कर छलि प्रकरण

दिपायलमा अनुगमन टोली आउँदा भारतीय व्यापारीहरू फरार

मोहन शाही
२८ साउन २०८० २:५८
दिपायलमा अनुगमन टोली आउँदा भारतीय व्यापारीहरू फरार
शनिबार बन्द गरीएका भारतीय नागरिकहरुका दिपायल स्थित पसलहरु ।

डोटी– बजार अनुगमनका लागि जिल्लाबाट टोली आएपछि डोटीको मुख्य व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा केही व्यापारीहरू पसल नै बन्द गरेर फरार भएका छन् ।  भारतीय नागरिकहरूको ठुलो लगानीमा सञ्चालनमा रहेका पसलहरू बन्द गरेर सञ्चालकहरू फरार भएका हुन् ।

शनिवार जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत दिपा जोशीको नेतृत्वमा अनुगमन टोली पिपल्ला बजार आएको थियो ।  दैनिक उपभोग्य सामाग्री एवम् खाद्यान्न भएका पसलहरूको अनुगमन गर्न आए पनि आन्तरिक राजश्व कार्यालयको टोली आएको भन्दै उनीहरू सटर नै बन्द गरेर फरार भएका थिए । ‘करका केही कर्मचारी अनुगमनका लागि आएको हल्ला सुनेपछि भारतीय नागरिकले सञ्चालन गरेका भाँडाकुँडा, फर्निचर तथा इलेकट्रोनिक्स पसल बन्द गरेर भागे’, एक प्रत्यक्षदर्शीले भने, ‘उद्योग वाणिज्य सङ्घले मासिक रूपमा आव्हान गरेको  १० गते र २५ गते पनि पसल खोल्ने व्यापारी आज एकाएक बन्द गरिएको देख्दा आश्चर्य लागेको छ ।’

शनिबार बन्द गरीएका भारतीय नागरिकहरुका दिपायल स्थित पसल ।

पछिल्लो समय केही सीमित भारतीय नागरिकहरूले दिपायलको पिपल्ला बजारमा अस्वाभाविक लगानी बढाउँदै लगेका छन् । भाडा वर्तन, फर्निचर, लुगा कपडा, ग्रील उद्योग, इलेकट्रोनिक, हार्डवेयर लगायतको कारोबारमा हात हालेका यी व्यवसायीहरूले पछिल्लो समय होटेल र मासु पसलमा समेत लगानी बढाएका थिए । यद्यपि होटेल र मासु पसल भने बन्द भएका छन् ।

शनिवार दिउँसोबाट न्यु चाँद ट्रेडर्स, सितारा ट्रेडिङ्ग एण्ड सप्लार्यस, ७८६ चाँद ट्रेडर्स एण्ड सप्लार्यस,न्यु चाँद ट्रेडर्स एण्ड सप्लार्य, न्यु चाँद इलेकट्रोनिक्स एण्ड फर्निचर इन्टरप्राइजेज पसलको सटर बन्द गरिएका थिए । यद्यपि आइतबार बिहानैबाट पुनः पसल खोली सकेका छन् ।
करोडौँको कारोबार गरे पनि नियमानुसार सरकारलाई तिर्नुपर्ने कर नतिरेकाले उनीहरू सरकारलाई छल्न यसो गर्ने गरेको स्रोत बताउँछ । ‘उनीहरू अधिकांशले अन्डर बिलिङमा काम गरेर राजश्व छल्दै आएका छन्’, एक व्यापारीले भने , ‘निरीह सरकार र भ्रष्ट कर्मचारीको फाइदा उठाएर सर्वसाधारण ठग्दै आएका छन् ।’ स्रोतका अनुसार डोटीका केही पहुँच भएका व्यक्तिहरूलाई नियमित रकम दिएर उनीहरूको संरक्षणमा कारोबार गरिरहेका छन् । उनीहरूको कारोबार बारे कर कार्यालयका कर्मचारीलाई समेत राम्ररी जानकारी भए पनि कडाइ गरेका छैनन् । ‘सब थोक पैसा र घुसले चलेको छ’ , दिपायलका एक फर्निचर व्यापारीले आरोप लगाए भने, ‘कहाँबाट कसरी सामान आउँछ र यहाँ कसरी कारोबार भइरहेको छ भन्ने करका कर्मचारीले थाहा पाएर पनि कानमा तेल हालेर बसेका छन् ।’ ‘अहिले नै पसलमा छापा मार्ने हो भने करोडौँ बराबरको अवैध सामान गोदाममा भेटिन्छ तर त्यो गर्ने आँट कसैलाई छैन’, उनले दाबी गरे ।

शनिबार बन्द गरीएका भारतीय नागरिकहरुका दिपायल स्थित पसल ।

भारतबाट बिना बिल राजश्व छलेर लाखौँका सामान दिपायलमा ल्याएर बिक्री गरे पनि कसैले चासो देखाएका छन् । उनीहरूको करछलीबारे सबैलाई थाहा भए पनि प्रशासन,व्यापारी, जनप्रतिनिधि, कर्मचारी, व्यापारिक संस्थाहरू मौन रहँदै आएको आरोप छ ।
उनीहरूको लगानीको स्रोत के हो भन्ने कुरा भने अझै खुलेको छैन । कोभिडका कारण अन्य व्यवसायीहरू आर्थिक सङ्कटले व्यापार घटाउँदै गइरहेका बेला भारतीय नागरिकहरू भने यसै बेला अस्वाभाविक लगानी गरेर विभिन्न क्षेत्रहरूमा व्यापार विस्तार गरिरहेकाले शङ्कास्पद रहेको स्थानीय बताउँछन् । स्रोतका अनुसार एकै परिवारका आरिफ मन्सुरी , समुन मन्सुरी, सदाफ मन्सुरी, सम्साद मन्सुरीले दिपायलमा विभिन्न क्षेत्रमा हात हालेर कारोबार गर्दै आएका छन् । थुप्रै नेपालीसँग उनीहरूले मिटर व्याजबाट समेत रकम उठाएर लगानी गरिरहेका छन् ।

स्रोतका अनुसार केहीले आफै नक्कली नेपाली नागरिकता लिएर व्यापार गरिरहेका छन् भने कतिपयले अरूका नाममा कारोबार देखाइ व्यापार गर्दै आएका छन् । ‘यतिसम्मकी मरेका मान्छेको नाममा समेत कारोबार गरिरहेका छन्’, अर्को एक स्रोतले भने, ‘सरोकारवाला सबै थाहा पाएर पनि तै चुप मै चुप भएर बसेका छन्, बस्तुको मूल्यमा समेत सर्वसाधारणलाई लुट्दै आएका छन् । यहाँ यसको कसलाई मतलब छ र ?’

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले कानुनी प्रक्रिया पुरा नगरी कारोबार गरेको भए तत्कालै अनुगमन गरेर कारबाही गर्न सकिने बताए । प्रशासकीय अधिकृत दीपा जोशीले टोली दिपायल पिपल्लामा शनिवार ३२ वटा पसलमा अनुगमन गर्दा ७६ हजार बराबरको अखाद्य सामाग्री जफत गरेको थियो । पटक पटक यसरी गरिने अनुगमनमा चेतावनी दिँदै छोड्ने गरे पनि कारबाही भने प्रशासनले गर्न सकेको छैन । अनुगमन टोली प्रमुख दिपा जोशीले अर्को पटक आउँदा अखाद्य बस्तु भेटिएमा कारबाही गर्ने प्रतिबद्धता गरेकी छन् ।
कर कार्यालयका कर्मचारीहरूको शनिवार देखि यो समाचार तयार पार्दासम्म फोन सम्पर्क गर्दा पनि हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *