(डोटी) – नेवार समुदायको मौलिक संस्कृतिका रूपमा लिइने लाखे नाचको संरक्षणमा सिलगढीका युवाहरू जुटेका छन् । नेवागढी सांस्कृतिक कला केन्द्र मार्फत सिलगढीका युवाहरू डोटीको मुख्य व्यापारिक केन्द्र दिपायलमा लाखे नाच प्रदर्शन गरिरहेका छन् ।
कला केन्द्रका सिद्धान्त श्रेष्ठले पुर्खाै देखि मौलिक संस्कृतिका रूपमा रहेको लाखे नाच लोप हुने अवस्थामा पुगेकाले अन्य समुदायलाई पनि जानकारी होस भनेर दिपायलमा केही दिनबाट प्रदर्शन गरिरहेको बताए । उनले सिलगढी स्थित विभिन्न समुदायका युवाहरू मिलेर लाखे नाच संरक्षणमा जुटेको जानकारी दिए ।
डोटीको सिलगढीमा नेवार समुदायको घना बसोबास भए पनि पछिल्लो समय बसाइसराइका कारण मानिसहरूको संख्या पातलिँदै आएको छ । युवाहरूले दिपायलको पिपल्ला बजारमा परिक्रमा गर्दै सर्वसाधारणलाई लाखे नाच प्रदर्शन गरेका थिए । आफ्नो परम्परागत संस्कृति संरक्षणमा युवाहरू जुटेकोमा भने सबैले प्रशंसा गरेका छन् ।
डाेटीमा लाखे नाच श्रावण कृष्णपक्ष चतुर्दशी अर्थात घण्टाकर्ण (गाठेमंगल) का दिन देखि सुरु भएर भाद्र कृष्णजन्माष्टमीका दिन सम्पन्न गरिने गरिएकाे सिलगढीका स्थानीय एवम पत्रकार राेजेन्द्र जाेशीले बताए । जाेशीका अनुसार गाठेमंगल देखि भुतप्रेत नकारात्मक शक्तिहरु शक्तिशाली बन्ने र देवि देवताकाे शक्ति न्यून रहने भन्ने विश्वासका आधारमा भुतप्रेतलाई शान्त पार्न भुतकाे स्वरुपमा लाखे नाच गराईन्छ । कृष्ण जन्मिएसंगै नकारात्मक शक्ति नष्ट हुने तथा भगवान कृष्णले रक्षा गर्छन भन्ने विश्वास रहँदै आएको छ ।
के हो लाखे नाच ?
लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको खुकुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरू नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठमाडौँमा देखाइन्छ भने डोटीको सिलगढीमा पनि प्रदर्शन गर्ने गरिएको छ ।
कृष्णलाई मार्नका लागि कंसले बहिनी पूतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पूतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विसर्जन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिँगारेर लाखे नचाउने गरिन्छ ।
लाखे नाचको इतिहास
लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा विभिन्न मतभेद रहेको छ । कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछ । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ । लाखे नाच विशेष गरेर धा: र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ ।
नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच जिल्लाबाट लोप हुने अवस्थामा पनि लाखे नाच जिल्लाभर प्रचलित नै छ । नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका दर्जनौँ स्थानमा भने यस नाचले थोर बहु आफ्नो स्थान ओगटेकै छ ।
नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन रहे पनि पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले पूजापाठको परम्परासमेत पनि हराउँदै गरेको महसुस गरिएको छ । मुख्य गरी कृष्ण जन्माष्टमीका दिनदेखि ऋषि पञ्चमीसम्म बढी नचाइने लाखे नाच हेर्न अन्य समुदायका सर्वसाधारणको देखि विदेशी पर्यटकको पनि उतिकै घुइँचो लाग्ने गर्दछ ।
लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच रातिमा देखाइने पुरानो कथन छ । टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्छर बनाएको केटाकेटीहरूले जिस्क्याउँदै अनि लात्तीले हान्दै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक तथा अनौठा लाग्न सक्छ ।
लाखे नाचका क्रममा स्थानीय लोक भाका, वेष भूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने र सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ
प्रतिक्रिया