नगरप्रमुख र स्वकीयबिच कुटाकुट

नगरप्रमुखको कुटाइबाट स्वकीय सचिव घाइते, दुवै पक्षबिच सहमती हुँदै

पाँजलो न्युज
१ भदौ २०८० ८:१०
नगरप्रमुखको कुटाइबाट स्वकीय सचिव घाइते, दुवै पक्षबिच सहमती हुँदै

मोहन शाही (डोटी) – शिखर नगरपालिकाका प्रमुख  दीर्घ बहादुर बलायर र स्वकीय सचिव राजेश ठगुन्नाबिच झगडा भएको छ । सो झगडामा परी स्वकीय सचिव ठगुन्नाको टाउकामा चोट लाग्दा घाइते भएका छन् । घाइते ठगुन्ना दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार गरी फर्किसकेका छन् ।

सामाजिक सञ्जाल मार्फत ठगुन्नाले नगरप्रमुखमाथि खुकुरी प्रहार गरेको आरोप लगाउँदै आएका छन् । बिरामीको उपचारका लागि गाडीको प्रबन्ध गर्नुपर्ने विषयमा दुई जना बिच बिहीबार राती विवाद भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्र धमलाका अनुसार स्वकीय सचिव ठगुन्नाले मदिरा पिएर सुरूमा नगर प्रमुखमाथि हातपात र दुर्व्यवहार गरेका थिए । ‘घटनाबारे बुझ्दा स्वकीय सचिवले नै हातपात गर्दै मोबाइलले समेत प्रहार गरेको देखियो’, एसपी धमलाले भने, ‘त्यसपछि विवाद साम्य भइसकेपनि पुनः हातपात गर्न खोज्दा नगरप्रमुखले ढुङ्गा प्रहार गरेको पाइयो ।’

यद्यपि घटनाको विषयलाई लिएर दुवै पक्ष सामान्यीकरण भइरहेकाले सहमतिको वातावरण बनिरहेको एसपी धमलाले बताएका छन् ।

नगरप्रमुख बलायरले पनि दुईबिचको विवाद रहेकाले सहमतिको वातावरण बनिरहेकाले सामाजिक सञ्जालमा आइरहेका अतिरंञ्जीत घटनालाई विश्वास नगर्न आग्रह गरेका छन् ।

नगरप्रमुख बलायरले तल्लीसात गाउँका बिरामीलाई उपचारका लागि डडेलधुरा लैजाने विषयमा सामान्य विवाद भएको बताए । आफूकहाँ आएका पाहुनाको स्कारपियोमा हालेर बिरामी डडेलधुरा लग्न खोज्दा गहनानमा ठकुन्नासंग सामान्य विवाद भएको बलायर बताउँछन् । बलायरले भने खुकुरी प्रहार गरेको आरोपको खण्डन गरेका छन् ।  ‘सम्झाउँन खोज्दा उल्टै हातपात भयो’, नगरप्रमुखले भने, ‘मैले सामान्य प्रतिकार मात्र गरेको हुँ ।’

उनले घटनाको विस्तृत विवरण भने दिन चाहेनन् । घटनाबारे यथार्थ विवरण नगरवासीलाई तत्कालै पत्रकार सम्मेलन वा विज्ञप्ति मार्फत दिइने समेत नगरप्रमुख बलायरले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *