आकाशे पुलमा लिफ्ट जडान गर्दै काठमाडौं महानगरपालिका

पाँजलो न्युज
११ भदौ २०८० ७:२५
आकाशे पुलमा लिफ्ट जडान गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं- काठमाडौं महानगरपालिकाले विभिन्न तीन स्थानमा रहेका आकाशे पुलमा लिफ्ट जडान गर्ने भएको छ ।

महानगरपालिकाले चाबहिल, नयाँ बानेश्वर र पुरानो बसपार्क अघि (विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको अगाडि) रहेका पुलहरुमा लिफ्ट जडान गर्न लागेको हो । अपांग तथा वद्धवृद्धामैत्री पुल बनाउने लक्ष्यका साथ महानगरपालिकाले यी तीन स्थानमा रहेका आकाशे पुलमा लिफ्ट जडान गर्न लागेको हो ।

काठमाडौं महानगरपालिकाअन्तर्गतको महानगर प्रहरी महाशाखाको ट्राफिक तथा यातायात ईकाई सहायक विज्ञ प्रशान्त खरेलकाअनुसार महानगरले आकाशेपुललाई हरेक किसिमले पैदलयात्री मैत्री बनाउनका लागि लिफ्टको जडान गर्न लागेको हो।

‘ह्विलचियर प्रयोगकर्ता, बृद्धबुद्धा, बालबािलका सबैका लागि आकाशे पुल सहयोग गर्न सहज होस भन्ने लक्ष्यसहित लिफ्टको जडान गर्न लागिएको हो । सहजै कसैको सहायता बिनानै आकाशे पुललाई प्रयोग गर्न मिल्ने गरि हामी लिफ्टको जडान गर्दैछौं’ उनले भने ।

आकाशे पुलमा लिफ्ट जडानका लागि अनुमानित लागत ४ करोड रुपैयाँ रहेको छ । कुल बजेट ५ करोड छुट्याइएकोमा ४ करोड रुपैयाँ लिफ्ट जडानाका लागि र अन्य बाँकी रहेको रकमबाट पुलमा सजावट, सुरक्षालगायतका कुराहरु राखिनेछन् । महानगरको नगर प्रहरीअन्तर्गत बिनियोजन भएको बजेटबाट यो योजनालाई अघि बढाइएको हो ।

खरेलकाअनुसार हाल लिफ्ट जडान गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ । दशैंअघि नै डीपीआर तयार हुने र तत्पश्चात यो आर्थिक वर्षमा नै यसलाई सम्पूर्ण रुपमा निर्माण पूरा गर्ने उनले बताए ।

आकाशे पुलको एक पट्टिको भागमा लिफ्ट जडान हुनेछ । एउटा पुलमा दुई लिफ्ट (एक सेट लिफ्ट) जडान गरिनेछ । चाबहिलमा रहेको आकाशे पुल र विद्युत प्राधिकरणको कार्यालयअघि रहेको आकाशे पुलको एकापट्टिको भाग खाली नै रहेकाले त्यहाँ लिफ्ट जडान गर्नका लागि ल्याडिङ हटाउन पर्दैन । बानेश्वरमा रहेको आकाशे पुलमा भने एकपट्टिको ल्याण्डिङलाई हटाएर लिफ्ट जडान गरिने खरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *