सलाम भिमदाइका पाैरखी हातहरूलाई (भिडियो सहित)

नर बहादुर कार्की
२४ भदौ २०८० २:०५
सलाम भिमदाइका पाैरखी हातहरूलाई (भिडियो सहित)
(वायल, डोटी) केआइसिंह ४ वायलका भिम कोलीसंग कापी, कलम, झोला थिएन । अभाव र गरिबीले स्कुल पढ्न दिएन । कक्षा ४ पढ्दै गर्दा १२ वर्षकै नाबालक उमेरमा स्कुल छाडे उनले । परिवारको अभाव र गरिबीसँग लड्न हजार रुपैयाँ भारु साहूँकाे ऋण निकालेर गाउँलेसँग भारतको दिल्ली गए । गाउँलेको सहायताले मासिक तीन सय भारु पाउने गरी मिठाई पसलको काममा लागे ।

नाबालक उमेर, गाउँघर, आमाबाबा सम्झना, बिहान ८ बजेदेखि राति १२ बजेसम्मको डिउटी सहज भएन जिन्दगी । तर पनि उनले सङ्घर्षका पाइलाहरू दरो गरिटेकिरहे परदेशमा । चाडबाडमा घर आउने जाने क्रम चलिरह्यो । यसरी नै जिन्दगीका झण्डै १५/१६ वर्ष बितेको थाहै भएन । यतिन्जेलसम्म मासिक तलब बढेर चार हजार पाँच सय भारुसम्म पुग्यो । तर घरको अभाव र गरिबी भने कहिने हट्न सकेन । गुजारा गर्न समेत धौधौ परिरह्यो ।
एक वर्ष घरायसी समस्याले परदेश जान दिएन । खाली रहेको समयमा निङ्गाला चिरेर पुर्ख्यौली पेसाको रूपमा रहेको डाेकाडाला बनाउने सोच बनाए उनले । सोहीअनुसार निङ्गाला संकलन गरी घरमै बसेर डाेकाडाला बनाउन थाले । यसबाट दैनिक तीन चार सय जति कमाइ हुन थाल्यो । घर खर्च चल्न थाल्यो । घरायसी कामकाजमा पनि सहजता थपियो । यसले गर्दा सोच फेरियो । परदेश नजाने र मिहिनेतका साथ बाँस निङ्गालाकाे काम घरमै बसेर गर्ने योजना बनाए । सोहीअनुसार बाँस तथा निङ्गालका चोयाबाट डोका, डाला, फुङ्ङा, डुरा, सुप्पा, चाल्ला, नाङ्ला, गोदा आदि निर्माण गरे । बिक्री राम्रै रह्यो । यस पेसाले उनको जीवनमा सहजता ल्यायो ।
बि.सं.२०६८/६९ सालतिर उनले बजारमा बसी व्यावसायिक रूपमा बाँस निङ्गालाकाे काम गर्ने सोच बनाई बजारमा पसल भाडामा लिएर काम सुरु गरे । बजारमा बसेर तनमन लगाई कडा मिहिनेतका साथ काम गरे । व्यवसायले साेचेअनुसारकाे सफलता पाउँदै गयो । उनी झन्झन् उत्साहित भएर व्यवसायमा लागे । कमाइजमाई राम्रै भयो । डाेकाडालाकाे कामसँगै उनले किराना पसल पनि थपे ।
हाल उनी ४४ वर्षका भए । उनले हाल बजारमा आफ्नै घडेरी किनेर पसल बनाई डाेकाडालाकाे व्यवसाय गरेका छन् भने एउटा अर्को घर भाडामा लिएर किराना पसल समेत सञ्चालन गरेका छन् । उनका भनाइअनुसार छोराछोरी पठनपाठनदेखि खानपिन तथा अन्य सम्पूर्ण खर्च गरेर मासिक पन्ध्र हजार जति बचत हुने गरेको छ । उनै सफल व्यवसायी हुन् भीम दाइ । सलाम छ उनका यी पौरखी हातहरूलाई ।
थप व्यवसाय सफलताको शुभकामना !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *