(काठमाडौं) –“कसैलाई पेट दुखे जहाज, कसैलाइ गोरेटो”– अप्रिल २७, २०२३ मा जाजरकोटको स्वास्थ्य संस्थामा जाँदै गर्दा बच्चा जन्माएकी महिलाको तस्बिर सहित संकल्प शाहले फेसबुकवालमा एक मार्मिक स्टाटस राखेर पोष्ट गरे ।
अक्टोबर २०, २०१९ मा हिमालयन टाइम्सले बाजुरा बडीमालिकाकी २२ वर्षीया फुलमाया सुनारले स्वास्थ्य संस्था जाँदै गर्दा बाटोमै बच्चा जन्माएको समाचारलाई “प्रसूतिको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा बच्चा जन्माइन्” भन्ने शीर्षकमा समाचार छाप्यो ।
तुर्माखाँद गाउँपालिका–१ राहफकी पूर्णकला नेपालीको स्थानीय स्वास्थ्य चौकीमा बच्चा जन्माउने क्रममा अत्याधिक रक्तश्रावका कारण मृत्युवरण गरिन् । “गाउँमा सुत्केरी महिलाको मृत्यू” शीर्षकमा काठमाडौं पोस्टले अक्टोबर ९, २०२१ मा कभरेज गरेको समाचारमा समयमै उपचार नपाउँदा अछामममा अझै प्रसुती अवस्थामा महिलाहरुले ज्यान गुमाइरहेका छन् भन्ने उल्लेख गरिएको थियो ।
जनवरी ७, २०२५ मा अनलाइन खबरले बझांग केदास्युं गाउँपालिका- १ की २१ वर्षीया सबिता बोहोराको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भयको समाचारलाई “बझांगमा अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भयकी महिला र बच्चाको मृत्यु” भन्ने शीर्षकमा समाचार छाप्यो ।
यी केही प्रतिनिधिमूलक घटनाहरू हुन् । जसले सयौं महिलाहरु गर्भवती तथा प्रसुती अवस्थामा नेपालमा कसरी प्रताडीत भइरहेका छन् भन्ने स्पष्ट झल्को दिन्छन् । नेपालका दुर्गम क्षेत्रका गर्भवती महिलाहरु अझैपनि स्वास्थ्य संस्थाबाहिर असुरक्षित अवस्थामा बच्चा जन्माइरहेका छन् र तीमध्ये अधिकांसले ज्यान गुमाउनुपर्ने बाध्यता छ ।
जसको प्रमुख कारण जटिलताहरुको समयमै पहिचान गर्न नसक्नु अथवा समस्यालाई सामान्य रुपमा लिएर समयैमा उपचार गराउने तर्फ नलाग्नु, आकस्मिक प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा पँहुच नहुनु, भौगालिक विकटता तथा आर्थिक सामाजिक,सांस्कृतिक एवम् परम्परागत धारणा आदि हुन्। गर्भावस्था तथा प्रसुती अवस्थामा जोखिममा रहेका यस्ता महिलाहरुको मृत्यू मुख्य तीन ढिलाईको कारण हुनेगर्छ जुन यसप्रकार छन् ।
पहिलो उपयुक्त स्वास्थ्य सेवाको आवश्यकताको लागि निर्णय गर्नमा ढिलाइ, दोस्रो उपयुक्त स्वास्थ्य संस्थामा पुग्नमा ढिलाइ र तेस्रो स्वास्थ्य संस्थामा पुगेपछि पर्याप्त स्वास्थ्य सेवा प्राप्त गर्नमा ढिलाइ । नेपाल मातृ मृत्यु अध्ययन (NMMS) २०२१ का अनुसार ५७ प्रतिशतले जटिल अवस्थाको समयमा पहिचान गर्न नसक्दा स्वास्थ्य सँस्थामा लाने वा नलाने भन्ने निर्णय गर्न ढिलाइ गरेको देखिन्छ ।
यसबाहेक, ३३ प्रतिशतले स्वास्थ्य संस्था टाढा भएर, भौगोलिक विकटता, यातायातको असुविधा, तत्काल सवारी साधनको व्यवस्था हुन नसक्नु आदि कारणले महिलालाई समयमै उपयुक्त स्वास्थ्य संस्थामा पुग्न ढिलाइ गरेको देखिन्छ भने ४० प्रतिशत मातृमृत्यु स्वास्थ्य सँस्थामा पुगेपछि पर्याप्त स्वास्थ्य सेवा प्राप्त गर्न ढिलाइका कारण हुने गरेको पाइएको छ ।
यी “तीन ढिलाइ” मध्ये अधिकांश ७४ प्रतिशत महिलाको को मृत्युमा कम्तीमा एक प्रकारको ढिलाइ भएको पाईयो भने १७ प्रतिशत महिलाले तीनवटै ढिलाइ भोगेका थिए भन्ने तथ्याँक उक्त अध्ययनले देखाउछ। यी निष्कर्षहरूले गर्भवती आमाहरूको लागि स्वास्थ्य सेवाहरूमा तत्काल सुधार गर्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ ।
ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरुको ठुलो हिस्साले स्वास्थ्य सेवामा अझै सहज पहुँच नहुने समस्याको सामना गर्दै आएको छ । यी समुदायका धेरै महिलाहरू दक्ष प्रसुती कर्मी वा आकस्मिक प्रसूति सेवाको पहुँचबाट टाढा छन् । नजिकको स्वास्थ्य संस्थामा पुग्न पनि लामो दुरीको यात्रा गर्नुपर्ने अवस्था छ । स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा प्रसुतीको समयमै हेरचाह नहुने र बच्चा जन्माउने क्रममा विभिन्न समस्याहरूको जोखिममा पर्ने गरेका छन् ।
तसर्थ नेपालमा गरिएका विभिन्न अध्ययनहरुले यसरी स्वास्थ्य सेवाको पहुँच नहुँनु, सुविधा लिन ढिलाई हुनु तथा उपचारका क्रममा पनि ज्यान जोखिममा पर्ने विभिन्न कारणहरु औंल्याका छन् ।
NMMS २०२१ का अनुसार मातृ मृत्यु हुनेमध्ये ५७ प्रतिशत स्वास्थ्य संस्थाहरुमा , २६ प्रतिशतको आफ्नै घरमा र १७ प्रतिशत महिलाको आफ्नो घरबाट स्वास्थ्य संस्थासम्म जाने क्रममा बाटोमै मृत्यु भएको छ ।
साथै, प्रतिवेदनले संकेत गर्दछ, स्वास्थ्य संस्थामा हुने ढिलाइको सबैभन्दा मुख्य कारणहरूमध्ये जटिल अवस्थामा समयमै प्रेषण नहुनु (२४%), प्रेषण गरिएको स्वास्थ्य संस्थामा हुने प्रशासनिक प्रक्रिया को कारण सेवा प्राप्त गर्न ढिलाइ हुनु(१७%), प्रेषण गर्ने स्वास्थ्य सँस्था बाट समयमै यातायातको प्रबन्ध नहुनु (१२%) र स्वास्थ्य सँस्थाहरु बीच अपर्याप्त सम्बाद हुनु (११%) साथै स्वास्थ्य सँस्थामा भर्ना पस्चात उपचारमा ढिलाईहुनु (१४%), अत्यावश्यक उपकरणको अभाब हुनु (११%), दक्ष स्वास्थ्यकर्मीको अभाव (९%), रगत ब्यबस्थापन मा ढिलाई (९%) र अत्यावश्यक औषधिको अभाव (७%) भन्ने देखिन्छ ।
अर्को समस्या भनेको महिलाहरूमा आफ्नो प्रजनन स्वास्थ्य र गर्भावस्था र प्रसवको समयमा हेरचाहको आवश्यकताको बारेमा चेतना र शिक्षाको अभाव हो । धेरै नेपाली महिलाहरू अझै पनि बच्चा जन्माउनु एक प्राकृतिक प्रक्रिया हो र कठिनाइहरू नआएसम्म उनीहरूलाई चिकित्सा उपचारको आवश्यकता पर्दैन भन्ने विश्वास गर्छन् ।
यसले समयमै समस्या पहिचान गर्न र आवश्यक स्वास्थ्य सेवाको लागि निर्णय गर्न ढिलाइ भइरहेको छ जसले मातृ र नवजात शिशु मृत्युको जोखिममा परेका छन् ।
मातृ मृत्युदरसँग सम्बन्धित आवश्यक स्वास्थ्य सेवा लिन निर्णय गर्नमा ढिलाइ जुन जन्मपूर्व गरिने तयारीमा केन्द्रित रहेर समुदायमा आधारित स्वास्थ्य शिक्षा तथा जनचेतना मूलक क्रियाकलाप बढाएर कम गर्न सकिन्छ ।
सांस्कृतिक र सामाजिक बाधाहरू, मातृ स्वास्थ्यको बारेमा चेतना र ज्ञानको कमी र स्वास्थ्य सेवाको लागतका कारण ग्रामीण नेपालका महिलाहरूले समयमै आवस्यक स्वास्थ्य सेवा पाउन ढिलाइ भइरहेको छ । मातृस्वास्थ्यको महत्व र मातृ स्वास्थ्य सेवाको उपलब्धताको बारेमा चेतना जगाउनको लागि सामुदायिक पहुँच र स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा जोडदिन आवश्यक छ ।
समुदायमा चेतना जगाउन, स्वास्थ्य आमा समूहहरु उपयुक्त माध्यम हुन् भन्ने कुरालाइ नकार्न सकिदैन तर यिनीहरु को उपयुक्त तवरले परिचालन आजको आवश्यकता हो । यद्यपि, मैले देखेको छु कि अधिकांश स्वास्थ्य आमा समूहहरू कम सक्रिय छन् र तिनीहरूमध्ये धेरैले आफ्नो मासिक बैठकमा स्वास्थ्य सम्बन्धी बिषयमा छलफल गर्नु भन्दा बचत र ऋण सम्बन्धी कामलाई प्राथमिकता दिन्छन्। त्यसैले स्वास्थ्य आमा समूहहरु पूर्ण रूपमा सक्रिय भइ कार्यान्वित भएको सुनिश्चित गर्न स्थानीय सरकारले पहल गर्नुपर्छ।
विगतको तुलनामा नेपालले आमा तथा शिशु स्वास्थ्य सेवाको पहुँच र उपयोगमा उल्लेख्य प्रगति गरेको छ । तर, महिलाको सामाजिक आर्थिक स्थिति, शिक्षाको स्तर र बसोबास गर्ने ठाउँमा आधारित असमानता कायमै छ ।
NMMS २०२१ को अनुसार प्रत्येक प्रतिलाख जीवित जन्महरूमा, मातृत्व सम्बन्धी जटिलताहरूबाट १५१ जना महिलाको मृत्यु भएको देखिन्छ जसमध्ये ३३ प्रतिशतले गर्भावस्थाको समयमा, ६ प्रतिशतको प्रसवको समयमा र ६१ प्रतिशत प्रसुतिपछिको सुक्तेरी अवस्थामा ज्यान गुमाएका छन्। विज्ञहरूका अनुसार वर्षौंदेखि, सुत्केरीपछि अत्याधिक रक्तश्राव, जसलाई प्रसवपछिको रक्तस्राव पनि भनिन्छ, र प्रि–एक्लाम्पसिया (गर्भावस्थासँग सम्बन्धित उच्च रक्तचाप) मातृ मृत्युको प्रमुख कारणका रूपमा चिनिन्छन् ।
नेपालले दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेको छ र विश्वव्यापी लक्ष्य अनुरूप नेपालले पनि प्रतिलाख जीवित जन्ममा १५१ रहेको मातृ मृत्यु अनुपातलाई घटाएर सन् २०३० सम्ममा ७० पुर्याउने प्रतिबद्धता जनाएको छ ।
यस महत्वाकांक्षी लक्ष्यमा पुग्नको लागि, नेपालले मातृ स्वास्थ्य सेवाको पहुँच, उपयोग र गुणस्तरमा गम्भीर असमानताहरूलाई सम्बोधन गर्दै, प्रति वर्ष कम्तिमा ७.५ प्रतिशतका दरले आफ्नो मातृ मृत्यु दर लाई घटाउनुपर्ने देखिन्छ। तसर्थ, रोकथाम गर्न सकिने मातृ मृत्युलाई हटाउन सेवा असमानतालाइ न्युनिकरण गर्दै, अन्तरक्षेत्रीय तथा बहुपक्षीय समन्वय र सहकार्य मार्फत मातृ स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न थप प्रयासहरू गरिनुपर्छ ।
(लेखक पन्त एक दशकभन्दा बढी समय सामाजिक विकासको क्षेत्रमा विभिन्न संस्थामा रहेर काम गरेको अनुभवी व्यक्ति हुन ।)
प्रतिक्रिया