कक्षा १२ को पिसिएलको परीक्षा सकिनेबित्तिकै कोही साथीहरू नेपालमै बिएस्सी नर्सिंग को तयारी गर्न लागे भने कोहि पढ्न विदेश जाने भए। म दोधारमा थिएँ। मलाई विदेश जान्छु भन्ने रहर जाग्यो तर घर भन्ने हिम्मत नै आएन।
घरकी जेठि छोरी, सबैकी प्यारी। कसैले सहमति जनाउनु हुन्छ मेरो कुरामा जस्तो लागेन। पहिले भन्नै डर लाग्यो तर नभनी हुँदैन थियो। मैले हिम्मत गरेर मेरो बाहिर पढ्न जाने रहर सुनाएँ। केही दिन त सबैले सुनेको नसुनैजस्तै गर्नुभयो तर मैले मेरो ढिपी नछाडेपछि मन नलागी-नलागी ‘के-के गर्न पर्छ भन् न त, गरौंला’ भन्नुभयो। म तयारी गर्न थालेँ, अस्ट्रेलियाको भिसा आयो। घरमा सुनाएँ। बोलीमा बाबा-ममीको आँसु भरिएको आवाज मात्र सुनेँ। खुसीका आँसु कम, छोरी टाढा जान्छे अब भन्ने पीर बढी थियो सायद।मेरो यो निर्णयप्रति सायद कोही पनि खुसी हुनुहुन्न थियो। तर मेरो खुसीको लागि सबै खुसी भएको अभिनय गर्नु भयो। मैले त्यहीँ अभिनयको सहाराले अस्ट्रेलिया आएँ।
एउटा सपनामा देखेको देश, मेरो सपना पूरा गराउने छ भनेर रोजेको देश। आफ्नो खुट्टामा उभाउने छ, आत्मबल बढाउने छ भनेको देश। घर सबैलाई दुखी बनाएर मेरो खुसी खोज्न आएको देश।तर यहाँ फरक थियो परिवेश। न मैले सोचेको कलेज पाएँ, न सोचेको काम, न बस्ने ठाउँ नै। सरासर भन्दा मैले सोचेको कुरा पाएको भनेको म अस्ट्रेलिया छु भन्ने नाम मात्र। बाबाआमा पहिलो कुरा त यहाँ आएपछि पढ्न आउने भनेको भन्नलाई मात्र रहेछ, प्राथमिकता पहिले कामलाई दिइने रहेछ जसले गर्दा दैनिकी सहज होस। मैले पनि दैनिकी सहज बनाउन खोजेँ। घरकी जेठि छोरी, यति मायाले हुर्किएकी म यहाँ आएपछि थाहा भयो बाबा काम के हो? त्यो दाम के हो? नाम त अझै बुझेकी छैन मैले। मलाई यहाँ आएको पहिलो एक वर्ष त मेरो जिन्दगीको गति भेटाउनै गाह्रो पर्यो। म मेरो दैनिकी नै बताउन सक्दिनथेँ।
कति रात यी अनिदा आँखाले ममीको न्यानो काख खोजे, कति दिन काम र कलेजलाई सँगै लैजान नसक्दा बाबाको हिम्मत र साथ खोजेँ। तर सपना सजाएको मैले थिएँ। जति नै हिम्म्मत हारे पनि घर सुनाउन सकिनँ कहिलै। यहाँ सबै देखावटी चल्थ्यो। मैले नि त्यहीँ अपनाएँ। रातभरि रोएर सुन्निएका आँखामा बिहान गाजल लगाएर चिटिक्क पारेर फोटो हाल्दिन्थेँ। देखावटी नै सही, सबै चलिरह्यो। बल्ल-बल्ल दोस्रो वर्ष सकिँदा यहाँ आएको किन हो भन्ने कुरालाई भेटाउन सक्ने भएँ। अब कसरी सकिने रहेछ यहाँ, गर्ने के हो, देखाउने के हो, भन्ने के हो, नभन्ने के हो, यहाँको दुख केलाई भन्ने, सुख केलाई? म को हुँ, साथीभाइ के हुन्, को नजिक रहेछ, को टाढा रहेछ? यी कुराका उत्तर अब लेख्न सक्ने भएँ।
यो बीचमा मलाई मेरो हिम्मतमा थोरै पनि कमी आउँछ कि भनेर हरेक दिन मेरो बोलीमा मेरो हालखबर बुझ्ने मेरो बाबाप्रति म एकदमै आभारी छु। ती आमा जो यहाँ मलाई रुघा मात्र लागेको बेला पनि ‘सपना राम्रो देखिनँ, सन्चै त छेस्?’ भनेर सम्झिने आमाप्रति करोड माया। म अचम्म पर्थेँ बेलाबेला। आखिर यी दुई मेरो साथ नभैदिएको भए म कहाँ हुन्थेँ? यहाँका हरेक कुराले मलाई घरको याद दिलाउथ्यो। मेरा साथीहरू कति नेपालमै थिए, कति मजस्तै घर छोडी हिँडेका थिए। सबैको फेसबुक पोस्ट हेर्दा म मात्र कतै अड्किएछु जस्तो लाग्ने। सबै केही न केही गरिसके, म अझै कता छु कता जस्तो लाग्ने। यहाँ आएदेखि आफ्नो खुट्टामा उभिन सिकेँ। मेरो यहाँ ५ वर्ष सकिँदासम्म उता नेपालमा मेरा साथीहरूले ग्र्याजुएसनको फोटो हालिसकेका थिए। मलाई यहाँ आएदेखिको एउटा सपना थियो, ग्र्याजुएसनमा ममीबाबालाई बोलाउने तर विविध कारणवश म असमर्थ भए।
यहीँ आएदेखि कति साथीहरू छुटे, कति आफन्त, कतिले घमण्डी भइछे भने। कतिले पैसाले मात्तिएकी हो भने तर यी मेरा बाबाममीले कहिल्यै केही कुरामा खोट लगाउनु भएन। म आफै बरु कुनै बेला घरबाट फोन आउँदा झिँझिएर उठाइनँ, बोल्दा बोल्दै रिसाएर फोन काटिदिन्थेँ। कहिलेकाहीँ मन भारी हुन्थ्यो, बोल्न मन लाग्दैनथ्यो। थाकेको शरीरले विस्तराकै साथ खोज्थ्यो। त्यो बेलाको मेरो हरेक कुरालाई माफ गर्दिनु होला। ममीबाबा हजुरहरूले मलाई साथ नदिएको भए आज यो छोरी ग्र्याजुएसनको टोपी लगाउन असमर्थ हुन्थेँ। मेरा जस्तोसुकै गल्ती, जस्तोसुकै मेरो प्रगती/दुर्गती, मेरो रिस, मेरो खुसी हरेक कुरामा भगवान जस्तै गरी मेरो वरिपरि आशीर्वाद दिइरहनु भयो। त्यसको गुण म कहिलै तिर्न गर्न सक्ने छैन। यी शब्दहरू बाआमालाई लेखेका धन्यवादका शब्द जस्तै लाग्लान् तर यो छोरी बाबाआमालाई धन्यवाद दिन सक्ने हैसियतकी छैने।यी शब्द मैले न कहिलै फोनमा भन्न सकेँ न कतै राख्न सकेँ। कतै पोख्नु थियो, कुनै बेला भन्नु थियो। एउटा सपना थियो, एउटा रहर थियो, कतै लेखुँ, कसैले देखून् भन्ने थियो। आज यी सबै शब्द-शब्द मेरा ममी-बाबालाई समर्पित ।
हरेक जुनी हजुरहरूको त्यही साथ र काखमा जन्मिन पाउँ। आजसम्म मेरो खुट्टालाई सही बाटोमा हिँडाउन लागि पर्नु भएको मेरो ममी-बाबालाई जिन्दगीभर मेरो सहारामा हिँडाउन सकुँ।जीवनको यात्रा त चलि नै रहन्छ, धैरै अझै गर्नै बाँकी छ। बाबा-ममी, हजुरहरूको मुहारमा अनगिन्ती खुसीका रंगहरू भर्नै बाँकी छ। मेरा प्राण प्रिय बहिनिहरू अनि प्यारो भाइलाई धैरै माया अनि सम्झना ।
(लेखक दि.सि.न.पा-०३, डोटीका स्थाइ बासिन्दा हुनुहुन्छ ।)
प्रतिक्रिया