निजी स्रोत शिक्षक व्यवस्थापन

शैक्षिक सुधारका लागि आदर्श गाउँपालिकाले ५५ शिक्षक खटायो

दिपायल सिलगढी नगरपालिकाले पनि २० शिक्षक कार्यविधिमार्फत छनोट गरी विद्यालयहरूमा खटाएको छ

मोहन शाही
१२ भदौ २०८० १०:३३
शैक्षिक सुधारका लागि आदर्श गाउँपालिकाले ५५ शिक्षक खटायो
फोटो क्याप्सन : आदर्श गाउँपालिकाले शिक्षकको लागि लिएको लिखित परीक्षाका परीक्षार्थीहरू । 

(डोटी)– आदर्श गाउँपालिका वडा नं. ७ स्थित कालिकास्थान माविका प्रधानाध्यापक गणेश दाहाललाई वर्षभरि एउटै पिरलो हुन्थ्यो , ‘निजी स्रोतका शिक्षकका लागि तलबको जोहो कसरी गर्ने ?’ यही पिरलोले कहिल्यै गाउँपालिका, कहिल्यै चन्दादाता त कहिल्यै अभिभावकहरूलाई शिक्षकको तलबका लागि गुहार्नमा उनको समय जान्थ्यो ।

अब भने यो चिन्ता हटेको छ । आदर्श गाउँपालिकाले विद्यार्थी तथा शिक्षकको अनुपातका आधारमा पालिकाबाटै शिक्षक छनोट गरी निजी स्रोतका शिक्षकको व्यवस्थापन गरिदिएको छ । ‘खुला प्रतिस्पर्धाबाट छनोट भइआएकाले योग्य शिक्षक पनि पायौँ, तलबका लागि बर्सेनि टाउको कन्याउनु पर्ने झन्झटबाट पनि मुक्त भइयो,’ प्र अ दाहालले खुसी हुँदै भने, ‘यसले विद्यार्थीहरूको पढाइ सुधारमा ठुलो टेवा पुग्ने अपेक्षा लिएका छौँ ।’ मावि, आ वि र प्रावि तहका लागि आदर्श गाउँपालिकाले ३ शिक्षक कालिकास्थान माविमा खटाइदिएको छ ।

उता दुर्गम गाउँमा पर्ने गिरीचौका माविका प्रधानाध्यापक नर बहादुर खडायत पनि गाउँपालिकाले शिक्षक खटाइदिएकोमा खुसी छन् । निःशुल्क शिक्षा भने पनि गाउँपालिकाले दिने वार्षिक ७ लाख शैक्षिक अनुदान बाहेकको रकम अभिभावकसँग विभिन्न शीर्षकमा शुल्क उठाएर निजी स्रोतका शिक्षकको तलब गिरीचौकी माविले तिर्नुपर्ने बाध्यता थियो । अहिले गाउँपालिकाले माविमा १, निमाविमा २ र प्राविमा १ गरी ४ शिक्षक सो विद्यालयमा खटाइदिएको छ । ‘हामीलाई शिक्षकको तलब व्यवस्थापनका लागि ठुलो राहत पुगेको छ’, प्र अ खडायतले भने, ‘विषयगत नपाएर हैरान थियौँ, पढाइ सुधारमा भन्दा शिक्षकको तलब खुवाउने चिन्ताले सताउँथ्यो ।’

फोटो क्याप्सन : आदर्श गाउँपालिकाले शिक्षकको लागि लिएको लिखित परीक्षाका परीक्षार्थीहरू ।

३८ सामुदायिक विद्यालय रहेको आदर्श गाउँपालिकाले यसै महिना मात्रै ५५ शिक्षक छनोट गरी पठाएको अध्यक्ष गणेश बहादुर खड्काले बताए । निजी स्रोतका शिक्षकको तलबका लागि शैक्षिक अनुदान शीर्षकमा यस अघि वार्षिक एक करोड बजेट विनियोजन गर्ने गरेको थियो । यो रकम पनि अपुग भएर विधालयहरू अभिभावकबाट विभिन्न शीर्षकमा शुल्क उठाउँदै आएका थिए । ‘शिक्षकहरूको उचित बन्दोबस्त हुन नसकेको गुनासो आयो’, अध्यक्ष खड्काले भने, ‘संविधान अनुसार निःशुल्क शिक्षाको प्रत्याभूति दिलाउन दीर्घकालीन समाधानका लागि निजी स्रोतका शिक्षकको जिम्मेवारी पालिकाले उठायो ।’ यस अघि निजी स्रोतमा न्यून तलबमा अध्यापन अनुमति पत्र नभएका व्यक्तिहरू पनि शिक्षण गर्दै आएका थिए ।

गाउँपालिकाले शिक्षक सहयोग अनुदान कार्यविधि नै बनाएर कार्यान्वयनमा ल्याएको शिक्षा इकाई प्रमुख पदम विष्टले बताए । उनले विषयगत र  अध्यापन अनुमति पत्र योग्य शिक्षक खुला प्रतिस्पर्धाबाट छनोट गरिएकाले शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।
शिक्षा इकाई प्रमुख विष्टका अनुसार खुला प्रतिस्पर्धाबाट छनोट गरी माध्यमिक तहमा १२, आधारभूत तह(१–८) मा २०, १–५ का लागि २३ शिक्षक खटाइएको छ ।

दिसिनपाले पनि खटायो

यता सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकाले पनि २० शिक्षक कार्यविधिमार्फत छनोट गरी विद्यालयहरूमा खटाएको छ । विद्यालयको आवश्यकताका आधारमा प्राविमा १०, आविमा ५ र माविमा ५ गरी २० शिक्षक खटाइएको दिपायल सिलगढी नगरपालिका शिक्षा इकाई प्रमुख लक्ष्मीराज ओझाले बताए । शैक्षिक गुणस्तर उकास्न सेल्लेश्वर आविलाइ समायोजन, शारदा आविको तह घटुवा र १० वटा शिक्षकको दरबन्दी मिलान गरिएको ओझाले बताए  ।

‘मावि तहसम्मको शिक्षाको बन्दोबस्त गर्नु स्थानीय तहको दायित्व हो,’ ओझाले भने, ‘समस्याको पहिचान गर्दै आवश्यकता अनुसार शिक्षकको बन्दोबस्त गर्न भ्याएका छौँ, यसले शैक्षिक गुणस्तरमा सुधार आउनेमा विश्वस्त छौँ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *