डोटी: डोटी जिल्लाको शिखर नगरपालिकको सिद्धेश्वर माविमा एक दिने बालविवाह र खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरणमा खोप तथा बालविवाह सम्बन्धि कार्यक्रम गरेको हो । बिहीबार शिखर नगरपालिका वडा नं १० वानिडुग्रीसैनमा रहेको सिद्धेश्वर माविमा युनिसेफको आर्थिक सहयोग र बास नेपालको आयोजनामा एक दिने विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रम गरेको हो । बालबालिकाहरूलाई पन्ध्र महिनासम्म नियमित खोप लगाउनुपर्ने र खोप कहिले र कति लगाउने भन्ने बारे शिखर नपा १० का स्वास्थ्य शाखा प्रमुख बल बहादुर खत्रीले कार्यक्रममा छलफल गरेका थिए । उनले विद्यालयका बालबालिकाहरूले स्वास्थ्य क्षेत्रमा पनि समुदायमा खोप सम्बन्धि पनि जानकारी गराउनुपर्ने खत्रीले बालबालिकाहरूलाई अनुरोध समेत गरेका छन । बालबालिकाहरूलाई किताबी ज्ञान मात्रै होइनन् स्वास्थ्य क्षेत्रमा पनि ज्ञान भएपछि समाजमा उनिहरूले सो विषयको ज्ञान दिने गर्छन् त्यसैले विद्यार्थीहरूलाई खोप तथा बालविवाह र समाजमा अलिखित नियमहरूलाई न्यूनीकरण गर्नुपर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बास नेपालका सामाजिक परिचालक सरिता कठायतले बताइन् । संस्थाले घरभेट देखि विद्यालय र समाजले मान्दै आएका र ती विकृतिको रूपमा परिणत भएका कुराहरूलाई परिवर्तन गर्न संस्था काम गर्दै आएको कठायतले भनिन् । संस्थाले पालिकामा स्वास्थ्य क्षेत्र,जन्मदर्ता छुटेका,बालविवाह र कोभिडको खोप छुटेकाहरूलाई घरभेटमा गएर काम गर्दै आएको छ । विद्यालय अभिमुखिकरण कार्यक्रममा सिद्धेश्वर माविका प्रअ लगायत अन्य शिक्षकहरू ९,१०,११,१२ कक्षाका १५० जना विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
प्रतिक्रिया