स्थानीयको अवरोध पछि ५ ट्रक अवैध काठ नियन्त्रणमा

मोहन शाही
११ माघ २०८० १५:४९
स्थानीयको अवरोध पछि ५ ट्रक अवैध काठ नियन्त्रणमा

डोटी–डोटीको दक्षिण क्षेत्रबाट अवैधरुपमा निकासी भइरहेको सालको काठ स्थानीयको बिरोध पछि नियन्त्रणमा लिइएको छ । बडीकेदार गाउँपालिका वडा नं. २ स्थित खरहरबाट सालको गोलिया सहित लोड भएको ५ वटा ट्रकको काठ नियन्त्रणमा लिइएको हो ।

बडीकेदार गाउँपालिका वडा नं. २ स्थित चन्द्रमुखी सामुदायिक बनका पदाधिकारी, इलाका बन कार्यालय विपीनगरका कर्मचारी र ठेकेदारको मिलेमतोमा अवैध रुपमा काठ निकासी भइरहेको थाहा पाएपछि स्थानीयले बिरोध गरेका थिए । ३ दिनअघिबाट सो काठ ट्रकमा लोड भइ बिहीबार निकासी हुन थालेपछि बिरोध गरिएको स्थानीय केशव बम ठकुरीले बताए ।

स्थानीयको बिरोध पछि बन कार्यालयका कर्मचारीहरुको निगरानीमा लोड भएको काठ खरहरमै झारिएको छ । बन डिभिजन कार्यालय डोटीका बन अधिकृत रामचन्द्र कँडेलले अवैध काठ निकासी भइरहेको खबर पाएपछि कर्मचारी खटाएर सत्यतथ्य छानविन भइरहेको बताए । उनले यथार्त छानविन गर्न काठ सोहीक्षेत्रमा झारिएको जानकारी दिए । ‘केही काठ सामुदायिक बनबाट लिलामी भएर ठेकेदारले किनेको काठ लग्ने क्रममा केही अवैध काठ निकासी भइरहेको सुचना आयो’, बन अधिकृत कँडेलले भने, ‘कति वैध हो कती अवैध हो छानविन पछि थाहा हुन्छ ।’

यद्यपी अवैध काठ निकासीमा संलग्न भएका ट्रक नियन्त्रणमा लिनुको सट्टा बनका कर्मचारीले काठमात्र रोक्दा भने कर्मचारीहरुको संलग्नतामा आशंका बढेको छ । ना ८ ख ३७७७, ना ६ ख २६१४ र सुप प्र ०१–००१ ख २७६९ , से १ ख १५७४ नम्बरका ४ वटा ट्रक र १ वटा नम्बर खुल्न नसकेका ट्रक पक्राउ परेका हुन् । ५ वटा ट्रक मध्य एउटा ट्रकको काठ झारेर बनका कर्मचारीले छाडिदिएका छन् । सो ट्रक अर्को भौसेनी सामुदायिक बनको काठ निकासीका लागि लोड गर्न गरिरहेको स्रोतले बतायो । वडीकेदार गाउँपालिका वडा नं. २ स्थित ३ वटा सामुदायिक बनबाट काठ निकासी भइरहेको छ ।

फरेष्टर दिनेश मल्लले स्वयम् काठ झारेर खाली ट्रक अन्यत्र पठाएको आरोप स्थानीय केशब बम ठकुरीले लगाएका छन् । ‘अवैध काठ निकासीमा संलग्न ट्रक सहित नियन्त्रणमा लिनुको साटो अर्को सामुदायिक बनका काठ ओसार्न बनकै कर्मचारी लागेका छन्’, स्थानीय युवा बम ठकुरीले भने, ‘सत्यतथ्य छानविन गर्नुको साटो उल्टै बनकै कर्मचारी अवैध कामलाई प्रोत्साहन गर्न लागेको देख्दा अचम्म लागेको छ ।’ फरेष्टर मल्लसंग पटक पटक फोन सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।

फरेष्टर मल्लले वन कर्मचारीको रोहबरमा काठ ट्रकमा लोड गरि ठेकेदारले लैजान खोजेकाले ट्रकसहित काठ लोड गरिएको जानकारी दिए । यद्पी उनले चन्द्रमुखि सामुदायिक बनबाट ३ वटा ट्रकमा मात्र लोड गरि ढुवानी गरिरहेको दाबी गरेका छन् । अर्को बीरबेताल सामुदायिक बनको वैध काठ निकासी एकै ठाउँबाट भइरहेकाले स्थानीयलाइ चन्द्रमुखि बनबाट ५ वटै ट्रकको अवैध काठ भएको भ्रम परेको बताए ।

ठेकेदारले विभिन्न ठाउँबाट अवैध काठ संकलन गरी निकासी गर्न खोजेका थिए । बन डिभिजन कार्यालय डोटीका सूचना अधिकारी लक्ष्मीराज जोशीले बडीकेदार गाउँपालिका वडा नं. २ स्थित चन्द्रमुखी सामुदायिक बनलाई ०८० असारमा २ हजार ४ क्यूफिट सालको काठ बिक्रीका लागि छुटपुर्जी दिएको जानकारी दिए । सामुदायिक बनले सो काठ धनगढी कैलाली स्थित कैलपाल काष्ठ सः मिललाई लिलामी प्रकृयाबाट बिक्री गरेको थियो । २१ दिनभित्र काठ उठाउने अनुमती पाएको ठेकेदारले समयमै काठ उठाउन सकेको थिएन ।

पुसको अन्तिम साता पुनः ७ दिनको म्याद राखेर काठ उठाउने माग गर्दै आवेदन आएपनि बन डिभिजन कार्यालय डोटीले इलाका बन कार्यालय विपीनगरलाई काठको अवस्थाबारे जाँचबुझ गरी प्रतिबेदन माग गरेको सुचना अधिकारी जोशीले बताए । इलाका बनबाट प्रारम्भिक प्रतिवेदन आइसकेपनि डिभिजन बन कार्यालयले आदेश नदिएको सुचना अधिकारी जोशी बताउँछन् । आदेश नै नआइ ठेकेदारले ५ वटा ट्रकमा बिहीबार काठ निकासी गर्न लागेको थियो ।

स्थानीयका अनुसार ठेकेदारले अवैधरुपमा विभिन्न ठाउँबाट सालका रुख काटी चन्द्रमुखि सामुदायिक बनको काठमा मिसाएर निकासा गर्ने चलखेल भएको छ ।

बडीकेदार गाउँपालिका वडा न. २ स्थित इन्द्रकमल सामुदायिक बनबाट ३ वटा र वडासदस्य तारा नामजालीको घरनजिकै चन्द्रमुखि सामुदायिक बनबाट एउटा रुख अवैधरुपमा काटी बिहीबार निकासी भइरहेको थियो । वडासदस्य तारा नामजालीले आफ्नो घर नजिकको रुख काटिएको स्विकारेकी छन् । ठेकेदारलाई बनमा आगो लागेर काठको परिमाण नपुगेपछि आफ्नो घरनजिकको काठ काटेर दिइएको बताइन् । ‘घरनजिक रहेकाले केही घरलाई क्षती गर्ने सम्भावना पनि रहेकाले प्रकृया मिल्छ भने काट्नुस भनेकी थिए’, उनले भनिन्, ‘तर अहिले अवैध रुपमा काटियो भन्ने सुन्दैछु , यथार्त के हो थाहा भएन ।’

काठ ठेकेदार शेर बहादुर बोहराले राजश्व तिरिसकेको काठ डढेलोले नष्ट भएपछि आफुले काठ नउठाएको बताए । उल्टै उनले बिहीबार नियन्त्रणमा लिएको काठ आफ्नो नभएको र सो सम्बन्धी केही जानकारी नभएको भन्दै पन्छिने प्रयास गरेका छन् । सामुदायिक बनका अध्यक्ष बीर बहादुर नामजालीले अवैध काठ निकासी नभएको दावी गरेका छन् । सामुदायिक बनले प्रकृया अनुसार लिलामी भएका काठ लोड गरेका बेला बनका कर्मचारी आइ सोधपुछ मात्र गरेको अध्यक्ष नामजालीले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *