काठमाण्डौ- कांग्रेस सांसद माया राई पक्राउ परेकी छन् । उनलाई गएराति काठमाण्डौ कपनमा रहेको निवासबाटै काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले राईलाई घरबाटै पक्राउ गरेको बताउनुभयो ।
उनी स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् ।पक्राउ परेकी राईमाथि कालिमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसूरमा अनुसन्धान हुनेछ । राईविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनी २०७४ सालमा सहकारीको सहसचिव थिइन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन आरोपमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध ठगी र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले एक अर्ब १९ करोड रुपैयाँ भन्दा धेरै ठगी भएको भन्दै जाहेरी दिएका थिए ।
प्रतिक्रिया