विद्यालयमा पार्टीका झण्डा देखाएको भन्दै रास्वपा डोटीको आपत्ति

पाँजलो न्युज
१३ भदौ २०८० १३:००
विद्यालयमा पार्टीका झण्डा देखाएको भन्दै रास्वपा डोटीको आपत्ति
(डोटी)राजनैतिक दलमा आबद्ध विद्यार्थी संगठनहरुका झण्डा विद्यालयहरूमा देखाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले आपत्ति प्रकट गरेको छ ।
सामुदायिक विद्यालयहरूमा विभिन्न दलका विद्यार्थी संगठनहरुले राजनैतिक गतिविधिमा आबद्ध गराउने उद्देश्यले समितिहरू गठन गरिरहेको कुरालाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक केशव बलायरले त्यस विरुद्ध प्रेस विज्ञप्ति जारी गरेका छन् ।
उनले देशलाइ आवश्यक पर्ने व्यवहारिक र वैज्ञानिक शिक्षा सम्बन्धी बहस हुनुपर्ने ठाउँमा विद्यार्थीहरूको पढ्ने र रचनात्मक दिमागलाई भङ्ग गराइरहेको आरोप लगाएका छन् ।
राजनैतिक खिचातानीका कारण गुणस्तरीय शिक्षा हुन नसकेकोले डोटीबाट बसाइ सराइ भइरहेको आशय देखाउँदै सभापति बलायरले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को पालना गर्न आग्रह गरेका छन् ।
विज्ञप्ति सँगै संयोजक बलायरले म्यासेन्जरमा नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियूले सायल गाउँपालिकाकाका विभिन्न विद्यालयका विद्यार्थी पोसाकमै झण्डा प्रदर्शन गरी कमिटी विस्तार गरेको तस्बिर पठाएका छन् ।
‘कक्षाकोठामै गएर  झण्डा प्रदर्शन गरेर कलिला विद्यार्थीलाई राजनीतिमा सरिक गराउनुले कानुनी शासनको धज्जी उडेको छ’, जिल्ला संयोजक बलायरद्वारा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ,‘यस्तो अराजक क्रियाकलाप विरुद्ध हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ, सम्बन्धित विद्यालयका प्रअलाई अनुसन्धानको दायरामा ल्याइ घटनाको सत्य तथ्य छानबिनका लागि सरोकारवाला निकायहरूसँग जोडदार माग गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *