समावेशी शिक्षामा चासो दिन आग्रह

पाँजलो न्युज
४ फागुन २०८० ५:२१
समावेशी शिक्षामा चासो दिन आग्रह

डोटी– अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँच पुर्‍याउन सरोकारवालाहरूले चासो राख्नु पर्नेमा जोड दिइएको छ । बिहीबार सिलगढीमा सम्पन्न गुणस्तरीय समावेशी शिक्षा सम्बन्धी आयोजना गरिएको कार्यशाला गोष्ठीमा सो कुरामा जोड दिइएको हो । सुदूरपश्चिम विश्व विद्यालयको विशेष आवश्यकता शिक्षा शाखा प्रमुख डा. यज्ञराज पाण्डेयले सुदूरपश्चिममा मात्रै ७० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू रहेपनि विद्यालयको पहुँचभन्दा बाहिर धेरै रहेको बताए ।  उनले अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे सरकारी पक्ष अनभिज्ञ रहेको समेत आरोप लगाए । ‘९ जिल्लाका ८८ पालिका र सुदूरपश्चिम प्रदेश सरकारमध्ये कसैसंग पनि अपाङ्गता भएका व्यक्तिहरूबारे सरकारी तथ्यांक नहुनु दुखद हो’, डा. पाण्डेयले भने, ‘यसबारे सरोकारवालाले चासो दिन जरुरी छ ।’ 

सामुदायिक विकास केन्द्र (सिडिसी)वल्र्ड भिजन इन्टरनेशन नेपालले आयोजना गरेको सो कार्यशाला गोष्ठीमा दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिका र पूर्वीचौकी गाउँपालिकाका जनप्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेका थिए । डोटीमा सिडिसी डोटीले डोटीले सञ्चालन गरिरहेको समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रमका असल अभ्यास तथा सिकाइअनुसार समीक्षा गर्दै सुदूरपश्चिम विश्व विद्यालयका शिक्षा संकायका सहायक डिन डा. मदन सिं देउपाले सरकारी तहबाट पनि समावेश शिक्षा नितीका लागि चासो दिनु पर्नेमा जोड दिएका थिए ।
कार्यशालाका सहभागीहरूले पढाइ शिविर, कथा वाचन , शिक्षक
विद्यार्थी तथा अभिभावकहरूको सशक्तीकरण , शैक्षिक सामाग्रीहरूको उपलब्धता तथा अपाङ्गमैत्री संरचना निर्माणमा समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रमबाट भएको सहयोगले शैक्षिक सुधार भएको बताएका थिए ।  

पूर्वीचौकी गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायले सरोकारवालाहरूको राय सुझाव लिएर समावेशी शिक्षा निती निर्माणका लागि तयार रहेको प्रतिवद्धता गरे । अहिलेको शिक्षा नितीले विद्यार्थीहरू बाहिर निर्यात भइरहेको बताउँदै अध्यक्ष उपाध्यायले अपाङ्गता भएका विद्यार्थीहरूको लागि बजेट बिनियोजन देखि निती निर्माणमा आफू सकारात्मक रहेको बताए । 

सायल गाउँपालिका अध्यक्ष धर्म जोशीले अपाङ्गता भएका विद्यार्थीहरूका लागि स्रोत कक्षा तथा विशेष शिक्षाका लागि सबै स्थानीयतहहरु मिलेर अघि बढ्नु पर्ने बताए । उनले सिडिसी डोटीद्धारा सञ्चालित परियोजनाबाट समावेशी शिक्षामा केही सहयोग पुगेको भएपनि स्थानीय तहहरूले समेत त्यसमा हातेमालो गर्न जरुरी रहेको औंल्याए । 

आदर्श गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले समावेशी शिक्षाका लागि उपयुक्त सवालहरू कार्यशालामा उठान भएको उल्लेख गर्दै सीमित स्रोतसाधनका बाबजुद पनि आफूहरू काम गर्न इच्छुक रहेको बताइन् ।
सिडिसी डोटीकी अध्यक्ष निर्मला रोस्याराले आगामी दिनमा समावेशी शिक्षाका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता गरिन । कार्यशालामा सक्रियतापूर्वक सहभागि भएर आवश्यक सुझाव सल्लाह दिएको खुसी व्यक्त गर्दै समाज परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट अग्रसर हुनुपर्ने सुझाव दिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *