(डोटी) – मष्टो देवताको जाँत (मेला) हेरेर फर्किएका एक व्यक्ति एघार दिनबाट बेपत्ता रहेका छन् । सायल गाउँपालिका वडा नं. २ सिर्मामा कार्तिक २४ गते लागेको जाँत हेरेर फर्किएका ६३ वर्षीय टिकाराम ओली बेपत्ता भएका हुन ।
मेलाबाट फर्केर आफन्तको घरमा सुतेका व्यक्ति एकाएक बेपत्ता भएपछि आफन्त र स्थानीय बासिन्दा खोजी कार्यमा जुटेका छन् । डोटी र बझाङको सिमानामा पर्ने सो गाउँ ओलीको पुर्ख्यौली थलो हो । धनगढी उप महानगरपालिका वडा नं. २ सन्तोषतोल घर भएका ओली देवता पुज्न लामो समयपछि पुर्ख्यौली थलो आएका थिए ।
आफन्त लाल बहादुर ओलीको घर सुतेको बेला एकाएक हराउँदा स्थानीय आश्चर्य चकित छन् । सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले हराएका व्यक्तिको खोजी कार्यका लागि स्थानीय बासिन्दा, प्रहरी एवम् जनप्रतिनिधि लागिरहेको भए पनि पत्ता लाग्न नसकेको बताए । बझाङतर्फ पनि खोजी कार्य भइरहेको अध्यक्ष जोशीले जानकारी दिए ।
यद्यपि यस घटनाबारे प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी विनोद शर्मा बेखबर छन् । सुरक्षा सम्बन्धी बैठकका लागि कैलाली आएकाले आफू घटनाबारे बेखबर रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले घटनाबारे तत्कालै अनुसन्धान तीव्र पार्न निर्देशन दिने प्रतिबद्धता समेत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सँगै एसपी शर्मा पनि बैठकमा सहभागी हुन कैलाली गएका थिए । यद्यपि एसपी शर्मा डोटीमा सडक दुर्घटनाले एक जनाको मृत्यु भएपछि यातायात अवरुद्ध हुँदा मंगलबार बिहान नै मोटरसाइकलमा डोटी फर्केर अवरुद्ध सडक सुचारु गर्न सहजीकरण गरेका थिए । दिनभरि त्यहीँ तनावले यताको अन्य घटनाबारे जानकार भएन’, एसपी शर्माले भने, ‘यता कार्यालयमा जानकारी आएको हुनसक्छ, म तत्कालै घटनाबारे थप बुझेर अनुसन्धान अगाडी बढाउँछु ।’
बेपत्ता भएका आफन्त विष्णु बुढा महत्ताले केही बेर जाँत हेरेर घरमा सुतेका व्यक्ति हराएको खबरले आश्चर्य परेको बताइन । उनले कसैले देखेमा आफन्त वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन आग्रह गरेकी छन् । ‘जाँतबाट फर्केपछि आफन्त लाल बहादुर ओलीको घरभित्र सुतेका हुन’, उनले भनिन, ‘आफै कतै गएका भए अहिलेसम्म फर्किनु पर्थ्यो, खोज पडताल गर्दा पनि नभेटिएकाले खोजी कार्यमा सहयोग गरिदिन सबैलाई अपिल गर्दछु ।’
डाैड प्रहरी चौकीका इन्चार्ज धन बहादुर देउवा भने आफू कहाँ ढिलो गरी खबर आएको बताउँछन् । मौखिक रूपमा जानकारी आएको भए पनि मंसिर ३ गते लिखित जानकारी गराएपछि खोज पडताल जारी राखिएको बताए । उनका अनुसार बझाङ र डोटीका प्रहरीलाई समेत खोज पडतालमा सहयोगका लागि हुलिया सहित पत्राचार गरिसकेको बताए ।
प्रतिक्रिया