गन्तव्य कृषि पर्यटन

पर्यटन व्यवसायी शाही ठाउँ चिनाउन आँपको सहारा लिँदै

‘मुडे गाउँ म्यांगो’ लाई ब्राण्डींग गरी काठमाण्डौंका पाँचतारे होटेल र नेपालमा रहेका विदेशी पर्यटकहरूबाट माग भइरहेको छ

मोहन शाही
३१ साउन २०८० १४:४७
पर्यटन व्यवसायी शाही ठाउँ चिनाउन आँपको सहारा लिँदै

(डोटी)  –  पर्यटकीय गन्तव्यका रूपमा ठाउँलाई विश्वव्यापी चिनाउने तरिका पर्यटन क्षेत्रमा अनेकौँ छन् । त्यस मध्य पर्यटन व्यवसायी अमर बहादुर शाहीले भने आफ्नो जन्मभूमिलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्धन गर्न आँप को सहारा लिएका छन् ।

शाहीको शिखर नगरपालिका वडा नं. २ मुडेगाउँ स्थित  पुर्खाको जमिनमा आँपको बगैँचा छ । सन् २०१० मा हरित सुदूरपश्चिम अभियान सञ्चालन गरेर सुदूरपश्चिम भरी एक लाख बोटबिरुवा निःशुल्क वितरण गरेका थिए । सोही क्रममा आफ्नो पुर्ख्याैली  ठाउँमा रोपेका विभिन्न प्रजातिका आँपलाई उनले ‘मुडेगाउँ म्यांगो’ ब्रान्डींग गरेका छन् । गाउँ चिनाउन ब्रान्डींग गरिएका तीनै मुडे गाउँ म्यांगोको अहिले काठमाण्डौंका तारे होटलहरुमा माग हुन थालेको छ ।

 

रैका फार्म हाउसमा घुम्न आएको स्पेन तथा काठमाण्डौंका पर्यटकहरुको टोलीलाई आँपको माला लगाएर स्वागत गर्दै पर्यटन व्यवसायी अमर बहादर शाही (बिचमा) ।

 

काठमाण्डौंमा पठाउनका लागि प्याकिङ्ग गरि तयार गरिएको मुडेगाँउ म्यांङ्गो ।

 

गत शुक्रवार मात्रै उनले ५ सय केजी आँप काठमाण्डौंमा पठाएका छन् । नेपालको सबैभन्दा महँगो मूल्यमा आँप निर्यात गरिरहेको शाहीले दाबी गरे । शाहीले काठमाण्डौंमा न्यूनतम ५ सय देखि एक हजार रुपैयाँसम्म प्रतिकिलोमा आँप बेच्दै आएका छन् । गतबर्ष उनले गाउँमै आयोजना गरेको मुडे गाउँ आँप महोत्सवमा काठमाण्डौंबाट आँप खरिद गर्न हेलिकप्टर नै आएको थियो ।

 

‘पूर्ण अर्गानीक रहेको ‘मुडे गाउँ म्यांगो’ लाई ब्राण्डींग गरी काठमाण्डौंका पाँचतारे होटेल र नेपालमा रहेका विदेशी पर्यटकहरूबाट माग भइरहेको छ’, पर्यटन व्यवसायी शाहीले भने,  ‘आँपको व्यवसाय सँगै मेरो जन्मथलोको पनि प्रवर्द्धन भइरहेकोमा खुसी छु ।’ दिपायल भन्दा ७ किलोमिटर दुरीमा रहेको मुडेगाँउ केआईसिंह राजमार्गबाट डेढ किलोमिटर टाढा पर्छ । सेती नदी सेरोफेरोको अवलोकन गर्न पाइने सो ठाउँमा दलित पुजारी रहेको प्रसिद्ध सालमुनि र भागेश्वर मन्दिर रहेका छन् । भू–स्वर्गका रूपमा रहेको खप्तड जाने पर्यटकलाई लक्षित गरी शाहीले मुडेगाउँलाइ कृषि पर्यटकीय गन्तव्य क्षेत्र बनाउन लागेका छन् ।

 

मुडेगाउँ म्यांगोले एकै पटक बजार मूल्य पाएको भने होइन । यो अवस्था सृजना गर्नका लागि उनले अनेकौँ संघर्ष पनि गरेका थिए । बगैँचामा एक हजार भन्दा बढी आँप लगाएका शाहीले गाउँमा पनि किसानहरूलाई अर्गानीक आँप खेती गर्न हौस्याएका छन् । लामो समय उनले डोटी पुख्र्यौली थलो भएका काठमाण्डौंबासीका घरघरमा गएर निः शुल्क रूपमा आँप उपहार दिए । रैका टुर्स एण्ड ट्रेक्स प्रा.लीका सञ्चालक समेत रहेका शाहीले आफ्नो सम्पर्कमा रहेका पर्यटक, उच्च पदस्थ कर्मचारी, होटेल तथा रेष्टुँरा एवम् पत्रकारहरूलाई मुडेगाँउ आँपको स्वाद नियमित चखाइरहे । ‘बल्ल काठमाण्डौंमा मुडे गाउँ आँपको अग्रिम अर्डर हुन थालेको छ’, शाहीले भने, ‘अव अर्कोबर्षबाट विदेश पनि निर्यात गर्ने योजनामा छु , आँपसँगै मेरो पुर्ख्यौली थलो पनि विदेशमा प्रचार हुनेछ ।’

रैका फार्महाउसमा आँफै आँप टिमेर रमाउदै गरेका विदेशी पर्यटकहरु ।

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले एकै बगैँचामा विभिन्न प्रजातीका  आँप रहेकाले पनि शाहीको आँप बगैचा पर्यटकीय दृष्टीले पनि महत्व राख्ने बताए । उनले सुदूरपश्चिममै शाहीको आँप बगैचा जस्तो अन्यत्र नरहेको दावी गरे । फरक फरक बास्ना, स्वाद र गुण रहेका आप भएकाले बजारमुल्य राम्रो पाइरहेको पनेरु बताउँछन् । ब्यापारिक दृष्टीले राम्रो मुल्य पाउँदै गरेकाले शाहीको बारीमा रहेका आँपका प्रजातीलाइ नर्सरीका रूपमा स्थापीत गरेर जिल्ला ब्यापी बिस्तार गर्न कृषि ज्ञान केन्द्रले योजना बनाइरहेको पनेरुले बताए । आर्थिक सहयोगका लागि समस्या नभएपनि आँपको कलमी गर्ने प्राविधीक सुदूरपश्चिममा नभएकाले नर्सरी तयार पार्न समस्या भइरहेको उनको भनाइ छ ।

हाससम्म कुनै सरकारी तथा गैरसरकारी अनुदान नलिएर आप खेती गर्दै आएका शाहीले नेपाल तथा भारतका विभिन्न ठाउँबाट आँपका बोट ल्याए बगैचा बनाएको बताउँछन् । माल्दो, अम्रपाली, बम्बै, चौसर, दसरी गरी १२ प्रजातिको आप बगैँचामा रहेका छन् । बाहिरबाट आँप ल्याएकाले धेरै थरी आँपको नाम पत्ता लगाउन नसकिएको शाही बताउँछन् ।

मुडेगाउँलाई आँप खेतीको स्रोत गाउँ बनाउन समेत शाही लागिपरेका छन् । उनले डोटी मात्र नभएर सुदूरपश्चिम भरी महँगो मूल्यमा बिक्री हुने आँपका विभिन्न प्रजातिका बोटहरू वितरण गर्न नर्सरी समेत स्थापना गर्ने योजना बनाएका छन् । ‘कृषि पर्यटन गरेर कसरी  आयआर्जन गर्न सकिन्छ भनेर केही नमुना काम गरी ठाउँलाई पर्यटकीय गन्तव्य क्षेत्र बनाउन मेरो लक्ष्य हो’, शाहीले भने, ‘यसमा सरकारी तथा गैरसरकारी क्षेत्रको पनि प्राविधिक एवम् आर्थिक सहयोगको आवश्यकता छ ।’ यद्यपि शाहीलाई अहिलेसम्म कुनै निकाय पनि सहयोग मिलेको छैन ।

 

 

शाहीकाे फार्म हाउसमा फलेको एक किलाे भन्दा बढी ताैल भएको आँप । तस्बिर ः मोहन शाही

 

 

गाउँमा उनले रैका फार्म हाउस पनि खोलेका छन् । आँपको बगैँचामा रमाउन जिल्लाका विभिन्न ठाउँबाट मानिसहरू आउने गरेका छन् । ‘आफ्नै टुर्स एण्ड ट्रेकिङ कम्पनी भएकाले विदेशीहरू पनि फार्म हाउसमा पुग्ने गरेका छन्’, शिखर नगरपालिका उच्चाकोटका हेमराज रोस्याराले भने, ‘पश्चिम नेपाल चिनाउन वाइल्ड वेस्ट नेपाल, ग्रिन फारवेष्ट तथा सेभ द टाइगर जस्ता अभियान चलाउन सफल शाहीले आफ्नो पुर्ख्यौली थलो मुडे गाउँ देश विदेशमा चिनाउन आँपलाई ब्राण्डींग गर्नु खुसीको कुरा हो ।’ अघिल्लो साता मात्र शाहीको फार्म हाउसको अवलोकन गर्ने विदेशीको टोली आएको थियो भने गत साता स्पेनका ३ जना युवाको टोली हप्ता दिन बसेर फर्केको छ ।

 

 

 

Bottom of Form

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *