जाने होइन त सुदूरपश्चिम घुम्न ?

जीवन बिष्ट
१४ भदौ २०७९ १६:३३
जाने होइन त सुदूरपश्चिम घुम्न ?

तर, भारत हुँदै तेस्रो मुलुक भएर नेपाल आउने पर्यटकहरूको रोजाइमा यहाँका पर्यटकीय स्थलहरू भने पर्न सकेका छैनन् । सुदूरपश्चिम भएर काठमाडौं, पोखरालगायत देशका अन्य ठाउँ घुम्न जाने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।

अध्यागमन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार सन् २०१८ को नोभेम्बरसम्म पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आएका पर्यटकको संख्या सन् २०१७ को तुलनामा केही बढी छ ।

तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा कमी आए पनि भारतीय पर्यटक भने महिनामा करिब चार/पाँच सयको हाराहारीमा आउने गरेको अध्यागमन कार्यालयले जनाएको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट पनि तेस्रो मुलुकका पर्यटकको संख्या बढ्न सकेको छैन ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत वर्षको जनवरीदेखि अगस्टसम्ममा यो नाकाबाट १ हजार ८ सय ९६ जना पर्यटक भित्रिएका थिए । सन् २०१९ को सोही अवधिमा गड्डाचौकी नाकाबाट १ हजार ८ सय ६३ जना पर्यटक भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ । तर, तिनीहरूमध्ये सुदूरपश्चिम मात्रै घुमेका वा घुम्न चाहने पर्यटकको संख्या भने वृद्धि हुन सकेको छैन ।

विगतमा बाक्लै आउने भारतीय तथा भारत हुँदै सुदूरपश्चिम भित्रिने पर्यटकको संख्यामा समेत वृद्धि हुन सकेको छैन । सन् २०१८ मा जम्मा ८६ जना पर्यटकको आगमन भएको थियो । यस्तै, सन् २०१९ अगष्टसम्म त्रिनगर नाका भएर ५५ विदेशी पर्यटक भित्रिएका छन् ।

अध्यागमन कार्यालय कैलालीले दिएको तथ्यांकअनुसार यो नाका भएर सन २०१९ अगष्टसम्ममा आएको कुल पर्यटनमध्ये सबैभन्दा बढी पर्यटकअस्ट्रेलियाका छन् ।

यस वर्ष अष्ट्रेलियाका १३ पर्यटक यस नाकाबाट आएका छन् । सन् २०१८ मा कुल पर्यटकमध्ये अमेरिकाका २७ जना यो नाका भएर भित्रिएको अध्यागमन कार्यालय कैलालीका प्रमुख यादव भण्डारीले बताए ।

तर, तिनीहरूमध्ये अधिकांश पर्यटकहरू भने सुदूरपश्चिमका पर्यटकीय स्थल छोडेर पूर्वका पोखरा, लुम्बिनी र काठमाडाैं जाने गरेका छन् ।

पर्यटकीय स्थलको प्रचार प्रसारका लागि उल्लेख्य प्रयास नभएकै कारण विदेशी पर्यटकको रोजाइमा सुदूरपश्चिम पर्न नसकेको हो । यदि प्रदेशमा बाह्य पर्यटकहरु टिकाउने हो भने प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रमहरू ल्याउनुपर्ने, प्रदेशका पर्यटकस्य स्थलहरूको प्रचारप्रसारका लागि पर्चा, पम्प्लेट र विभिन्न होडिङ बोर्डहरू लगाउनुपर्ने भण्डारीले बताए ।

बाटोको असुविधा, बसोबासको उचित व्यवस्था नहुँदा र यहाँका पर्यटकीय स्थलहरूको पहिचान नहुँदा कहाँ घुम्ने भन्ने अन्याेलता हुने गरेको पर्यटकहरू बताउँछन् ।

के सुदूरपश्चिममा पर्यटकीय क्षेत्रहरू छैनन् त ?

सुदूरपश्चिममा धेरै सुन्दर र मन लोभ्याउने ठाउँहरू छन् । यद्यपि, प्रदेशका पर्यटकीय स्थलहरूलाई लक्षित गरेर कार्यक्रमहरू नल्याइँदा यहाँका पर्यटकीय स्थलहरू ओझेलमा परिरहेको स्थानीय राजेन्द्र बिष्टले बताए । सुदूरपश्चिम प्रदेश भारतीय बजारको नजिक र प्रवेशद्वारको रूपमा रहेको भए पनि यस क्षेत्रको पर्यटन जति विकसित हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।

प्रचारप्रसारको अभावका कारण यहाँका कैयौँ पर्यटकीय स्थलहरू ओझेलमा छन् । यद्यपि, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट भने आफूहरू प्रदेशको विकासका लागि गम्भीर रहेको बताउँदै योजना बनाएर प्रदेशका पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा लाग्ने बताइन् ।

प्राकृतिक पर्यटकसँगै यस प्रदेशमा धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना छ । तर, सम्बन्धित पक्षले चासो नदेखाउँदा ती क्षेत्रकाे विकास हुन सकेको छैन ।

पर्यटन क्षेत्रको विकासका लागि निजीक्षेत्रको लगानी बढाउन आवश्यक छ । योसँगै प्रदेश सरकारले पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमहरू ल्याएर, पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा लाग्ने हो भने भारत हुँदै नेपाल आउने पर्यटकहरूको रोजाइ सुदूरपश्चिम नै हुनेछ ।

सुदूरपश्चिममा यस्ता धेरै ठाउँहरू छन्, जुन ठाउँले पर्यटकहरूको मन लोभ्याउँछ । सुन्दर सुदूरपश्चिम प्रदेशमा हिमालका टाकुरादेखि पहाडका रमाइला फाँट, उपत्यका, भित्रीमधेश र तराईका हरिया फाँटहरू, हिम शृङ्खलालगायत अरु धेरैै ठाउँहरू छन् । सुदूरपश्चिम प्रदेशमा घुम्नका लागि उपयुक्त केही गन्तव्य यस्ता छन् ।

कैलाली

नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुल सुदूरपश्चिमलाई काठमाडौंसँग तराईका अन्य जिल्लासँग जोड्ने प्रमुख द्वार हो । यो पुलको लम्बाइ ५ सय मिटर र चौडाइ १४ मिटर छ । सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदी स्वादिष्ट माछासँगै र्‍याफ्टिङ आनन्दका लागि यहाँ दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।

राजकाँडा

कैलालीको लम्कीदेखि करिब १६ किलोमिटर उत्तरतर्फ मोहन्याल गाउँपालिका– ७ मा स्थित राजकाँडामा सूर्योदयको दृश्य नजिकैबाट देख्न सकिन्छ । हावापानीका दृष्टिले पनि उपयुक्त रहेको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गइरहेको छ ।

टीकापुर पार्क

स्वीट्जरल्याण्डको लक्साल शहरको नक्साअनुरुप रेखाङ्कन गरिएको टीकापुर पार्क करिब ५ विगाहमा फैलिएको छ । यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरू पाइन्छन् । यो पार्क विशेष गरी पिकनिक खान आउने पर्यटकहरूका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ । यद्यपि वि.सं २०२८ सालमा तत्कालीन राजा महेन्द्रले यहाँबाट एक महिना नेपालको राजकाज चलाएको इतिहासका कारण यसको गरिमा अझ बढेको छ । काठमाडौं–टीकापुरको दूरी ६९० किलोमिटर छ । काठमाडौंबाट टीकापुरसम्म बस चल्छन् ।

प्रकाशेश्वर महादेव मन्दिर

कैलालीको टीकापुर नगरपालिकास्थित सत्ती बजारमा रहेको प्रकाशेश्वर महादेवको मन्दिर नेपालमै प्रसिद्ध छ । पूर्वतर्फ मुख फर्किएको सबभन्दा ठूलो तथा दुर्लभ शिवलिङ्ग भएको यो मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ । यो मन्दिर टीकापुर बजारभन्दा ९ किलोमिटर दक्षिणतिर पर्छ ।

घोडाघोडी ताल

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकृत एउटा महत्त्वपूर्ण ताल हो । यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन् । करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धानलगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ । यो ताल पुग्नका लागि धनगढीबाट ६० किमी पूर्व यात्रा तय गर्नु पर्दछ । यहाँ पुग्न धनगढीबाट १ सय ५० रुपैयाँ गाडीभाडा लाग्छ ।

कैलालीको राणाकालीन दरबार

कैलाली जिल्लाको चुरे गाउँपालिकाको खैरालास्थित गर्वा दरबार सुदूरपश्चिममै एक मात्र राणाकालीन दरबार हो । यो जीर्ण अवस्थामा छ । तर, विक्रम सम्बत १९८२ सालमा निर्माण गरिएको उक्त दरबारको ऐतिहासिक महत्त्व भने कम छैन । प्राकृतिक रूपले तराई र लेकको विशेषता एउटै गाविसमा पाइने खैरालामा पनि आन्तरिक तथा बाह्य पर्यटकहरू लोभिने गरेका छन् । चौमालाबाट १८ किलोमिटर उत्तरतर्फ पर्ने यो दरबार चौमालाबाट ६ घण्टा पैदल हिँडेपछि पुगिन्छ । राणाहरुले दरबार बनाउन प्रयोग गरेको इँटा गर्भाको डाँडामा बनाएको इतिहास रहेको छ ।

तालतलैयाहरू

कैलालीमा रहेका सानाठूला गरी १ सय ९३ ताल तलैया पनि यहाँका प्रमुख आकर्षण हुन् । तिनमा पनि पूर्वपश्चिम राजमार्गको राजीपुर बजारदेखि ६ किलोमिटर दक्षिणतर्फ पर्ने कोइलाही कोइलहुवा ताल, पूर्वपश्चिम महेन्द्र राजमार्गको चौमाला बजारदेखि ७ किलोमिटर दक्षिणतर्फ पर्ने जोगनिया ताल, धनगढी बजारदेखि १२ किलोमिटर पूर्वतर्फ रहेको धनगढी उपमहानगरपालिका– १ मा रहेको मनमोहक महादेवा ताल, धनगढी बजार क्षेत्रदेखि ५ किलोमिटर पूर्वतर्फको धनगढी उपमहानगरपालिका ७ स्थित जाखौर ताल पनि आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइ बनेका छन् ।

भादा होमस्टे

थारू जीवनशैली र संस्कृतिका लागि भादा गाउँ प्रख्यात मानिएको छ । धनगढी उपमहानगरपालिका– १६ मा रहेको भादा होमस्टे गाउँ तथा थारू समुदायका जनजीवनलगायत विशेष खानेकुराका परिकारहरूले पर्यटकको मन लोभ्याउने गर्छ । धनगढीबाट बेली हुँदै भादागाउँ १७ किलोमिटर पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किलोमिटर र झिलबाट १२ किलाेमिटरमा रहेको यो गाउँ धनगढी बजारदेखि २० किलोमिटर पूर्वमा पर्छ ।

गोदावरी

कैलाली जिल्लामा रहेको गोदावरीमा पनि नेपालकै ठूलो हनुमानको मूर्ति हेर्नेहरूको घुइँचो लाग्छ । अत्तरियाभन्दा ७ किलोमिटर उत्तरतर्फ रहेको गोदावरीमा बजरंगवली हनुमानको मूर्ति छ । हनुमान मन्दिर सेवा समिति कैलालीको पहलमा मूर्तिकार प्रभुराम महराले निर्माण गरेको ५२ फिट अग्लो मूर्ति नेपालकै सबैभन्दा अग्लो मूर्ति हो । धनगढीबाट २० किलोमिटर उत्तरतर्फ गोदावरीस्थित हनुमान मूर्ति पुग्न सकिन्छ । यहाँ जान ६० रुपैयाँ भाडा लाग्ने गर्छ ।

खानीडाँडा

गोदावरीबाट २२ किलोमिटरमाथि चुरे नगरपालिकाको खाँनीडाडा प्राकृतिक रूपमा मनोरम स्थल हो । चिसो मौसममा गर्मी र गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देख्न सकिन्छ । यहाँ प्रायः गर्मी मौसममा गर्मी छल्न आन्तरिक पर्यटकहरू आउने गर्छन् । चुरे शृंखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडाबाट कात्तिक महिनामा सैपाल हिमाललाई प्रत्यक्ष रूपमा हेर्न सकिन्छ । यहाँ ब्राम्हण, क्षत्री, जनजातिको बसोबास रहेको छ । यहाँको स्थानीय परिकार त्यसमा पनि लोकल कुखुरा यहा निकै प्रचलित छ ।

यसका साथै कैलाली जिल्लामा रहेको बेहडा बाबा मन्दिर, नवदुर्गा मन्दिर, नैनादेवी भगवती मन्दिर, वनदेवी भगवती मन्दिर, रामजानकी मन्दिर, नेपालको सबैभन्दा अग्लो १ सय ८ फिट उचाइको शिवलिंग भएको शिवपुरी धाम, कम्पासेधुरा डाँडा  पनि पर्यटककाे राेजाइमा पर्ने स्थानहरू हुन् । चुरे गाउँपालिका क्षेत्रको कम्पासेधुरा डाँडाबाट कैलालीका विभिन्न स्थानहरूका साथै उत्तरतर्फका अपी, सैपाललगायतका हिमालहरूको दृश्य देख्न सकिनछ । यो स्थान धनगढीदेखि गोदावरी हुँदै उत्तरतर्फ करिब ४३ किलोमिटरमा पर्छ । महाशक्ति स्वरुपा देवी आश्रम पनि आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि घुम्न लायक ठाउँहरू हुन ।

कञ्चनपुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीव–जन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । दिउँसो ३ बजेभित्र आरक्ष प्रवेश गरेर घाम नडुब्दै बाहिरिनुपर्छ । भित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाक गरिन्छ । निकुञ्जभित्र सानाठूला धेरै फाँटा छन् ।

हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउ हात्तीसार रहेको छ । जहाँ हात्ती चढ्न पाइन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी तालहरू छन् ।

यो भित्रका रमणीय तालमा ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, शिकारीताल, सलगौडी ताल र बाबाताल हुन् । ३ सय ५ वर्गकिलोमिटरमा फैलिएको शुक्लाफाँटा आरक्षको कुल भू–भागको १० प्रतिशत सिमसारक्षेत्र छ । जुन विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानको रूपमा रहेको छ ।

१० हेक्टर क्षेत्रफलमा फैलिएको ताराताल चरासँगै मगर गोहीको बासस्थान पनि हो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष जंगल सफारीका लागि उत्कृष्ट गन्तव्यस्थल हो । काठमाडौं–महेन्द्रनगर ७ सय किमि १८ घन्टाको बस यात्रा तथा काठमाडौं–धनगढी १ घन्टा हवाई यात्रापश्चात धनगढी–महेन्द्रनगर ५७ किलोमिटरको दूरी तय गर्नुपर्छ ।

धनगढीबाट महेन्द्रनगरका लागि सार्वजनिक यातायातका साधनहरू पाइन्छन् । महेन्द्रनगर बजारबाट निकुञ्जका लागि साना सवारीसाधनहरू भाडामा लिएर जान सकिन्छ । यहाँ पुग्न ३ सय रुपैयाँ भाडा लाग्छ ।

लिंगा

कञ्चनपुर जिल्लाको बेतकोट नगरपालिकामा रहेको लिंगा पुग्न दैजीबाट करिब ५ किलोमिटर उत्तरतर्फ जानुपर्छ । शिवलिंगको स्वरुपजस्तै पहाडका डाँडा भएकाले यसलाई लिंगा भनिएको हो । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटकहरू यहाँ जाने गरेका छन् ।

बाह्रै महिना पर्यटक आउने लिङ्गामा फागुनमा शिवरात्रि र असोजमा नवरात्री मेला लाग्ने बेला झनै भीड लाग्ने गर्छ । लिंगाबाट करिब ६ किलोमिटर उत्तरतर्फ गयौं भने बेतकोट तालको अवलोकन गर्न सकिन्छ । यो ताल ठूलो क्षेत्रमा फैलिएर रहेको छ ।

बेतकोट ताल

साथै प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको बेतकोटमा पिकनिक खान आउनेहरूको पनि भीड हुन्छ । कञ्चनपुरको दैजीबाट उत्तरतर्फ पर्ने बेतकोट र लिंगाको अवलोकन गर्न जाँदा अटो रिजर्भ गरेर पर्यटकहरू जाने गर्छन् । कञ्चनपुरमा पर्ने लिंगा र बेतकोट ताल पुग्न धनगढीबाट डेढ सय रुपैयाँ भाडा लाग्छ ।

दोधारा चाँदनी

कञ्चनपुर जिल्लामा रहेको दोधारा चाँदनी पुल पनि नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । यसले नेपाल पारिका दुई ठाउँ दोधारा र चाँदनीलाई जोडेको छ । यहाँ बर्सेनि हजारौं स्थानीय र बाह्य पर्यटकहरू दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन् । यहाँ पुलको अवलोकन गर्ने र पिकनिक मनाउन आउने पर्यटकहरूको भीड हुन्छ । गर्मी मौसममा महाकालीछेउको चिसो हावाको आनन्द लिन पनि आन्तरिक पर्यटकहरू त्यहाँ जाने गर्छन् । दोधारा चाँदनी पुग्न धनगढीबाट ५५ किलोमिटर पश्चिम महेन्द्रनगर बजारसम्म साझा सवारी र त्यसपछि साना सवारी र अटोको व्यवस्था छ ।

यसबाहेक कञ्चनपुरमा रहेको सिद्धबाबाको मन्दिरमा पूर्णागिरिकाे दर्शन गरी आउने भारतीय धार्मिक पर्यटकको पनि घुइँचो लाग्छ । विष्णु मन्दिर, बैजनाथ मन्दिर, कलपटे मन्दिर, ब्रह्मदेव मन्दिर र पुल, झिलमिलिया ताल, महाराज गुरु आउनुभएको ठाउँ भम्केनी धामलगायतका पर्यटकको मनै लोभ्याउने ठाउँहरू कञ्चनपुरमा छन् ।

डडेल्धुरा

धनगढीबाट डडेल्धुरा १ सय २८ किलोमिटर पर्छ । यो ठाउँ प्रायः सबै पर्यटकहरूले रुचाएका छन् । जहाँ प्रकृतिको सुन्दर रूपसँगै ऐतिहासिक महत्त्व बोकेका थुप्रै भौतिक संरचनाको अवलोकन गर्न सकिन्छ । डडेल्धुराका प्रसिद्ध मन्दिरहरूमा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान् परशुरामको मन्दिर हुन् ।

डडेल्धुरा पुग्नेहरूको पहिलो रोजाइ उग्रतारा मन्दिर हुन्छ । यो सुदूरपश्चिमकै ठूलो शक्तिपीठ मानिन्छ । यो मन्दिर डडेल्धुरादेखि ४ किलोमिटर पश्चिमपट्टि छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर बागबजारबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतिरको अग्लो तथा रमणीय फाँटमा छ ।

अमरगढी किल्ला

डडेल्धुरामा रहेको ऐतिहासिक किल्ला हो अमरगढी किल्ला । यो किल्ला रहेको उचाई अन्दाज ६५०० फिट छ । ऐतिहासिक दृष्टिले यो किल्ला महत्वपूर्ण मानिने भएकाले यो किल्लाको अवलोकन गर्नका लागि पनि पर्यटकहरूको घुइँचो लाग्छ ।

अजयमेरूकोट

डडेल्धुराको अजयमेरू गाउँपालिकामा रहेको अजयमेरूकोट दरबारले पनि एउटा छुट्टै इतिहास बोकेको छ । यहाँ पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ । पर्यटकलाई आकर्षित गर्न र उनीहरूको सेवा सुविधा ध्यानमा राखेर स्थानीय हाटगाउँमा नै घरबास पनि सञ्चालनमा ल्याइएको छ ।

रहनसहन तथा परम्परा, चिसो वातावरण, प्राकृतिक सौन्दर्यता त्यहाँका मुख्य आकर्षण हो । डडेल्धुरा बजारबाट करिब १० किलोमिटर दक्षिण पश्चिमतर्फ यो ठाउँ पर्छ । दुई घण्टा पैदल हिँडेपछि अजयमेरूकोट दरबार पुगिन्छ । तर, हाल भने साझा सवारीसाधन पनि पाइन्छ ।

घटाल स्थान

डडेल्धुराबाट ४ किमि दक्षिणमा अमरगढी नगरपालिकामा पर्ने घटाल स्थानमा रहेको घटाल बाबाको मन्दिरको दर्शनबाट मनोकांक्षा पूरा हुने विश्वास छ । यहाँ असोज कात्तिक, दसैँ र वैशाख बिसुका बेला ठूलो मेला लाग्ने गर्छ ।

आली ताल

आलीताल गाउँपालिकामा पर्ने आली ताल र परशुराम नगरपालिकामा पर्ने पशुराम धाम पनि आन्तरिक तथा बाह्य पर्यटकहरूले रुचाएका सुन्दर ठाउँहरू हुन् । जहाँ धार्मिक महत्त्वका साथसाथै प्रकृतिको सुन्दर, रमणीय रूप पनि देख्न सकिन्छ ।

डोटी

डडेल्धुराबाट ६० किलोमिटरमा उत्तरतर्फ पर्ने डोटीमा घुम्न लायक ठाउँहरूमध्ये प्रसिद्ध तीर्थस्थलहरू हुन् । जगदम्बा शैलेश्वरी, ध्रुवेश्वर, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूला केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफा, जसलाई अखङ्गाल गुफा पनि भनिन्छ ।

र्‍याफ्टिङ

सेती नदीमा हुने र्‍याफ्टिङले धेरै आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने गर्छ ।

शैलेश्वरी मन्दिर

शैलेश्वरी माताको मन्दिर सुदूरपश्चिको डोटी जिल्लाअन्तर्गत सिलगढीमा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थलको रूपमा रहेको छ । यहाँ हरेक वर्ष जेठ र कात्तिक पूर्णिमाका दिन लक्षबहन महायज्ञ प्राचीनकालदेखि हुँदै आएको छ । यहाँ पनि धार्मिक आस्था बोकेका र प्रकृतिको सुन्दरताको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ ।

बैतडी

डडेल्धुराबाट ८३ किलोमिटरको यात्रापछि बैतडी पुग्न सकिन्छ । यहाँ रहेका प्रसिद्ध भगवतीका मन्दिरहरूमा त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ मन्दिर हुन् ।

यसमा पनि जिल्लाको तल्लो स्वराड अन्तरगत पर्ने महाकाली नदी र सुर्नया नदीको मध्यमा एउटा दीपाकारजस्तै बनेको अति सुन्दर मैदानमा अवस्थित प्रसिद्ध मेलौलीको मन्दिर धेरै पर्यटकको रोजाइ बनेको छ ।

यो प्राकृतिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक तथा हरेक दृष्टिकोणबाट उल्लेखनीय छ । मेलौली तल्लो स्वराडको मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२ कोश टाढा अर्थात् एक दिनको पैदल दूरीमा पर्छ । यो मन्दिर समुद्री सतहबाट लगभग १७ सय मिटरको उचाइमा अवस्थित छ । यहाँको हावापानी बाह्रै महिना समशितोष्ण रहन्छ । यहाँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ ।

निङ्गलासैनी

निङ्गलासैनी मन्दिर बैतडी जिल्लाको देहीमाडौंमा अवस्थित छ । निङ्गलासैनी मन्दिर सुदूरपश्चिम प्रदेशकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक वर्षको बडा दसैं र चैते दसैंमा राँगा र बोकाको बलि दिने चलन छ । यस मन्दिरमा टाढाटाढाबाट भक्तजन र पर्यटकहरू आउने गर्छन् । पाताल भूमेश्वरजस्ता धार्मिक पर्यटकीय स्थल पनि बैतडीमै पर्छन् ।

खप्तड

पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने क्षेत्र हो । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ । सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ । साभार शिलापत्रबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *