विद्यालयमा माओवादी पार्टीको कार्यक्रम भएपछि सर्वत्र विरोध

पाँजलो न्युज
२३ भदौ २०८० ९:१०
विद्यालयमा माओवादी पार्टीको कार्यक्रम भएपछि सर्वत्र विरोध
शुक्रवार डुम्राकोट आविमा नेकपा माओवादी केन्द्रले गरेको कार्यक्रम ।

डोटी– जिल्ला प्रशासन कार्यालयको निर्देशन पछि भदौ १९ गते केआइसिंह गाउँपालिकाले विद्यालयहरुलाइ राजनैतिक दलका विद्यार्थी संगठन विस्तार कार्यमा रोक लगाउन परिपत्र  गर्‍यो ।  परिपत्र पछि पनि विद्यार्थी संगठनहरु विस्तार कार्य रोक्नु त परै जाओस् पार्टीकै कार्यक्रम गर्न थालेपछि सर्वत्र आलोचना हुन थालेको छ ।

नेकपा माओवादी केन्द्रले सो परिपत्रको उल्लङ्घन गर्दै वडा नं. १ स्थित डुम्राकोट आविमा पार्टीकै बैठक सम्पन्न गरेको छ । शुक्रवार दिउसो ३ बजे कक्षाकोठाभित्रै जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गतको प्रारम्भिक बैठक राखेर कार्यक्रम गरेपछि सर्वत्र विरोध भइरहेको छ । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नन्दलाल विकको नेतृत्वमा सो बैठक सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल विद्यालयमा राजनैतिक दलका कार्यक्रम हुनु दुखद भएको बताउँछन् । विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका लागि आफूकहाँ गुनासो आएपछि शिक्षा विकास तथा समन्वय इकाइ मार्फत सो बारे परिपत्र गर्दा पनि राजनैतिक दलहरू इमानदार नहुनु  दुखद बताउँछन् । ‘यथाशीघ्र शिक्षा विकास तथा समन्वय इकाई को बैठकमा सरोकारवालासँग छलफल चलाउँछु’, अर्यालले भने, ‘यस्ता कार्य तुरुन्तै रोक्नु पर्छ ।’

यता केआइसिंह गाउँपालिकाले सो घटनाबारे सत्य तथ्य बुझ्ने भएको छ । विद्यालयलाई शान्ति क्षेत्र कार्यान्वयनका लागि कुनै पनि गतिविधि नगर्न गरिएको परिपत्रलाई राजनैतिक दलहरूबाट उल्लङ्घन हुनु दुखदायी भएको प्रमुख प्रशासकीय अधिकृत सुरत बहादुर परियार बताए । उनले विद्यालयमा शान्ति क्षेत्र कार्यान्वयनका लागि परिपत्र गरिसकेको अवस्थामा डुम्राकोट आविमा पार्टीकै कार्यक्रम गरिएको घटनाबारे सत्यसत्य बुझ्न शिक्षा शाखालाई निर्देशन दिइसकेको जानकारी दिए । । ‘शुक्रवार ५ बजेसम्म विद्यालयमै थिएँ तर सो खबर केही पाइन’, प्रमुख प्रशासकीय अधिकृत परियारले प्रतिबद्धता गरे,‘शनिवार मात्रै सो घटनाबारे सामाजिक सञ्जालमा थाहा भयो, घटना के हो र किन भयो भनेर आइतबार नै विद्यालयसँग लिखित जानकारी मागेर आवश्यक कारबाही अगाडी बढाउँछौँ ।’

सो घटनाबारे नेकपा माओवादी केन्द्रका नेताहरू भने खुल्न चाहेनन् । प्रदेश कमिटी सदस्य नन्दलाल विकले बाध्यात्मक परिस्थिति आएपछि बैठक राखेको प्रतिक्रिया दिए । ‘शुक्रवार भएकाले विद्यालय बन्द भइसकेको थियो, बैठकका लागि नेता कार्यकर्ता भेला भइसकेपछि पानी पर्ने सङ्केत देखियो’, प्रदेश सदस्य विकले भने, ‘विद्यालयमा बैठक राख्ने चाहना थिएन, वडा कार्यालयमा पनि हलका लागि कुरा गर्न खोज्दा सम्पर्क नभएपछि बैठक राख्न बाध्य भयौँ ।’ स्थानीय नेता महेन्द्र विकले पानी पर्न थालेपछि कार्यक्रम नै बिथोलिने स्थिति आउँदा कार्यक्रम गरिएको बताए । उनले विद्यालयमा पार्टीको कार्यक्रम गर्दा पर्न सक्ने नकारात्मक असरबारे जानकारी नहुँदा पहिलो पटक गल्ती भएको स्विकार्दै आगामी दिनमा त्यस्तो नहुने प्रतिबद्धता समेत गरे ।   नेकपा माओवादी डोटी इन्चार्ज लक्षीराम आचार्यले सो घटनाबारे आफूले जानकारी नपाएको बताए । उनले विद्यार्थी संगठन विस्तारका लागि निर्देशन दिइएको भए पनि शुक्रवार डुम्राकोट आविमा भएको पार्टीको बैठकबारे अनभिज्ञता प्रकट गरे ।

यता सो विद्यालयका प्रधानाध्यापक उपेन्द्र अवस्थिले भने जिम्मेवार जवाफ दिन सकेनन् । उनले विद्यालयको बिदा भइसकेपछि साँझ ४ बजे कक्षाकोठाको चाबी मागेर कार्यक्रम गरिएको बताए । ‘मलाइ कार्यक्रमबारे थाहा नै भएन, केटाहरूलाई चाबी मागेर कार्यक्रम गरेछन्’, प्र अ अवस्थिले भने, ‘पछि फर्केर आउँदा कार्यक्रम भइरहेको रहेछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले पटक पटक प्रमुख जिल्ला अधिकारीमार्फत विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका लागि दबाब राख्दै आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी डोटीका जिल्ला संयोजक केशव बलायरले प्रमुख जिल्ला अधिकारीबाट कार्यान्वयन हुन नसकेको गुनासो गरे । आफूहरूले राखेको मागबारे प्रशासन र विद्यालयहरू संवेदनशील नभए कडारुपमा उत्रने चेतावनी संयोजक बलायरले दिए । यद्यपि अन्य राजनैतिक दलहरू भने विद्यालयमा विद्यार्थी संगठन हुनुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *