निर्देशन
नेकपा एमाले निकट अनेरास्ववियू डोटीले सायल गाउँपालिकाको जनता जनार्दन माविमा संगठन विस्तार गर्दै गरेको तस्बिर ।
(डोटी)– शिक्षा विकास तथा समन्वय इकाई डोटीले विद्यालयहरूमा राजनैतिक दलका विद्यार्थी संगठन विस्तारमा रोक लगाउन निर्देशन दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले एक हप्ता अघिबाट विद्यालयहरूमा भइरहेको राजनैतिक गतिविधीहरुको विरोध गर्दै आएपछि रोक लगाएको हो ।
सोमबार डोटीका ९ वटै स्थानीय तहहरूलाई परिपत्र गर्दै शिक्षा विकास तथा समन्वय इकाई डोटीले विद्यालयमा राजनीतिक गतिविधि र विद्यार्थी संगठन गठन गर्नु विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ विपरीत रहेकाले यथाशीघ्र त्यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले शिक्षा विकास समन्वय इकाईलाई सो सम्बन्धमा ध्यानाकर्षण गराएको थियो ।
पछिल्लो समय डोटीमा विभिन्न राजनैतिक दलका विद्यार्थी संगठनहरुले राजनैतिक गतिविधि गर्दै आएका छन् । कक्षाकोठाभित्रै प्रवेश गरी विद्यार्थी संगठन विस्तार गर्ने, झण्डा प्रदर्शन गर्ने तथा पढाइ प्रभावित हुने गरी राजनैतिक गतिविधि बढिरहेको भन्दै व्यापक आलोचना हुँदै आएको छ ।
साेमबार शिक्षा विकास तथा समन्वय इकाइले डाेटीका पालिकाहरूलाइ गरेकाे परिपत्र ।
राजनैतिक गतिविधि रोक्नुका साथै पालिका स्तरमा सामूहिक प्रतिबद्धता गराउन समेत परिपत्र गरिएको छ । शैक्षिक गतिविधिलाई असर पार्ने गरी राजनैतिक गतिविधि नगर्न,स्थानीय तहमा राजनीतिक दल, गैरसरकारी र निजी संघसंस्थाको सहभागितामा शैक्षिक गतिविधिमा असर पार्ने क्रियाकलाप नगर्न ,विद्यालयमा विद्यालय परिवार र समुदायको सहभागितामा आचारसंहिता निर्माण गरी कार्यान्वयन गराउन , विद्यालय हाताभित्र र वरिपरि राजनीतिक सभा, सम्मेलन, नारा, जुलुस वा विरोधका गतिविधि सञ्चालन गर्न बन्देज गराउन समेत परिपत्रमार्फत निर्देशन दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी डोटीका जिल्ला संयोजक केशव बलायरले भदौ १३ गते विद्यालयहरूमा विद्यार्थी संगठन विस्तार कार्य कानुन विपरीत रहेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो भने प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई सो कार्य रोक्नका लागि ज्ञापन पत्र बुझाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक बलायरले गुणस्तरीय र वैज्ञानिक शिक्षाबारे बहस र छलफल गर्नुपर्नेमा विद्यार्थीहरूलाई राजनैतिक गतिविधिमा सहभागी गराएर कानुन विपरीत कार्य भइरहेको बताए ।
तर केही राजनैतिक दल र तिनका भातृ संगठनहरुले भने विद्यार्थीहरूमा राजनैतिक चेतना आवश्यक रहेको भन्दै विद्यार्थी संगठन विस्तार कार्यलाई अन्यथा लिन नहुने तर्क गर्दै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले एक हप्ता अघिबाट विद्यालयहरुमा भइरहेको राजनैतिक गतिविधीहरुको विरोध गर्दै जिल्ला प्रशासन कार्यालयलाइ बुझाएकाे ज्ञापनपत्र ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *