सुदूरपश्चिममा ‘ठूली गौरा’ मनाइँदै

पाँजलो न्युज
१७ भदौ २०७९ १५:२५

बैतडी — गौरा पर्वको सुरुवात भएसँगै शुक्रबार सुदूरपश्चिममा ठूली गौरा मनाइँदैछ । यहाँको मुख्य पर्व गौरा अन्तर्गत आज व्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गरी घरघरमा भिजाएका बिरुडालाई सामूहिक रुपमा धारामा लिएर धुने गर्छन् । ठूली गौरालाई व्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् ।

ठूली गौराको दिन गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाहरुले फाग गाउँदै फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन् । गौरालाई गौरा घरमा भित्र्याउने पनि गर्छन् ।

गौरा पर्वमा व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । विवाहित महिलाहरुले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको छ । साथै साझको समयमा व्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन छ । गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् ।

गौराको मुख्य दिन शनिबार दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

यस्तै गौरा पर्वको अवसरमा शुक्रबार सुदूरपश्चिममा सार्वजनिक बिदा दिइएको छ । बिहीबार प्रदेश मन्त्रिपरिषद्को बैठकले गौराका अवसरमा प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *