अर्गानिक तरकारी खेती प्रबर्द्धन गर्दै के.आइ.सिंह सरकार

मोहन शाही
८ जेठ २०८० १६:२९
अर्गानिक तरकारी खेती प्रबर्द्धन गर्दै के.आइ.सिंह सरकार

डोटी । आइतबार बिहान एक हुल मानिसहरू एकाएक लेकाली भेग पीलेकाँडाको बगरमा पुगे । के.आई.सिंह गाउँपालिका वडा नं. ४ को बगरगाउँ मगरजातिका बाहुल्य रहेको बस्ती हो । चौतर्फी हराभरा, स्वच्छ हावापानी र टाढाटाढासम्म मनोरम दृष्यावलोकन हुने बगरगाउँमा जनप्रतिनिधि सहितका्े टोली देख्दा स्थानीय अलमलमा परे । के.आई.सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही मोटरसाइकलबाट ओर्लनासाथ सोझै आलुबारीमा छिरे । अध्यक्ष संगै उपाध्यक्ष मीना बिष्ट, वडाध्यक्षहरु जयलाल धामी, कृष्ण बहादुर बम, निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्प भट्ट, कृषि शाखा प्रमुख यज्ञ रावल लगायत पत्रकारहरूको टोली पनि आलुबारीमा पसे । आलुबासीम पसेको देखेर स्थानीयहरु छक्क परे । बिस्तारै स्थानीयहरु पनि आलुवारीका डिलमा जम्मा हुन थाले ।

फोटो खिच्दै जनप्रतिनिधिहरू कृषि शाखा प्रमुख यज्ञ रावल र किसानहरुसंग आलुखेतीबारे जिज्ञासा राखे । आइतबार त्यो टोलीले लेकाली भेगमा पर्ने के.आई.सिंह गाउँपालिका वडा नं. ४ को छेडे, काल्ढुंगा, बगर तथा वडा नं. ६ को पोखरा गाउँका खेतबारीहरुमा छिर्दै किसानहरूका समस्याहरू संकलन गर्न थाल्यो । काल्ढुंगामा जम्मा भएका केही किसानहरुले बारीमा सिँचाइ सुविधा नहुँदा उत्पादन घट्दै गएको गुनासो पोखे । अगुवा किसान नर बहादुर पुनमगरले तरकारी खेतीका लागि सिँचाइ नहुँदा आलु उत्पादन घट्दै गएको दुखेसो सुनाए । यता पोखराका किसान हरीलाल जोशीले उत्पादन भएको तरकारीले बजारमूल्य नपाउँदा बारीमै तरकारी कुहिन थालेको कथा सुनाए । अगुवा किसान रामभट्टले विचौलीयाका कारण उत्पादनलागत भन्दा सस्तो मुल्यमा तरकारी बजार पठाउन बाध्य रहेको बताए । केही किसानहरुले तरकारी खेती गर्ने तरिकाहरुबारे जिज्ञासा राखे भने केही किसानहरुले गाउँपालिकाबाट उपलब्ध गराइएको बिउविजनबारे चासो देखाए ।

के.आई.सिंह गाउँपालिकाले गत आर्थिक वर्षबाट वडा नं. ४, ६ र १ मा अवस्थित लेकाली क्षेत्रहरु छेडे, काल्ढुंगा, बगर, पोखरा तथा गणेशकाँडालाई पकेट क्षेत्र घोषणा गरी बिउबिजन, कृषि उपकरण तथा प्राविधिक सहयोग गर्दै आएको छ । अर्गानिक तरकारी खेतीमा जोड दिन किसानहरूलाई पालिकाले प्रोत्साहन गर्न लागिरहेको छ । अध्यक्ष शाहीले आगामी आर्थिक बर्षका लागि किसानका योजना के छन् भनेर बुझ्न आएको बताए ।  ‘यो क्षेत्रलाई अर्गानिक कृषि उत्पादन क्षेत्रका रुपमा चिनाउने मेरो भित्री चाहना हो’, अध्यक्ष शाहीले भने,  ‘त्यसका लागि पालिकामा बसेर भन्दा किसानका बारीसम्म पुगौं भनेर आएको हुँ ।’ अध्यक्ष शाहीले तरकारी ढुवानीका लागि ट्याक्टर खरिद गर्ने, बजारीकरणमा अनुदान दिने तथा सिँचाइका लागि उचित विकल्प अपनाएर अर्गानिक तरकारी खेतीका रुपमा प्रोत्साहन गर्ने किसानहरूलाई प्रतिबद्धता गरे ।

कृषि शाखा प्रमुख यज्ञ रावलका अनुसार के.आई.सिंह गाउँपालिकाले गत बर्षबाट मकै खेती तथा चालु आर्थिक वर्षबाट बेमौसमी तरकारी तथा बर्से आलुमा गाउँपालिकाले जोड दिइरहेको छ । के.आई.सिंह गाउँपालिकाको वडा नं. १, ४ र ६ का लेकाली क्षेत्रका किसानहरु बजारको रासायनिक मल, विषादी, कीटनाशक औषधीहरू प्रयोग गर्दैनन् । गतबर्ष किसानहरुले ९० क्वीन्टल मकै उत्पादन गरेको कृषि शाखा प्रमुख रावल बताउँछन् । ‘बाँदर, बदेल जस्ता जंगली जनावरले गर्दा मकै उत्पादनमा ह्रास भएको हो’, कृषि शाखा प्रमुख रावलले भने,  ‘ यद्यपि मकै उत्पादनले किसानलाई राम्रै आम्दानी दिएको हो ।’

गाउँपालिकाबाट ६ क्वीन्टल मकैबिउँ सहयोग पाएपछि छत्रेश्वर कृषि समुह र गणेशकाँडा कृषि समुहले ४० क्विन्टल मकैको बिउँ डडेल्धुरा निर्यात गर्नुका साथै अन्य मकै कुखुरापालन गरेका कृषि फर्ममा बिक्री गरेको कृषक हरिलाल जोशीले बताए । चालु आर्थिक बर्षमा ३ कृषक समुहका १ सय २६ जनालाई ८० क्वीन्टल आलु गाउँपालिकाले बितरण गरेको छ । ४ हेक्टरमा लगाइएको आलुखेती अहिलेसम्म बारीमा राम्रै भएपनि पानीको अभावमा केही उत्पादन घट्नेमा किसानहरू चिन्तीत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *