काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसका अवसरमा लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्।
प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गरेको बताएका छन्। ‘लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ’ उनले भनेका छन्।
गणतन्त्र नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको उनको भनाई छ। ‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अंकित छ। संघीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो।’
उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गरेका छन्। शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्दछु ।’
प्रतिक्रिया