एकताको सन्देश दिँदै काँग्रेस डोटीको अभियान सम्पन्न

पाँजलो न्युज
२९ साउन २०८० १६:०१
एकताको सन्देश दिँदै काँग्रेस डोटीको अभियान सम्पन्न
(डोटी)– नेपाली काँग्रेस डोटीले जिल्लाका नेताहरूबिच एकताको सन्देश दिदैे आन्तरिक विशेष अभियान सम्पन्न गरेको छ । साउन २३ गतेबाट डोटीका विभिन्न क्षेत्रहरूमा केन्द्रको सर्कुलर अनुसार सञ्चालन गरेको अभियान शिखर नगरपालिकामा सम्पन्न गरेको हो । केन्द्रीय सदस्य एवम् अभियानका लागि प्रतिनिधिका रूपमा खटिएकी विद्या देवी तिमिल्सेनाले जिल्लाका शीर्ष नेताहरूलाई एकै मञ्चमा उभ्याएर एक अर्काको हात उचाल्न लगाएर एकताको सन्देश दिन आग्रह गरेकी थिइन् ।
‘यहाँहरू आन्तरिक विशेष अभियानबाट जिल्लाका नेता एक जुट छौँ भन्ने सन्देश दिन चाहनहुन्छ भन्ने अगाडि आएर सामूहिक रूपमा हात उठाउनुस्’, तिमिल्सेनाले आग्रह गर्दै भनिन,‘होइन भने यहाँहरूमाझ अझै मनमुटाब छ भन्ने सन्देश केन्द्रमा लगेर जानेछु ।’
उनको आग्रह पछि पार्टी सभापति नरेन्द्र बहादुर सिंह, पूर्व पार्टी सभापति प्रदीप कुमार देउवा, नेताहरू सीताराम जोशी, जीत बहादुर खड्का, नारायण बलायर, नर बहादुर ढाँट, पार्वती चन्द, प्रतिमा शाह, सुशील घर्ती लगायतका नेताहरूले एक अर्काको  हात उठाउँदै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने सन्देश दिएका थिए ।
पार्टी सभापति नरेन्द्र बहादुर सिंहले अन्तर हृदयबाट नै शीर्ष नेताहरू एकजुट भएमा काँग्रेसलाई कसैले हराउन नसक्ने बताए । एकताको सन्देश दिएको प्रति खुसी व्यक्त गर्दै आपसमा भएका कमीकमजोरी, मनमुटाब पार्टीभित्र छलफल गरेर अघि बढ्न सकेमा काँग्रेसको विरासत कहिल्यै खोस्न नसक्ने पार्टी सभापति सिंहले बताए ।
शिखरमा सम्पन्न आन्तरिक विशेष अभियानमा शिखर नगरपालिका नगर प्रमुख दीर्घ बलायर, उप प्रमुख सुनिता रावल, पूर्व नगर उप प्रमुख धौलीदेवी रावल, पूर्व नगर प्रमुख सीताराम जोशी, महाधिवेशन प्रतिनिधि जीत बहादुर खड्का, जिल्ला सचिव नारायण बलायर, जिल्ला उपसभापति विजय खड्का, नेता नर बहादुर ढाँट, प्रदेश सदस्य तेज लुहार, निर्मला कुमारी बोगटी, केन्द्रीय सदस्य विद्या देवी तिमिल्सेना लगायतले मन्तव्य राखेका थिए ।
काँग्रेसले पूर्वीचौकी, आदर्श, केआईसिंह, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा पालिका स्तरीय कार्यक्रम चलाएको थियो । अभियान क्रममा जनप्रतिनिधि र पार्टीले खेल्दै आएको भूमिकाबारे गहनरुपमा छलफल र बहस भएको जिल्ला सचिव नारायण बलायरले बताए । उनले तत्कालै विभाग गठन देखि भातृसंगठनहरुको पूर्णता दिएर साङ्गठनिक गतिविधि अगाडि बढाइने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *