स्रष्टाहरूलाइ मायाको चिनो ‘मह र कोदो’

पाँजलो न्युज
४ असोज २०८१ २३:१७
स्रष्टाहरूलाइ मायाको चिनो ‘मह र कोदो’

(डोटी)– संविधान दिवसको अवसरमा नेपाली लेखक संघ र डोटेली साहित्य प्रतिष्ठान डोटीले संयुक्तरूपमा आयोजना गरेको डोटी साहित्य उत्सव २०८१ मा स्रष्टाहरुलाई मायाको चिनोका रुपमा कोदाको पीठो र मह उपहार दिएको छ ।

डोटीको बोगटान क्षेत्रमा उत्पादन भएको मह र जिल्ला भित्रै उत्पादन भएको कोदाको पिठो साहित्य उत्सवमा सुदूर पश्चिमका नौ वटै जिल्लाबाट आएका अतिथि स्रष्टाहरुलाई मायाको चिनोका रुपमा प्रदान गरिएको थियो ।

स्थानीय उत्पादनलाइ प्रोत्साहन गर्न मह र कोदो सुदूरपश्चिमका विभिन्न जिल्लावाट आएका पाहुनाहरूलाइ उपहारका रूपमा हस्तान्तरण गरिएको नेपाली लेखक संघका अध्यक्ष फणिन्द्र साउँदले बताए ।

डोटीको बोगटान र बडीकेदार क्षेत्रमा महको राम्रो उत्पादन हुने गर्छ । बाँझो तथा पाखो जमिनमा समेत उत्पादन हुने कोदो स्वास्थ्यका लागि पोषिलो भएपनि धेरैले खान रूचाउँदैनन । तर पछिल्लो समय शहरी क्षेत्रमा कोदोको विभिन्न परिकार बनाएर महंगो मुल्यमा विक्रि गरिदै आएको छ । कोसेली घर संचालक विजयराज ऒझा काठमाण्डौं, नेपालगञ्ज, धनगढी लगायतका शहरवाट प्याकिंग गरिएको कोदोको पिठो माग हुन थालेको बताउँछन्।

उक्त मायाको चिनो खप्तड एग्रो ग्रुप प्रालिद्धारा सञ्चालित कोसेली घरले उपलब्ध गराएको थियो । पछिल्लो समयमा खप्तड एग्रो ग्रुप प्रालिले रैथाने बालिको संकलन, संरक्षण,उत्पादन र बजारीकरण गरिरहेको छ ।

डोटी साहित्य उत्सवमा स्थानीय सरकारका प्रमुख एवम् दर्जनौ स्रष्टा, लेखक तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

साहित्य उत्सवमा सुदूर पश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि एन जोशी प्रमुख अतिथि रहेका थिए भने लेखक संघ, डोटीका अध्यक्ष फणीन्द्र साउँदको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *