पढाइसँगै कृषिमा फस्टाउँदै भट्ट (भिडियो सहित)

पाँजलो न्युज
२२ असोज २०८० ७:४९
पढाइसँगै कृषिमा फस्टाउँदै भट्ट (भिडियो सहित)

डोटी– शिखर न.पा १० मई गाउँका कोषराज भट्ट पढाइसँगै कृषि व्यवसायमा सफलता हात पार्दै गएका छन् । भारतको देहरादुनमा कृषि विज्ञान विषयमा स्नातक अध्ययन गरिरहेका भट्ट आफ्नै घर नजिक टमाटर खेतीबाट लाखौँ कमाउन सफल भएका हुन् ।  उनले ०७६ सालबाट व्यावसायिक तरकारी खेती सुरु गरेको बताए ।

सुरुमा सामान्य एउटा टनेलबाट सुरु गरेको तरकारी खेती सुदूरपश्चिम कृषि निर्देशनालय दिपायलको आर्थिक सहयोगबाट दुई वटा टनेल सहयोग गरेको थियो । कृषि निर्देशनालय सँगै विभिन्न संघसंस्था र कार्यालयहरूले समेत प्रोत्साहन गरेपछि तरकारी खेती विस्तार गर्दै जाँदा आफ्नो पढाइ एवम् पारिवारिक खर्च कृषि व्यवसायबाट जुटिरहेको भट्टले बताए ।


कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशी भट्टको कृषि व्यवसाय देखेर आफू खुसी भएको बताउँछन् । सरकारको सानो सहयोगबाट इच्छाशक्ति भएका युवाले कसरी आफ्नो करिअर बनाउँछन् भन्ने कुराको भट्ट ज्वलन्त उदाहरण रहेको बताए । निर्देशक जोशी समेत भट्टको हरि गौरी कृषि तथा पशुपक्षी पालन कृषि फार्ममा अवलोकनका लागि गएका थिए ।

 

अहिले उनको ५ वटा टनेलमा टमाटर खेती छ । टमाटर भित्रै धनियाँ समेत लगाएर आम्दानी गरिरहेका छन् । ‘टमाटर मात्रै वार्षिक २ लाखसम्म आम्दानी गरिरहेको छु’, भट्टले भने, ‘मौसम अनुसार अरू तरकारी पनि लगाएर पढाइ र परिवारको खर्च चलेकाले म उत्साहित छु ।’
सेती प्राविधिक शिक्षालयमा ०७५ सालमा कृषि विज्ञानबाट प्रवीणता तह (३ बर्षे) उत्तीर्ण गरेका भट्टले त्यहाँको पढाइ पुरा हुने बित्तिकै व्यावसायिक खेती सुरु गरेका थिए ।

 

सैद्धान्तिक ज्ञान सिकिसकेपछि आफ्नै बारीमा ५ वर्षदेखि व्यावहारिक प्रयोग गरिरहेको उनी बताउँछन् । घर नजिक एकलौटी भएको जमिन नभएकाले ५ वटा टनेलमा मात्र खेती गरेको बताउने भट्ट स्नातक तहको पढाइ पुरा भएपछि कृषि व्यवसाय विस्तार गर्ने योजनामा छन् ।


उनी बेरोजगार भएर बस्नु भन्दा कृषि व्यवसाय गरेर स्वालम्बी हुन पनि युवाहरूलाइ सुझाव दिन्छन् । सुरुको केही समय कडा मेहनत गर्नुपर्ने भए पनि गर्दै सिक्दै जाँदा समस्या नआउने उनको अनुभव छ । रोजगारी भन्दा स्वतन्त्रपुर्वक कृषि व्यवसाय नै बढी लाभदायक रहने सुझाव दिन्छन् ।

 

यसैबर्षबाट उनले कोराल खोलामा पुष्प व्यवसाय पनि सुरु गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *