सुप प्रदेशमै पहिलो नगर अस्पताल बनाउँदै दिसिनपा

मोहन शाही
२२ साउन २०८० १५:५५
सुप प्रदेशमै पहिलो नगर अस्पताल बनाउँदै दिसिनपा
डोटी– सुदूरपश्चिममै पहिलो नगर अस्पतालका रूपमा स्थापना गर्न दिपायल सिलगढी नगरपालिकाले सरोकारवालासँग सोमवार छलफल अघि बढाएको छ ।
एक करोड ९६ लाखको लागतमा बहुबर्षिय ठेक्का लगाएर नगरपालिकाले दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ स्थित प्रदेश प्रहरी तालिम केन्द्रको अगाडी रहेको नगरको जमिनमा बनाउन लागेको नगरप्रमुख बाजी सिं खड्काले जानकारी दिए ।
सोमबार स्थानीयवासी, जनप्रतिनिधि, नागरिक समाज एवम् कर्मचारीसँग गरिएको छलफल सकारात्मक रहेको नगरप्रमुखका स्वकीय सचिव नरेश खड्काले बताए । नगर अस्पताल निर्माण गर्न सङ्घीय सरकारले चालु आर्थिक वर्षका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको छ । दुइबर्षभित्र नगर अस्पतालका लागि आवश्यक भौतिक संरचना तयार गरी तेस्रो वर्षबाट सेवा सुचारु हुने नगर प्रमुख खड्काले बताए ।  अस्पतालका लागि आवश्यक जनशक्तिको दरबन्दी सङ्घीय सरकारले नै सृजना गर्ने भए पनि व्यवस्थापन पक्ष भने नगरपालिकाको दायित्वमा रहने बताइएको छ ।
जिल्ला अस्पताल रहेको नगरपालिकामा हालसम्म संघिय सरकारले नगरअस्पताल स्थापनामा सहयोग गरेको छैन । यद्यपी दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख खड्काको पहलपछि प्रदेशमै पहिलो नगरअस्पताल बन्न लागेको हो ।
लामो समय देखि बसपार्क निर्माणका लागि ०५२ सालमा खरिद गरिएको जमिन उपयोग विहीन भएपछि नगर अस्पताल स्थापनाका लागि पहल गरिएको हो । नगरपालिकाले आधुनिक बसपार्क निर्माणका लागि भने वडा नं. २ को सेती नदी छेउमा रहेको जमिन खरिद गरी प्रक्रिया अघि बढाइसकेको छ ।
अस्पताल स्थापना पछि वडा नं. १, २, ४, ४ का बासिन्दाले राहत पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *