नेपालीहरूले नै नेपाल बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने उनको भनाइ छ।
गोरखाको पालुङटार नगरपालिका १० मा चौथो मिरकोट कोटगढी महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले भने, ‘जल, जमीन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर सम्भावना बोकको देश हो नेपाल। तर एकथरि मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ। यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन सम्भव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौं। यसलाई आगामी दिनमा अझ बढाएर लैजान आवश्यक छ।’
आफूले सरकारको नेतृत्व गर्दा महत्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादको बाटोमा अघि बढाउन सफल भएको उनले दाबी गरे।
‘मैले सरकारले नेतृत्व गर्दा जलविद्युत विकासमा जे योगदान गरेँ, त्यसले यो पुस्तालाई मात्र होइन, अर्को पिंढीलाई पनि समृद्ध बनाउने खाका तयार पारेको छ। नेपाललाई लोडसेडिङमुक्त बनाउने मात्र होइन, दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात सम्झौतादेखि देशभित्र निजी क्षेत्रसँग विद्युत उत्पादनको सम्झौता मैले थालेका नमूना काम थिए,’ उनले भने।
उनले गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया थालनी गरेर उनीहरूले आर्जन गरेको रकम नेपालमा लगानी गर्ने वातावरण बनाएको पनि बताए।
‘गरे नहुने केही पनि छैन, नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो,’ अध्यक्ष दाहालले भने।
जनताले आफ्ना छोराछोरीलाई आफ्नै माटोमा केन्द्रित गर्ने गरी सोच्ने र राज्यले योजनाबद्ध पहल अघि बढाउने हो भने केही वर्षभित्र नेपाललाई सम्पन्न देश बनाउन सकिने प्रशस्त आधार रहेको उनले बताए।
गोरखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले गोरखाली जनताको विकास निर्माणको आकांक्षालाई सम्बोधन गर्नु आफ्नो प्राथमिकताको विषय हुने बताए।
छिमेकी देशको भ्रमणका क्रममा समेत आफूले गोरखालाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले चीनसँग गोरखामा एउटा कृषि औद्योगिक पार्क बनाउने समझदारी भएको बताएका थिए।
प्रतिक्रिया