केआइसिंह सरकारको श्रमदान अभियान

श्रमदान अभियानमा डोटीका दलहरूको ऐक्यबद्धता, निरन्तरता दिन सुझाव

पालिकाका सबै योजनाहरु अनिवार्य श्रमदान गर्ने नीति लागु गर्न चाँडै नै सबै जनप्रतिनिधीहरुलाई जिम्मेवारी तोकिने समेत अध्यक्ष शाहीले बताएका छन् । 

मोहन शाही
२५ साउन २०८० ६:५९
श्रमदान अभियानमा डोटीका दलहरूको ऐक्यबद्धता, निरन्तरता दिन सुझाव

(डोटी)– केआईसिंह गाउँपालिकाले सुरु गरेको श्रमदान अभियानमा जिल्ला स्थित राजनैतिक दलहरूले ऐक्यबद्धता जनाएका छन् । श्रम संस्कृति हराउँदै गएका बेला गाउँपालिकाले सुरु गरेको श्रम अभियानबाट समाजमा सकारात्मक प्रभाव पारेको भन्दै अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव समेत दलहरूको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत माओवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्षहरूले सो प्रतिक्रिया दिएका हुन् । यद्यपि सबै पार्टीका जिल्ला अध्यक्षहरूले यसलाई देखावटी नबनाएर पालिकाबाट विनियोजित योजना तथा कार्यक्रमलाई दीर्घकालीन, पारदर्शी बनाउँदै श्रमदानलाई संस्कृतिका रूपमा विस्तार गर्न आग्रह समेत गरेका छन् ।

केआईसिंह गाउँपालिकाले दिपायल सिलगढी नगरपालिकाको वडा नं. ४ को सिमानामा पर्ने तुस्यात खोलामा बिग्रेको सडक खण्डमा मर्मत गरिरहेको छ गरिरहेको छ । राजपुर चौवाराचौतारा सडक अन्तर्गत वायलसम्म कालोपत्रे भइसकेपनि तुस्यात खोलामा १ सय ३० मिटर मिटर लामो खण्ड बिग्रेका कारण सवारीसाधनहरूलाई आवतजावतमा कठिनाइ हुँदै आएको थियो । त्यही खोलामा सडक बिग्रेको बहाना बनाएर यातायात व्यवसायीहरूले चर्को मूल्य असुल्ने काम गरिरहेकाले पनि सो ठाउँमा आरसिसी ढलान गर्नु परेको केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए । यस अघि वडा नं. ४ वायल स्थित सेरी गाडमा पुल निर्माण गरेको थियो ।

नेपाली काँग्रेसका जिल्ला सभापति नरेन्द्र बहादुर सिंह बुधवार कार्यकर्ताहरूका साथ सहभागी भएर तुस्यात खोलामा श्रमदान गरेका थिए । उनले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले यसरी श्रमदान अभियान चलाएको देशभरिमा पहिलो भएको प्रतिक्रिया दिँदै काङ्ग्रेसबाट निर्वाचित जिल्लाका अन्य पालिकामा पनि अनुसरणका लागि निर्देशन दिने बताए । यस्ता अभियानले पार्टीको गरिमा बढाउन तथा कार्यकर्ताहरूको क्रियाशीलता बढाउन सहयोग पुग्ने भएकाले अभियानलाई निरन्तरता दिन सभापति सिंहले केआईसिंहका जनप्रतिनिधीहरुलाई सुझाव दिए ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डबल बोगटी पनि मङ्गलवार नै श्रमदानमा सहभागी भएका थिए । संस्थागत रूपमा स्थानीय सरकारले सञ्चालन गरेको श्रम अभियानले सकारात्मक सन्देश फैलाउने तथा समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने भएकाले सबै नागरिकलाई अभियानमा साथ दिन आग्रह गरे । जनताका प्रत्यक्ष सरोकार राख्ने योजनाहरूमा श्रमदान गरेमा कम लागतमा पनि ठुला ठुला काम गर्न सकिने बोगटीको भनाइ छ । ‘एकातिर जथाभाबी बजेटको दुरुपयोग हुने गरी योजना बनाउने, अर्कातिर श्रमदान गर्ने हो भने ढोँग जस्तो हुन्छ’, बोगटीले सुझाव दिँदै भने‘ सीमित स्रोतसाधन लाइ मध्यनजर गरेर नीति बनाउनुका साथै योजनाहरूको छनोट र प्राथमिकता गरिनुपर्ने हुन्छ । पालिकाले यो कुरामा ध्यान दिन सके हाम्रो जहिल्यै साथ सहयोग रहन्छ ।’

नेकपा एमालेका जिल्ला सचिव शेर बहादुर मल्लले पनि केआईसिंहले थालेको अभियानको प्रशंसा गरे । ‘पार्टीको लागि जिन्दाबाद मुर्दावाद मात्र भन्नुभन्दा पनि अव विकासमा पार्टीहरू बिच प्रतिस्पर्धा गर्नु पर्छ’, सचिव मल्लले भने, ‘केआईसिंह अन्तर्गत रहेका राजनैतिक पार्टीहरू को कति श्रमदानमा खटिए भन्ने कुराले विकासमा कति सहभागिता भन्ने जनाउँछ ।’ साना ठुला योजनाहरूको उपभोक्ता समितिमा बसेर रकम पचाउने सोच सबै राजनैतिक दलका कार्यकर्ताहरूमा हाबी भएकाले समाज विखण्डनतिर गइसकेको समीक्षा गर्दै सचिव मल्लले श्रम संस्कृतिलाई निरन्तरता दिएमा विकास मात्र नभएर सामाजिक एकता र सामूहिक भावनाको पनि विकास हुने बताए । यद्यपि २÷४ दिन फोटो खिच्नका लागि अभियान चलाइएको हो भने दुर्भाग्य हुने भन्दै मल्लले त्यसको निरन्तरताका लागि सुझाव दिए ।

 

नेकपा माओवादीका जिल्ला इन्चार्ज कमल गड सिलाले पनि केआईसिंह गाउँपालिकाले थालेको अभियानबाट आफूलाई पनि सिकाइ भएको प्रतिक्रिया दिए । बोगटान फुडशील गाउँपालिका अध्यक्ष समेत रहेका गड सिलाले केआईसिंहले थालेको अभियान आफ्नो पालिकाले पनि अनुसरण गर्ने प्रतिबद्धता गरे । ‘श्रमदान भइरहेको बाटोमा हामी बोगटान फूडसिलबासी पनि हिँड्ने गर्छौ, म पनि सहभागी हुने इच्छा थियो’, इन्चार्ज गड सिलाले भने, ‘फुर्सद नभएकाले सहभागी हुन सकिन , समय मिल्यो भने अवश्य सहभागी हुनेछु ।’ उनले एकीकृत माओवादी पार्टीका कार्यकर्ताहरूलाई निसंकोच भई श्रमदानमा जुट्न निर्देशन समेत दिएका छन् ।

 

त्यस्तै एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दिर्घराज बोगटी पनि केआईसिंहले थालेको श्रम अभियान प्रति सकारात्मक देखिए । उनले समाजमा अझै पनि श्रमदानको संस्कृति यथावत् रहेमनि जनप्रतिनिधीहरुले २÷४ दिनका लागि श्रमदानको अभियान नगरी संस्कृतिकै रूपमा अघि लग्नु पर्ने सुझाव दिए । ‘पालिका अध्यक्ष आफैँले सधैँ श्रमदान गरेर मात्र सम्भव छैन, उहाँका अन्य काम र कर्तव्य पनि छन्’, पूर्वी चौकी गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका बोगटीले गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीलाई सुझाव दिँदै भने, ‘श्रमदानलाई कसरी दीर्घकालीन र निरन्तर दिन सकिन्छ र पदीय दायित्व कसरी निर्वाह गर्न सकिन्छ भन्नेमा सोच्न जरुरी छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक केशव बलायरले केआईसिंहले थालेको अभियानलाई नजिकबाट नियाली रहेको बताए । उनले यस्ता अभियानलाई अन्य पालिकाले पनि लागु गर्नुपर्ने सुझाव दिँदै पार्टीका शुभचिन्तकहरूलाई सकारात्मक काममा पहिल्यै टीकाटिप्पणी गर्नुभन्दा हौसला दिनलाई भए पनि सहभागिता जनाउनु पर्ने निर्देशन दिए ।

केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले श्रमदानको अभियान सुरु गरेदेखि नै जीवनमा कहिल्यै नभेटिएको आत्मसन्तुष्टि आफूले प्राप्त गरेको बताए । ‘पुण्य कमाउन मन्दिर जानु पर्दैन, सयौँ जनताका साथ यसरी विकासमा सहभागी हुनु जति धर्म अरू कहाँ छ र ?’, अध्यक्ष शाहीले भने, ‘अब विगतमा हाम्रो समाजमा स्थापित श्रमदान संस्कृति व्यूताउँने अठोट लिइसकेको छु, यो सबै वडाहरूमा निरन्तर चल्छ ।’  पालिकाका सबै योजनाहरु अनिवार्य श्रमदान गर्ने नीति लागु गर्न चाँडै नै सबै जनप्रतिनिधीहरुलाई जिम्मेवारी तोकिने समेत अध्यक्ष शाहीले बताएका छन् ।

गत सोमबारबाट सुरू श्रमदानबाट बुधबार नै तुस्यात खोलामा काम सम्पन्न हुने बताइएको छ । १ सय ३० मिटर लामो सडकखण्डमा ढलान गर्न गाउँगाउँबाट सयौं मानिसहरूको सहभागिता रहँदै आएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *