डोटी– सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिका माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध पारेका छन् ।
सोमबार साँझवाट अवरुद्ध सडक अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्दिप शाहले पीडीत पक्षसंग सहमतिका लागि केहीबेरमै जिल्ला प्रहरी कार्यालयमा वार्ता हुन थालेको जानकारी दिए ।
गत शनिवार सु.प.प्र. ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु थियो भने सोही दुर्घटनामा परी मोटरसाइकल चालक प्रकेश विक घाइते भएका थिए । मृतक तथा घाईते परिवारले क्षतिपूर्तिको मांग गर्दै के.आई.सिंह राजमार्गको शिखर नगरपालिका वडा नं. ६ सिर्खोली खण्ड अवरुद्ध गरेका छन् ।
प्रहरीले मोटरसाइकललाई ठक्कर दिएर फरार भएको भन्दै जीप चालक भरत बहादुर सिंहलाई पक्राउ गरेको छ । यद्यपी सिंहले आफूले दुर्घटना नगराएको तर जवरजस्ती दबाव दिएर प्रहरीले स्विकार्न बाध्य पारिरहेको गुनासो पोख्दै आएका छन् । प्रहरी निरिक्षक सन्दिप शाहले पक्राउ परेका सिंहलाई आज जिल्ला अदालत पेश गर्ने बताए । घटनावारे अनुसन्धान जारी रहेकाले बाहिर बताउन नमिल्ने उनको भनाइ थियो ।
राजमार्ग अवरुद्ध हुँदा डोटी, आछाम र बाजुराबाट धनगढी काठमाडौं जाने तथा तराइवाट जिल्ला भित्रिने सवारी साधन तथा यात्रुहरु बीच सयौं यात्रुहरु अलपत्र परेका छन् । दिपायलमा अलपत्र परेका यात्रुहरुले यथाशिघ्र अवरुद्ध सडक खोल्नु पर्ने भन्दै दवाव दिइरहेका छन् ।
प्रतिक्रिया