गाउँपालिका महासंघले गर्‍यो मुख्यमन्त्री शाहको ध्यानाकर्षण

पाँजलो न्युज
३० साउन २०८० १६:५९
गाउँपालिका महासंघले गर्‍यो मुख्यमन्त्री शाहको ध्यानाकर्षण

डोटी–  प्रदेश र स्थानीय सरकार बिच देखिएका विद्यमान चुनौतीहरू न्यूनीकरणका लागि गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितिले मुख्य मन्त्री कमल बहादुर शाहलाई ध्यानाकर्षण गराएको छ ।  गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम कार्यसमितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा गएको टोलीले विभिन्न ६ बुँदे ज्ञापन पत्रमार्फत मुख्यमन्त्री शाहको ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण सँगै प्रदेश सरकारले आर्थिक वर्ष ०८०÷०८१ को बजेट विनियोजनमा देखाएको कमजोरी प्रति पनि असन्तुष्टि व्यक्त गरेको छ ।  स्थानीय सरकारका जनप्रतिनिधि र सरोकारवालासँग बजेट सम्बन्धी बृहत् छलफल गरी बजेट मागका सन्दर्भमा नवीन र सकारात्मक कदम चाले पनि पालिकाबाट सिफारिस भएका योजना नपरेकोमा मुख्यमन्त्री शाहको ध्यानाकर्षण गरिएको गाउँपालिका महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष शाहीले बताए ।

संघ, प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने ऐन, २०७७ अनुसार मुख्यमन्त्रीको अध्यक्षतामा गठन भएको प्रदेश समन्वय परिषद्मा गाउँपालिकाबाट संस्थागत प्रतिनिधित्व गराउनु पर्ने, परिषद्को नियमित बैठक गर्नु पर्ने, संघ, प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने ऐन बमोजिमका विषयगत समितिहरू गठन गरी क्रियाशील बनाउनु पर्ने , प्रदेश सरकारका प्रमुख सचिवको नेतृत्वमा प्रत्येक जिल्लाबाट एक÷एक जना प्रमुख प्रशासकीय अधिकृत रहने गरी प्रशासनिक समन्वय परिषद्को गठन गरी क्रियाशील बनाउनु पर्ने कुरामा मुख्यमन्त्री शाहको ध्यानाकर्षण गराइएको थियो ।

ज्ञापन पत्र मार्फत बाढी पहिरो तथा डुबानमा प्रदेश सरकार समस्या समाधानमा लाग्नुपर्ने समेत सुझाव दिइएको छ ।
धनगढीमा साउन २८ र २९ गते सम्पन्न गाउँपालिका महासंघले स्थानीय सेवा र प्रदेश सेवा व्यवस्थापनका सन्दर्भमा अन्तर–सरकार संवाद कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *