गणेशकाँडा होम स्टे संचालन हुने (भिडियो सहित)

पाँजलो न्युज
२० पुष २०८१ १६:२३
गणेशकाँडा होम स्टे संचालन हुने (भिडियो सहित)

(डोटी)– मगर समुदायको बाहुल्य रहेको के.आई.सिंह गाउँपालिका वडा नं १ गणेशकाँडामा होमस्टे संचालनमा आउने भएको छ । शनिबार भरत बहादुर मगरको अध्यक्षतामा गठन भएको गणेशकाँडा मगर होमस्टे व्यवस्थापन समितिले सो घोषणा गरेको हो ।

मगर संस्कृतिको जर्गेना एवम स्थानीय उत्पादनको प्रर्वधन गर्ने उदेश्यले होमस्टे संचालनमा ल्याइने गणेशकाँडा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर मगरले जानकारी दिए । ‘अहिले ५ वटा घर छनोट गरेर होमस्टेलाइ सुरुवात गरेका छौं, अरु परिवारलाइ पनि बिस्तारै समेट्ने योजना छ’, अध्यक्ष मगरले बताए, ‘स्थानीयले उत्पादन गरेको कोदो, फापर, मकै, चोतो, सिस्नो लगायतको परिकार पाहुनालाइ चखाउनेछौ, मदिरा पनि स्थानीय उत्पादनकै हुन्छ ।’

अध्यक्ष मगरका अनुसार रोधी घर र मारुनी नाच समेत होमस्टेमा प्रर्दशनी गरिनेछ । मगर समुदायमा लोप हुन थालेको संस्कृति हो, मारुनी नाच । ‘रोधी पनि खेल्न सकिन्छ, लोक दोहोरी खेल्ने पनि टिम छ’, अध्यक्ष मगरले बताए ।

होमस्टे संचालन व्यवस्थापन समिति गठन भएपछि जनप्रतिनिधी, कर्मचारी तथा आन्तरिक पर्यटकहरुले होमस्टे संचालकहरुलाइ फूलमाला र अविर लगाएर बधाइ दिएका थिए ।

जिल्ला समन्वय समिति डोटीका सदस्य नरेश बहादुर खडकाले तनाव मुक्त हुन र पुर्नताजगीका लागि गणेशकाँडा होमस्टे उपयुक्त गन्तव्य रहेको बताए । उनले विगतमा पनि आफूहरु सो क्षेत्रमा घुमघामका लागि नियमित आइरहेको भएपनि होम स्टे संचालनमा आएको खबर पाएपछि बधाइ दिन गाउँमै पुगेको प्रतिकृया दिए ।

तत्कालका लागि प्रयाप्त भौतिक संरचना र सुविधाहरु दिन नसकिएपनि सरसफाइ, स्थानीय उत्पादनका परिकार एवम मनोरञ्जनका लागि ५ वटै परिवार तयारी अवस्थामा रहेको होम स्टे व्यवस्थापन समितिका सचिव निर्मल मगरले जानकारी दिए । के.आई.सिंह गाउँपालिकाको सहयोगमा ३ कोठे घरसमेत निर्माण गरिसकिएको सचिव निर्मलको भनाइ थियो ।

न्यून आयस्रोत भएका मगर समुदायले होमस्टे संचालन गरेकोमा खुसि व्यक्त गर्दै केआईसिंह गाउँपालिकाका प्रवक्ता नेत्र रावलले स्थानीयस्तरमा आर्थिक गतिविधी बढ्ने बताए । उनले होमस्टेको प्रवद्र्धनका लागि होमस्टे संचालकहरुलाई तालिम, भ्रमण एवम अन्य सामाग्रीहरुमा सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।

लेकाली क्षेत्रमा रहेको गणेशकाँडाबाट अपि हिमाल, बडीमालिकाका सेता हिमालको दृष्यावलोकन हुनुका साथै सुर्खेत तथा अछामका बस्तीहरुसमेत हेर्न पाइने स्थानीय पार्वती मगरले बताइन । बाहिरवाट थुप्रै मानिसहरु यहाँको प्राकृतिक मनोरम र हावापानीका लागि घुम्न आउने भएपनि त्यसलाई व्यावसायिक रुपमा लग्न नसकेकोमा होमस्टेको अवधारणाले पर्यटन क्षेत्रमा विकास हुने बिश्वास रहेको पार्वतीले बताइन । सदरमुकाम दिपायलबाट डेढ २ घण्टाको मोटर यात्रापछि गणेश काँडा पुगिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *