गुणस्तरीय शिक्षाका लागि शैक्षिक बहस गरिने

पाँजलो न्युज
२ फागुन २०८० १५:५५
गुणस्तरीय शिक्षाका लागि शैक्षिक बहस गरिने

 (डोटी)– गुणस्तरीय शिक्षा खस्कदै जानुका मुख्य सवालहरुको पहिचानका लागि अव डोटीमा शैक्षिक बहस सुरु हुने भएको छ । मंगलबार दिपायलमा भएको विद्यार्थी, अभिभावक, शिक्षक, प्रधानाध्यपक लगायतको भेलाले शैक्षिक बहस थाल्ने निर्णय गरेको हो । सो भेलाले शिक्षकहरूको पेशागत छाता संगठन नेपाल शिक्षक महासंघलाई बहसका लागि जिम्मेवारी सुम्पेको छ ।

महासंघका जिल्ला अध्यक्ष पूरन बहादुर खड्काले तत्कालै गुणस्तर खस्कनुका सवालहरुको पहिचानका लागि विभिन्न पेशागत संगठनसंग यथाशिघ्र छलफल गरेर बहस अघि सारिने बताए । अध्यक्ष खड्काले गुणस्तरीय शिक्षाका लागि विभिन्न चरणका बहसबाट प्राप्त निचोडको आधारमा सूचकहरु तयार पारी सो कार्यान्वयनका लागि जनप्रतिनिधीहरुलाई दवाब दिने योजना सुनाए ।

मंगलबार दिपायल स्थित बर्षा होटलमा विभिन्न पालिकाबाट सूदरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव गणेश बहादुर सिंहसंग गुणस्तरीय शिक्षा बारे आयोजीत अन्र्तक्रिया कार्यक्रममा शिक्षकहरुले सरकारी निती नै अपुरो र समतामूलक नभएको, बजेट विनियोजनको प्रकृयाले व्यक्तिलाई पोष्ने गरेको, चरम राजनितीले सबै बर्ग विभाजीत भएकोबारे बहस भएको थियो । सचिव सिंहले पछिल्लो समय ८० प्रतिशत विद्यालय र जनप्रतिनिधीबाट भौतिक संरचना र २० प्रतिशतले मात्र शैक्षिक सिकाइका सामाग्रीहरुको माग भइरहेको बताए । डिजीटल प्रविधीको तिव्र विकास भइरहेका बेला अझै पनि भौतिक संरचनाकै मात्र माग गरेर शिक्षामा गुणस्तर आउँने कल्पना गर्न नहुने तर्क गरे । यथाशिघ्र शैक्षिक बहसको थालनी गरेर सबै क्षेत्रका कमजोरी सुधार्न लाग्नुपर्ने सचिव सिंहको भनाइ थियो ।

सामुदायिक विकास केन्द्र (सिडिसी) र वर्ल्ड  भिजन इन्टरनेशल नेपालको सहजीकरणमा आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि शिक्षक देखि जनप्रतिनिधीसम्मको साझा बुझाइ बनाउन अभियानकै रुपमा लैजानु पर्ने बताईएको थियो ।

शिक्षामा स्पष्ट भिजनका साथ आवश्यक वजेटका लागी अभिरुची नदेखाएकाले स्थानीय तहका जनप्रतिनिधीहरुलाइ शिक्षामैत्री बातावरणका लागि मोटिभेट गर्न पनि बहसको सुरुवात गर्नुपर्ने कुरा उठेको थियो । सिडिसीका निवर्तमान अध्यक्ष हेमराज जोशीले सो बहसका लागि ढिला गर्न नहुने तर्क गरे । शिक्षक महासंघले सो बहसका लागि जिम्मेवारी लिए आफूहरु सहयोगका लागि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
‘हामी सबैका कमीकमजोरी छन्, तर सबैले अरुको मात्र दोष देखारहेका छौं’ केदारेश्वर माविका प्रधानाध्यापक गगन सिं कार्कीले भने, ‘ति सबैका कमीकमजोरीको महसुसीकरण हुने गरि शैक्षिक बहस थाल्न अतिआवश्यक भइसकेको छ ।’
सरस्वती माविका प्रधानाध्यापक मिन राणाले सर्वसाधरणका छोरीछोरी निशुल्क पढ्न नपाइरहेका बेला सरकारले नै आवासीय सुविधा सहित निजामती विद्यालय, शहिद स्मृती विद्यालय स्थापना गरेर विभेद गरिरहेको आरोप लगाए । समान रुपमा विद्यालयहरुको संरचना, शैक्षिक सामाग्री माथि लगानी नहुनु नै मुख्य कारणका रुपमा दर्शाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *