विश्वमा ठुलो जनसमुदायलाई समेट्ने हिन्दु धर्म हो । विश्व भरीका मानिसहरूले मान्ने विभिन्न धर्महरू अन्दाजी दश हजारको हाराहारीमा रहेको तथ्याङ्कले देखाउँदछ । जस मध्ये विश्वको ठुलो जनसङ्ख्या ओगटेका धर्महरू क्रिश्चियन ३१.५% , इस्लाम ३२.३% र हिन्दु धर्म १५% रहेको छ भने बुद्ध धर्म ७% मानिसले अँगाल्दै आएको पाइन्छ ।
संसारका झन्डै एक अर्व २० करोड मानिसहरूले हिन्दु धर्म अँगालेको पाइन्छ । विश्व भरीका राष्ट्रहरू मध्ये नेपाल एक मात्र हिन्दु राष्ट्र कहलाउँदा नेपालीहरूले आफूलाइ गौरव ठान्नु स्वाभाविक हो ।
तर हिन्दु धर्म भित्र लागेको महान् कलङ्क जातियताका आधारमा गरिने छुवाछुतको प्रथाले गर्दा नेपाल अधिराज्यभरका तथाकथित दलितहरूले भने सदा अमानवीय भेदभाव अपमानजन्य सामाजिक व्यवहारको पिडा महसुस गरिरहनु परिरहेको छ ।
जसका कारण तथाकथित दलितहरूले राष्ट्र र राष्ट्रियताको विकासका मूलधारमा समाहित हुन कठिन परिस्थितिको सामना गरी रहनु परेका धेरै उदाहरणहरू हाम्रा सामु छन् ।
के राजनैतिक क्षेत्र विकासका क्षेत्र सामाजिक धार्मिक क्षेत्रहरू व्यापारका क्षेत्र र रोजगारी समेतका क्षेत्रमा पछाडि पारिने प्रवृत्तिहरू दिनप्नतिदिन बढ्दै गएको पाइन्छ । यस्तै कारणहरूले गर्दा अदृष्यरुपमा यो समुदायलाइ यत्रतत्र गरिने विभिन्न अपमान जन्य व्यवहारहरू लोकतन्त्र पश्चात पनि संवैधानिक अधिकारहरूको पुर्णरुपमा उपभोग नभएको अवस्था ज्युँका त्यूँ छ ।
संविधान एन कानून नियमहरू अमूर्त बस्तुहरू होइनन् जो स्वतस्फुर्त रूपमा क्रियाशील हुन सक्छन् जस लाइ क्रियाशील गर्न सक्षम नेतृत्व सकारात्मक सोच र विवेकशील व्यक्तित्वको खाँचो भई रहन्छ । सिप कला कौसल मेहनत परिश्रम इमानदारिता भएको समुदाय जो सजिलै कसैको प्रभावमा छिट्टै आउने र प्रभावित हुने कमजोरी पनि रहेको पाइन्छ ।
संसार भरीका मानिसहरू सबै पाषाण युग देखि हाल सम्म आइपुग्दा विभिन्न चरणहरू पार गरी विकासको गतिमा आजको युगमा आइपुगेका हुन ।
मानिसहरूमा भौगोलिक भिन्नताका कारण भेष भुषा रहनसहन कला संस्कृति आकार प्रकारमा सोही अनुसारको भिन्नता पाइन्छ साथै सोही अनुसार चेतना र सभ्यताको विकास भएको छ । हिमाल पहाड तराइ र मरुभूमिमा रहने मानिस जीवजन्तु जलवायु वनस्पति आदी आदी फरक छन् ।
नेपालको एकीकरण काल देखि आफ्नो राज्य सञ्चालन स्वार्थका लागि मात्र दलितको श्रम र पसिना प्रयोगमा ल्याउन डर धम्कीको भरमा कामको आधारमा जात जाती विभाजन गरी जातीय भेदभावलाई झनझन जटिल बनाउने कार्यहरू भएका थिए ।
यसै सन्दर्भमा मेरा पूजनीय बुवा स्व. श्री वीर ब. परियारबाट पाएको जानकारी ( अर्ती ) अनुसार २००७ सालको जनक्रान्ति पछि डोटी जिल्लाका तथाकथित दलित समुदायहरूले यो बन्धनबाट मुक्त हुन आफ्ना बालबालिकाहरूलाई शिक्षाको उज्यालो प्रकाश तर्फ उन्मुख गराउन डोटी जिल्लाको प्राथमिक विद्यालयमा पढ्न पाउने माग राखी सङ्घर्ष गरे तर जातियताको भेदभावले ग्रसित डोटेली समाजका गुरुवर्गहरुले तत्कालिन हरिजन (तथाकथित दलित) हरूलाई पढाउन मान्नु भएन ।
त्यसपछि डोटी निवासी हरिजनहरु नारसिँह दमाई, रुपसिँ सुनार, काले सुनार, दल बहादुर सुनार लगायतका दलित नेताहरूको सक्रियतामा निजी स्रोतबाट व्यहोर्ने गरी २००७ सालको जनक्रान्ति पछि यस डोटी जिल्लामा आएको शान्तीदलको सहयोगमा श्री हरिजन प्राथमिक स्कुलको २००८ सालमा स्थापना भएको थियो ।
सो स्कुलका शिक्षकहरू सिलगढी निवासी स्व. श्री योगेन्द्र प्रसाद श्रेष्ठ र शान्ति दलका सिपाही श्री वीर बहादुर राना रहनु भएको थियो भने संस्थापक सदस्य र सञ्चालक समितिमा सभापति रुपसिँ हरिजन, सचिव काले हरिजन, कोषाध्यक्ष दल बहादुर हरिजन, सदस्यहरू धर्मे, आँखे, हरि, इन्द्रमान, मोती, कृते हरिजन समेत नारसिँह दमाई, बहादुर दमाई, कमले सार्की लगायत अन्य दलितहरूको ऐक्यबद्दता थियो ।
तत्कालिन स्कुलमा करिब ४० जना विद्यार्थीहरुले पढ्ने मौका पाउनु भएको थियो भने मेरा बुवाले पनि त्यही हरिजन प्राथमिक स्कुलमा पढ्ने मैका पाउनु भएको थियो । राणा शासनको अन्त्यको तत्कालिन समयमा सामाजिक व्यवहार तथा अन्य कुसंस्कारले जरा गाडी रहेकै अवस्थामा कुनै किसिमको परिवर्तनको आस गर्ने ठाउँ नभए तापनि उक्त समयमा रुपसिँ लगायतका हरिजन (तथाकथित दलित) हरूबाट गरिएको सामूहिक हकहित र मुक्तिका लागि गरिएको प्रयास र सङ्घर्ष स्वागत योग्य र स्रहानिय छ ।
सामाजिक भेदभाव कोही कसैले गर्न नहुने कुरा व्यवहारमा नभए तापनि २०२१ सालको मुलुकी ऐनले कानुनी मान्यता दिएपछि दलित उत्थानको सङ्घर्ष गर्ने कार्यमा दलितहरूको ध्यानाकर्षण हुन सकेन किनकि तिनताका २०२३ सालको भोकमरीले प्रभावित समुदाय दलित समुदाय नै थियो ।
यसै समयमा डोटी जिल्लाका दलितहरू छाक गुजाराको बन्दोबस्त गर्न नसकी तराइ तर्फ बसाइ सर्न थाले । समयको परिवर्तनका साथ साथै दलित बिद्यार्थीहरुले शिक्षाको विभिन्न क्षेत्रमा सफलता प्राप्त गरिरहेको कुरा हाम्रा सामु स्पष्ट छ ।
तर दमाई, कामी, सार्की, सुनार, पार्की, भूल, आदी भनिने तथाकथित थर जातजातिहरू पनि अवसर पाएमा अति उत्तम कार्य गर्न र कठिन भन्दा कठिन चुनौतीको पनि सामना गर्न सक्छन् भन्ने सङ्घर्ष गर्न नसकी चाकडी र चाप्लुसीको भरमा थर परिवर्तन गरी अन्यत्र विवाह गर्नाले दलित बुद्धिजीवीहरू दलित समुदायबाट पलायन हुनु पर्ने बाध्यताको सिकार भएका छन् ।
यसले गर्दा दलित व्यक्तित्वको पलायन हुनुको साथ साथै उल्टै दलितबाटै दलितको शोषण हुन गएको भान हुन्छ । आफ्नो सामूहिक हित र स्वार्थका लागि तथाकथित दलितहरू सङ्गठित र एकता हुनु जरुरी देखिन्छ । समाजका विभिन्न तहमा रहेका दलितहरूका बिचको आपसी भेदभावलाई अन्त्य गर्नु दलित मुक्तिको प्रमुख सफलता हो किनकि दलित शक्ति आपसी भेदभावकाकारण टुक्रिएर रहेको तथ्य सर्वविदितै छ । कलाकार शिल्पकार डकर्मी सिकर्मी स्वर्णकार जस्ता विभिन्न ज्ञान सीपले भरिपूर्ण यो समुदाय आज अपहेलित र सामाजिक अपमानजन्य दुखदायी जीवन जिउन बाध्य छ ।
मुलुकले राजतन्त्र प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रको आदर्शको अभ्यास गर्दै देश विकासमा समग्र नेपाल नेपालीलाई समेट्दा राजनीति दल विकासवादी सङ्घ संस्था राजनीति दलका विभिन्न भातृ सङ्गठन र धार्मिक सङ्घ संस्थाहरूले आआफ्नो सुविधा र पायकको हिसाबले दलित शब्दको परिभाषा नै फरक फरक अर्थमा परिभाषा गरेको पाइन्छ।
हरेक पाँच पाँच वर्षमा हुने राज्यका विभिन्न तहको आमनिर्वाचनमा दलित आरक्षण सिटका नामले दलित सिट भनी संविधानमै व्यवस्था गरिनाले झन् दलित शब्दको सङ्कुचन भएको छ । नेपाली शब्द कोषमा दलित शब्दको परिभाषा र अर्थ प्रस्ट्याउने प्रयास गरिएको छ जसको शब्दावली यस प्रकार छ –‘फग्ल्याँटै फग्ल्याँटो पारिएको दलिएको दमन गरिएको थिचिएको कुल्चिएको विध्वंस गरिएको नष्ट गरिएको’ भन्ने छ भने यो समुदाय नभए सम्म बिहानबाट बेलुका सम्मको दैनिक कार्य समेत सम्पादन गर्न हर कोहीलाई असम्भव छ ।
एउटा वृक्षमा जसरी कलिला मुना, पात, हाँगाबिँगा, जरा, फल र फुल आवश्यक छन् त्यसै गरी समाजमा पनि धनी गरिब शिल्पी मजदुर अवश्य छन् तर सबैको आआफ्नो ठाउँमा आआफ्नो महत्त्वपूर्ण भूमिका छ यति हुँदाहुँदै मानव त मानव नै हो नि कसो ? कुनै समय परिवेश र परिस्थितिमा त दलित साथिभाइहरुलाइ पशु जन्य व्यवहार गरेका कतिपय उदाहरणहरू छन् ।
विश्वमा रहेका कुनै पनि धर्मग्रन्थहरूमा जाती भेदभावका कुराहरूको उल्लेख भएको पाइँदैन र कलाकार शिल्पकार डकर्मी सिकर्मी स्वर्णकार जस्ता विभिन्न ज्ञानशीपले भरिपूर्ण यो समुदायको सिपको शोषण गर्न जातीय रूपले भिन्न भिन्न बनाइ उनीहरू आपसका बिचमा पनि विभाजन गरियो जसले श्रम र सिपको शोषण गर्न सहज होस ।
नेपालमा रहेका सम्पूर्ण दलितहरू आर्य संस्कृतिका अनुयायी र आर्यन हुन । उनीहरूले मनाउने चाडपर्व रीतिरिवाज सम्पूर्ण संस्कारहरू पवित्र हिन्दु धर्म सँग छ तर फरक यति मात्र छ कि उनीहरूलाई शिक्षाको उज्याले प्रकाशबाट वञ्चित पारियो जसले धार्मिक भाषा र लिपि सम्मको पनि ज्ञान हुन सकेन ।
धार्मिक कार्य धार्मिक अनुष्ठान आदी आदी संस्कृत भाषामा मात्र प्रयोग गर्ने परम्परा र चलन कुसंस्कारको चपेटामा यो समुदाय अझै पनि रहेको छ ।
हाम्रो नेपालको सामाजिक बनावट विभिन्न जातजाति र समुदाय मिलेर बनेको छ भने सबैको खानपान भेषभुसा करिब करिब एकैनास भएको देख्न सकिन्छ तर कहिले काहीँ मनाइने चाडपर्व. बिहाबारी भोजभतेर जस्ता अनुष्ठानहरूमा यो समुदायका सदस्यहरूलाई सकेसम्म नआइदेवस या त परम्पराका नामले छुट्टै फरक व्यवहार गर्न पाइयोस् भन्ने अव्यक्त व्यवहार महसुस हुँदा कता कता मुटु चस्स हुन्छ ।
प्रतिक्रिया