डल्लो बजेट राखेको भन्दै बोगटान फूडसिलमा गाउँ सभा बहिष्कार

पाँजलो न्युज
२५ असार २०८१ १६:२१
डल्लो बजेट राखेको भन्दै बोगटान फूडसिलमा गाउँ सभा बहिष्कार

(डोटी)– बोगटान फूडसिल गाउँपालिकाको साेमवार सम्पन्न १६ औँ गाउँ सभा बहिष्कार गरिएको छ । नेपाली काँग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष बिष्ना देउवा बमसहित १२ जना जनप्रतिनिधिले गाउँ सभा बहिष्कार गरेका हुन ।

आर्थिक वर्ष ०८१।०८२ का लागि विनियोजित बजेटप्रति आपत्ति जनाउँदै बहिष्कारमा उत्रेको उपाध्यक्ष बमले बताइन् । ‘योजनाहरूको शीर्षक सहित बजेट विनियोजन हुनुपर्छ भन्दा भन्दै जबरजस्ती डल्लो बजेट राखेर पारित गरियो’, उपाध्यक्ष बमले भनिन, ‘अहिले डल्लो बजेट राख्ने, पछि आफू अनुकूल खर्च गर्ने गलत नजिर बसाल्दै आएका अध्यक्षले हाम्रो असहमतिका बिच बजेट पारित गर्नु भएको छ ।’

यस अघिका दुई आर्थिक वर्ष यसै गरी डल्लो बजेट राखेर पारित गर्दा विकृति र मनोमानी बढेकाले यसबर्ष सुधार गरौँ भन्दा अध्यक्षले गैर जिम्मेवारपना प्रदर्शन गरेको आरोप उपाध्यक्ष बमको छ ।
बोगटान फूडसिल गाउँपालिकामा रोचक के छ भने यस अघिका दुई आर्थिक वर्षमा अध्यक्ष गड्सिलाले नेकपा एमालेको विरोधका बिच काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुको समर्थनमा पारित गरेका थिए भने यस पटक नेकपा एमालेको समर्थनमा पारित गरेका छन् ।

१५ सदस्यीय कार्यपालिकामा काँग्रेसबाट निर्वाचित ७ जना छन् भने माओवादी र एमालेबाट निर्वाचित ८ सदस्य छन् । ‘नीति तथा कार्यक्रम ल्याउनु पूर्व नै कार्यपालिका बैठकमै हामीले वडा, शाखा देखि पालिका स्तरीय योजनाहरू उल्लेख गरेर बजेट बनाउन माग राखेका थियौँ’, वडा नं. २ का वडाध्यक्ष भरत बहादुर बमले भने, ‘अध्यक्ष ज्यूले नीति तथा कार्यक्रमपछि छलफल गरेर बजेट आउँछ भन्ने आश्वासन दिएपछि मात्र असार १० गते गाउँ सभामा सहभागी भएका थियौँ ।’

असार १० गते अध्यक्ष लगायतको टिमले तयार पारेको डल्लो बजेट उपाध्यक्ष बमले पेस गरेकी थिइन । तर अध्यक्ष कमल गडसिलाले असार १० मा ल्याएको सोही डल्लो बजेट कार्यपालिकामा पारित गरेर असार २४ गते गाउँसभावाट अनुमोदन गरेको वडाध्यक्ष बमले आरोप लगाए । बम काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

पालिका अध्यक्ष गड्सिलाले गाउँ सभामा बोल्न समेत नदिएको आरोप उनको छ । माइन्यूटमा हस्ताक्षर गरे मात्र समय पाइने भन्दै अध्यक्ष गडसिलाले बोल्नबाट वञ्चित गराएको बम बताउँछन् ।

गाउँ सभामा ११ सदस्य सहित अल्पमतमा रहेका अध्यक्ष कमल गडसिलाले एमालेका सदस्यहरूको समर्थन लिएका थिए । साेमबार २० सदस्यको हस्ताक्षर गराएर डल्लो बजेट अनुमोदन गरिएको थियो ।

बजेटमा वडा, शाखा तथा क्षेत्रहरूले पाउने बजेटको सिलिङ्गमात्र छ । ‘वडालाई बजेट नै नदिएको भन्ने होइन, पालिकाले दिएको सिलिङभित्र वडाका योजना आफैले बनाउने हो’, वडा नं. १ का वडाध्यक्ष खेम बहादुर मगरले भने, ‘यस अघिका दुई आर्थिक वर्ष यसै गरी पारित भइआएकाले हामीले समर्थन गरेका हौँ ।’ उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन ।

‘सुरु देखि नै सिस्टममा बसेर बजेट विनियोजन गर्नुपर्छ भनेर गत वर्ष विरोध गर्दागर्दै पनि अध्यक्ष, उपाध्यक्ष दुवैको सहमतिमा डल्लो बजेट पारित भयो’, वडाध्यक्ष मगरले भने, ‘यस पटक उहाँहरूको के स्वार्थ बाझियो हामीलाई थाहा भएन तर सिस्टममा ल्याउन उहाँहरू एकजुट हुन जरुरी छ ।’

गाउँपालिका अध्यक्ष गडसिलाको मोबाइलमा पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

बोगटान फूडसिल गाउँपालिकाले ४४ करोड २४ लाख बराबरको बजेट पारित गरेको छ । जसमा २ करोड ४ लाख वडालाई, सुशासन तथा संस्थागत विकासका लागि सात करोड पाँच लाख, बन तथा वातावरणका लागि २५ लाख ५० हजार, पूर्वाधार विकासका लागि ३ करोड ७० लाख, आर्थिक विकास तर्फ एक करोड ६८ लाख १५ हजार, सामाजिक विकासतर्फ ४ करोड १७ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *