कांग्रेसले कीर्तिपुर नगर प्रमुखको टिकट भोलि मात्र टुङ्गो लगाउने

पाँजलो न्युज
३० कार्तिक २०८१ ५:५१
कांग्रेसले कीर्तिपुर नगर प्रमुखको टिकट भोलि मात्र टुङ्गो लगाउने

काठमाडौँ- सत्ता साझेदार दल नेपाली कांग्रेसले कीर्तिपुर नगर प्रमुखको उम्मेदवार भोलि शनिवार मात्र टुङ्गो लगाउने भएको छ । यसका लागि प्रदेश संसदीय बोर्डको बैठक बोलाइएको नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले रातोपाटीलाई बताए ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । तर‚ कांग्रेसले २ दिन अघिसम्म पनि चासोका साथ हेरिएको कीर्तिपुर नगर प्रमुखको टिकट टुङ्गो लगाउन सकेको छैन ।

प्रदेश सभापति बानिया भने हतारमा टिकट वितरण गर्नु राम्रो नहुने भन्दै उपयुक्त समयमा टिकट वितरण गरिने बताउँछन् ।

‘भोलिका लागि पार्टी मुख्य कार्यालय सानेपामा संसदीय बोर्डको बैठक बोलाएका छौँ । सबैको चित्त बुझाएर हामी त्यहाँबाट टिकट फाइनल गर्छौँ‚’ उनले भने‚ ‘धेरै आत्तिएर टिकट वितरण गर्दा क्षति हुन सक्छ नि । बिचार पुराएर हामी टिकट वितरणमा लागेका छौँ ।’

उपनिर्वाचनका लागि नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले ११ जना आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको थियो । सोही नाम प्रदेशसभा निर्वाचन क्षेत्र‚ क्षेत्रीय समिति‚ जिल्ला समिति हुँदै बागमती प्रदेश कार्यसमितिमा पुगेको हो ।

नगर समितिले पहिलो नम्बरमा सभापति कृष्णमान डंगोललाई सिफारिस गरेको छ । यस्तै दोस्रोमा बद्रीलाल महर्जन, तेस्रोमा हिमाल कार्की र चौथो नम्बरमा जमुना नकर्मीको नाम सिफारिस गरिएको छ । चौथो नम्बरमा सिफारिस जमुना कीर्तिपुरका निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी हुन् ।  यस्तै नगर समितिले क्रमशः संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरेको छ ।

‘हामी सबैको चित्त बुझाएर र जनचाहना पनि बुझेर टिकट वितरण गर्छौँ । प्रक्रिया पुराएर भोलि नाम फाइनल हुन्छ‚’ उनले भने ।

तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो । नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । २०७९ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाटै निर्वाचित भएका हुन् ।

गएको स्थानीय तह निर्वाचनमा उनले ९०४३ मत ल्याउँदै चुनाव जितेका थिए । उक्त निर्वाचनमा ५५०७ मतसहित नेकपा एमाले उम्मेदवार केश रत्न बज्राचार्य दोस्रो र ४०९० मत सहित नेकपा (माओवादी केन्द्र) उम्मेदवार शिव शरण महर्जन तेस्रो स्थानमा रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *